नयाँदिल्ली, जेठ १८ गते । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरूको दैनिक सङ्ख्यामा बृद्धि हुँदै गएको छ । अघिल्ला दिनहरूको तुलनामा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ३८० जना नयाँ सङ्क्रमित देखिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार १४३ पुगेको अधिकारीहरूले जनाएका छन् । अघिल्ला दिनहरूमा दैनिक रुपमा सङ्क्रमित हुनेहरूको सङ्ख्या योभन्दा थोरै रहेको थियो ।
त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा देशभरि ८९ हजार ९९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने झण्डै उत्तिकै सङ्ख्या अर्थात् ८६ हजार ९८३ जना सङ्क्रमणमुक्त भएका छन् ।
“तथ्याङ्कलाई विश्लेषण गर्दा कुल सङ्क्रमितमध्ये ७४-७५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन्,” एक जना सरकारी उच्च अधिकारीले भने । कुल सङ्क्रमितहरूको सङ्ख्यामा विदेशीहरूको सङ्ख्या पनि जोडिएको मन्त्रालयले स्पष्ट पारेको छ । भारतमा दर्जनौँ नेपाली पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा भारतमा थप १९३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ९९ जनाको महाराष्ट्र राज्यमा मृत्यु भएको छ ।
त्यसैगरी, दोस्रो धेरै गुजरातमा २७ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरूका अनुसार मध्यप्रदेश र राजस्थानमा नौ, नौ जना, पश्चिम बङ्गालमा सात जना, तमिलनाडु र तेलङ्गानामा छ/छ जना, बिहारमा पाँच जना, उत्तर प्रदेशमा तीन जना, पञ्जाबमा दुई जना, हरियाणा र केरलामा एक/एक जनाको कोरोनाका कारण पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।