logo
२०७९ मंसिर १५ बिहीवार



रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा

मुख्य समाचार |


रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा


काठमाडौँ, चैत ९ गते । युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसक्नु भएको छ ।

त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर समग्र क्षेत्रमा परेको छ ।

व्यापारीहरू भने यी दुईभन्दा बेग्लै अरू कारणले पनि मूल्य बढाउने गरेको दाबी गर्छन् । बैङ्कहरूले बढाएको ब्याजदर र निर्वाचन घोषणा भएपछिका राजनीतिक र अन्य कारणले पनि मूल्य बढाएको दाबी उनीहरूको छ । यस आधारमा नेपाली उपभोक्ता सर्वसाधारण मूल्य वृद्धिको पञ्चाग्निमा सेकिएका छन् ।

रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ मात्र नभई खाने तेलमा समेत प्रत्यक्ष असर पारेको हो । खाने तेल र कच्चा पदार्थ रुस र युक्रेनबाट आउनेमा त्यो बन्द भएको छ तर त्यो मात्र नभई दाल, चामल, चिनी, तरकारी, फलफूललगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको छ । स्थानीय तह निर्वाचनका कारण मूल्य वृद्धिको असर अब देखिने व्यापारीको भनाइ छ ।

नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान वज्राचार्य भने यसमा व्यापारीको दोष देख्नुहुन्छ । उहाँले भन्नुभयो, “ठूला व्यापारीलाई मूल्य बढाउन के निहुँ पाऊँ भएकाले ठूला व्यापारीलाई गतिलो अवसर मिल्यो । उनीहरूको अनुगमन हुँदैन खुद्रा पसलमा सरकारी निकाय आउँछन् ।”

सङ्घका अनुसार २०७६ फागुनमा कोरोना आएयता बढ्न थालेको खाद्यवस्तुको मूल्य वृद्धि अहिलेसम्म जारी छ । २०७७ फागुनसम्म आइपुग्दा विश्वको आपूर्ति प्रणाली नै ध्वस्त पार्ने गरी कोरोना महामारी विश्वव्यापी रूपमा फैलिँदा त्यसको अन्तर्राष्ट्रिय प्रभाव नेपालमा पनि परेको हो ।

सङ्घले २०७६ फागुनमा प्रतिलिटर २७० रुपियाँमा पाइने भुटेको तोरीको तेल मूल्य २०७८ फागुनमा प्रतिलिटरमा १३० रुपियाँ बढेर चार सय रुपियाँ पुगेको जनाएको छ । यस्तै, सो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १७० बाट बढेर ३८५, भटमास तेल प्रतिलिटर १६० बाट बढेर २७०, सूर्यमुखी प्रतिलिटर १६० बाट २९० रुपियाँ पुगेको छ । नेपाली घ्यू प्रतिलिटर ८५० बाट बढेर एक हजार दुई सय रुपियाँ पुगेको छ । तीन वर्षको मूल्य हेर्दा प्रतिलिटर घ्यूमा ३५० रुपियाँ बढेको छ ।

त्यस्तै, २०७६ फागुनमा प्रतिकेजी ७० रुपियाँ खुद्रा मूल्यमा पाइने ताइचिन चिउरा १३० रुपियाँ र प्रतिकेजी ८० रुपियाँमा पाइने चिनी प्रतिकेजी सय रुपियाँ पुगेको छ । यीबाहेक, चामल, मासको दाल, जिराको पाउडरलगायत धेरैजसो वस्तुको मूल्य निरन्तर बढिरहेको छ । सङ्घका महासचिव अमुलकाजी तुलाधरले सबै खाद्यवस्तुको मूल्य बढेको कुरा सरकारका नियमनकारी निकायलाई राम्ररी थाहा भए पनि मौन बसेको बताउनुभयो ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले युद्धको कारण देखाउँदै व्यापारीले मनलाग्दी मूल्य बढाउँदा सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाउनुभयो । “बजार अनुगमन र नियन्त्रण गर्ने नियामक निकाय नै लामो समयदेखि नेतृत्वविहीन हुँदासमेत सरकारले ध्यान दिएको छैन, यो कुराले सरकार नै मूल्य बढाउने पक्षमा भएको स्पष्ट हुन्छ,” उहाँले थप्नुभयो ।

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले भने हल्लाकै भरमा मूल्य बढाएको भन्नेमा कुनै सत्यता नभएको दाबी गरेको छ । सङ्घले २०२२ जनवरीमा कच्चा भटमास प्रतिमेट्रिक टन एक हजार ४५० डलर रहेकोमा मार्चमा एक हजार ८६८ डलर, कच्चा सूर्यमुखी एक हजार ४६० डलरबाट दुई हजार १२५ डलर पुगेको जनाएको छ ।

सङ्घका अध्यक्ष सन्दीप अग्रवालले युक्रेन र रुसबीचको युद्ध मत्थर हुनेबित्तिकै कच्चा तेलको आयात सुचारु हुने भएकाले आम उपभोक्तालाई अनावश्यक तेल खरिद गरेर घरमा नथुपार्न आग्रह गर्नुभयो । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारलाई सकेसम्म चुस्त दुरुस्त गराउन दैनिक तीन÷चार टोलीले नियमित अनुगमन गरिरहेको जनाएको छ । बजारमा पछिल्ला दिन सबै सामानको मूल्य बढेको भन्दै विभागका निर्देशक हरि पङ्गेनीले केही वस्तुको मूल्य वृद्धि स्वाभाविक भएको र केहीको अस्वाभाविक भएको पाइएको बताउनुभयो ।

अनुगमनका क्रममा अस्वाभाविक रूपमा मूल्य बढेको पाइएका व्यापारिक फर्म वा उद्योगलाई अनुगमन गरेर अनुगमन अधिकृतले जरिवाना गर्ने काम नियमित भइरहेको उहाँको भनाइ छ । विभागले पछिल्लो पटक वस्तु उत्पादन गर्ने मुख्य स्रोतमै अनुगमन गरेर वस्तु मौज्दात अवस्था बुझेर आपूर्ति अवस्थालाई व्यवस्थित गर्न निर्देशन दिने काम भएको निर्देशक पङ्गेनीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?