logo
२०८१ मंसिर १० सोमवार



ममता बनर्जी लगातार तेस्रो पटक बंगालको मुख्यमन्त्री नियुक्त

अन्तर्राष्ट्रिय |


ममता बनर्जी लगातार तेस्रो पटक बंगालको मुख्यमन्त्री नियुक्त
तस्विर-डेक्कन हेराल्ड


कोलकाता, बैशाख २२ गते। भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिनु भएको छ । उहाँ लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुनु भएको हो ।
मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभयो । बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुनुहुन्छ । मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफ्ना दर्जनौं कार्यकर्ताको मुख्यमन्त्री बनर्जीको पार्टीका समर्थकले हत्या गरेको आरोप लगाएका थिए ।
तथापी, शपथ कार्यक्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र राज्यका पार्टी प्रमुख दिलीप घोष सहभागी हुनु भएको थियो ।
मुख्यमन्त्री बनर्जीले कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा ल्याउन आफूले उच्च प्राथमिकता दिने बताउनुभयो । साथै उहाँले राज्यमा शान्ति र अमनचयन कायम गर्न सबै पक्षसँग आग्रह पनि गर्नुभयो । पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा बनर्जीको त्रिणमुल कङ्ग्रेसले प्रचण्ड बहुमत हासिल गरेको थियो भने भारतीय जनता पार्टीले दोस्रो स्थान हासिल गरेको थियो । तर नन्दीग्रामबाट चुनाव लड्नु भएकी बनर्जी भने भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीसँग पराजित हुनु भएको थियो ।
पार्टीले बहुमत हासिल गरेपछि तेस्रो पटक मुख्यमन्त्री बन्नु भएकी बनर्जीले संविधान बमोजिम छ महिनाभित्र विधानसभाको सदस्य हुनु पर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?