सीता शर्मा
काठमाडौँ, पुस १ गते । ‘मेरो श्रीमान् (सुप्ले राई) रोजगारीका लागि मलेसिया गएको १० वर्ष भो । दुई वर्षदेखि जिउँदो मरेको केही पत्तो छैन खोजिदिन प¥यो, म कहाँ जाउँ कसलाई भनौँ, यो भनिरहँदा सिन्धुलीकी सविता राईको गला अवरुद्ध मात्रै भएको थिएन आँखाबाट बरबर आँसु बगिरहेको थियो । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभाग र प्रवासी नेपाली समन्वय समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पीडा सुनाउनु भएको हो ।
श्रीमान् सुप्ले मलेसियामा रहेकी फिलिपिन्स महिलासँग विवाह गरेर घरजम गरी बसेकाले सम्पर्कमा नआएको भन्ने सूचना श्रीमती सवितालाई थाहा छ तर कुन ठाउँमा के काम गर्छन् के कस्तो अवस्थामा छन् त्यो पनि थाहा छैन । तीन छोराछोरी र श्रीमतीलाई स्वदेशमा छोडेर उज्ज्वल भविष्यका लागि मलेसिया हानिएका सुप्ले एकाएक सम्पर्कविहीन भएपछि छोरोछोरीको लालनपालनको सम्पूर्ण जिम्मा अहिले सविताको थाप्लोमा छ । काठमाडौँको कोठा भाडा तिर्न नसकेर सडकमा आउनु पर्ने अवस्था आएको भन्दै सविताले भन्नुभयो, मेरो श्रीमान्लाई जसरी हुन्छ
नेपाल झिकाइदिनुहोस् ।
यस्तै गोरखाकी पूजा गुरुङको पीडा त सविताको भन्दा पनि अझै भयावह छ । भर्खर विवाह गरेकी श्रीमतीलाई भविष्यका ठूला सपना बाँडेर छ वर्षअघि साउदी गएका श्रीमान् (गणेश गुरुङ) छ महिनापछि सम्पर्कमै हुनुहुन्न । पूजाले श्रीमान्को अवस्थाबारे केही जानकारी नभएकाले उहाँलाई स्वदेश फर्काउन सरकार र सरोकारवाला निकायसँग सोही कार्यक्रममै अपिल गर्नुभयो । सविता र पूजा त प्रतिनिधि घटना मात्रै हुन । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष (सन् २०१३ देखि २०१९ नोभेम्बर)सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले खोजीका लागि उजुरी गरेका थिए । जसमा २३१ जनाको समस्या समाधान भएको र १०४ जनाको प्रक्रियामा रहेको जनाइएको छ । बाँकी ५३ जनाको उजुरीमा उजुर गर्ने व्यक्ति क्ुनै सम्पर्कमा नै नभएकाले प्रक्रिया नै स्थगित गरिएको उसले जनाएको छ ।
विदेशमा हराएका वा बेपत्ता भएका नेपाली कामदारको देशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभावित मलेसियामा दुई सय हराएको पाइएको छ । यस्तै साउदी अरबमा ६७ जना, कुवेतमा ४६ जना, संयुक्त अरब इमिरेट्स (यूएई) ३० जना, कतारमा २२ जना र अन्यमा २३ जना हराएको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हराउनुको मुख्य कारण विदेशमा जेलमा पर्नु, परस्त्रीसँग प्रेम सम्बन्धमा हुनु, पारिवारिक मनमुटाव हुनु, विदेशमा मृत्यु हुनु, दुर्घटनामा पर्नु रहेको पाइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पछिल्लो पटक वैदेशिक रोजगारीमा नेपालले प्रतिबन्ध लगाएका मुलुक इराक, अफगानिस्थानजस्ता मुलुकमा गएर बेपत्ता भएका नागरिकका धेरै गुनासा आउने गरेको तर ती देशबाट उद्धार गर्नका लागि सरकारका आधिकारिक निकाय नहँुदा निरीह जस्तै हुनु परेको गुनासो गर्नुभयो । बोर्डले विदेशमा बेपत्तामा परेको नागरिकको खोजी वा उद्धारका लागि दूतावासमार्फत पहल गर्दै आएकोे पनि उहाँले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका अधिकृत कृष्णकुमार सुवेदीले वैदेशिक रोजगारीको नाममा युरोप, अमेरिका जाने नाममा लाखौँ रकम खर्चेर गएर हराउने समस्या डरलाग्दो भएको बताउँदै उहाँले यसको समाधानका लागि सरकारका सरोकारवाला संयन्त्र र गैरसरकारी संस्थाले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै यसरी हराएका व्यक्तिको खोजिका लागि काम गर्ने आधिकारिक निकाय विदेशस्थित नियोग भएकाले नियोगमार्फत नै हराएका व्यक्तिको खोजीका लागि पहल हुने पनि जानकारी दिनुभयो ।