logo
२०७९ असार १६ बिहीवार



श्रमिक महिलाले पत्तो पाएनन् महिला दिवस

अर्थ |


श्रमिक महिलाले पत्तो पाएनन् महिला दिवस


काठमाडौँ, फागुन २५ गते । “दिनभरि काम नगरे बेलुका चुलोमा आगो बल्दैन, छोराछोरीको पेट भोकै हुन्छ, जे दिवस आए पनि हामीलाई के भो र ! दिवसले खान दिँदैन, पेट भरिँदैन । ” यो भनाइ हो स्थायी घर धादिङ भई कर्मथलो राजधानीलाई बनाउँदै आएकी मीना गुरुङको ।

‘दिगो भविष्यका लागि आजैदेखि लैङ्गिक समानता’ भन्ने ११२औँ अन्तर्राष्ट्रिय नाराका साथ विश्वमा महिला दिवस तामझामका साथ मनाइरहँदा मीनाजस्ता थुप्रै श्रमजीवी महिलाको धारणा यस्तै छ । दिवसको उपलक्ष्यमा विभिन्न सङ्घ संस्थालाई दिनभरजसो नारा जुलुस, गोष्ठी सभामा सहभागी हुँदैमा भ्याइनभाई भयो तर दिनभर श्रम नगरे राति खान नपाउने वास्तविक श्रमिक महिलालाई भने यस दिवसको बारेमा कुनै पत्तो भएन ।

पिठ्युँमा सागको डोको र काखमा दूधे बच्चा च्यापेर रातिको खाना जोहो गर्दै हिँडेकी मीना जस्तालाई महिलालाई दिवसको कुनै मतलब थिएन । मीनाले जस्तै हरियो मकै डोकोमा बोकेर घरघरमा पुगेर बेच्न हिँड्नु भएकी विनिता अधिकारीले भन्नुभयो, “दिवस र चाडपर्व त हुने खानेका लागि हो, हामी एक दिन काम नगरे साँझ छोराछोरी भोकभोकै हुन्छन्, त्यस्ता दिवसले हामीलाई केही दिँदैनन् । ”

यस्तै कलङ्की, कालीमाटी, टेकु हुँदै रत्नपार्क रुटका ट्याम्पो चालक कमला डङ्गोललाई भने श्रमिक महिला ¥यालीमा बिहानै सहभागी हुन ट्याम्पो व्यवसायी सङ्घअन्तर्गतको महिला समितिबाट निमन्त्रणा आएको थियो तर आफ्नो बाध्यताले गर्दा उहाँ त्यो -यालीमा सहभागी हुन पाउनु भएन । भाडाको ट्याम्पो चलाएर कमाएको पैसामध्ये आधा साहुलाई र बचेको आधाले छोराछोरीको पेट भर्नुपर्ने डङ्गोलले त्यस्ता जुलुस गोष्ठी सभामा सहभागी हुनुले कुनै फरक पर्दैन ।

माथिका केही प्रतिनिधिमूलक महिलाको अवस्था बुझ्दा औपचारिक क्षेत्रमा काम गर्ने महिलाले अन्तर्राष्ट्रिय महिला दिवसमा बिदा पाए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने कतिपय महिलाले बिदा नै पाउँदैनन् भने कतिपयलाई एक दिन बिदा बस्दा हात मुख जोड्न समस्या भएको स्पष्ट हुन्छ । ट्रेड युनियन अधिकारकर्मी वीना श्रेष्ठले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाको अवस्था अहिले पनि दर्दनाक रहेको बताउनुभयो । उहाँले नेपालमा श्रमिक महिला दिवस वास्तविक श्रमिक महिलाको भावना समेटिने गरी मनाउन अहिलेसम्म नसकिएको स्वीकार गर्नुभयो ।

नेपाल ट्रेड युनियनका अनुसार नेपालमा एक करोड ८६ लाख श्रमजीवी रहेकामध्ये ९४ प्रतिशत अनौपचारिक श्रमजीवी छन् भने बाँकी छ प्रतिशत मात्रै औपचारिक श्रमजीवी छन् ।अठारौँ शताब्दीमा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलालाई समान ज्याला, श्रमिक महिलाको अधिकार, काम गर्ने समयको दैनिक आठ घण्टा निर्धारण गरिनुपर्ने, हरेक कार्यस्थलमा शिशुस्यार व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए । त्यसैको सम्झनामा हरेक मार्च ८ मा विश्वभरका महिलाले आन्दोलनका रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको छ ।

अमेरिकामा श्रमिक दिवससँग गाँसेर ८ घण्टा मात्र काम गर्न पाइयोस् भनेर मजदुरले माग गर्दा पनि महिला श्रमिकका कुरा अघि आएको थिएनन् । यस सन्दर्भमा २५ वर्षपछि जर्मनी र अमेरिकाका समाजवादी र महिलावादी विदुषीहरूले त्यस दिनलाई सम्मान गर्दै आफ्नो देशका सिमाना नाघेर संयुक्त रूपमा डेनमार्कको राजधानी कोपनहेगनमा १७ देशका महिला सम्मेलन गरेर विश्वभर महिला दिवस मनाउने निर्णय गरेका थिए । त्यस निर्णयपछि हरेक वर्ष मार्च ८ मा विश्वका महिलाले उत्सवको रूपमा महिला दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस खुलेर मनाउन थालेका २०४६ सालको आन्दोलनपछि मात्रै हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?