logo
२०८० चैत्र १६ शुक्रवार



मागपत्र प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट

मुख्य समाचार |


मागपत्र प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट



सीता शर्मा

काठमाडौँ,  पुस १२ गते । वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम सन् २०२० जनवरी १ तारिखदेखि अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको छ । विभागले वैदेशिक रोजगार व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित जनवरी १ तारिखबाट यो प्रणाली लागू गर्न थालेको हो ।
विभागका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित सबै कामलाई विद्युतीय (अनलाइन स्टिम) प्रणालीमा लैजाने तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईले विभागले सन् २०२० जनवरी १ तारिखदेखि श्रम स्वीकृतिका सबै कार्यलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत गर्न नसके पनि श्रमिकको मागको प्रमाणीकरण र छनोटलाई अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई सुधार गर्नका लागि गतवर्ष असोजबाट एफईआईएमएसलाई अगाडि बढाउनु भएको थियो । एफईआईएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अध्यागमन विभाग, राहदानी विभाग, मेडिकल, बैङ्क, बीमा, अभिमुखीकरण, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिने छन् । यसमा प्रमुख गन्तव्यस्थित नेपाली दूतावासलाई जोडिएको छ ।
मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) यसमा जोडिएका छन् र अन्य गन्तव्य देश कतार, साउदी अरब, कुवेत बहराइनलगायतलाई पनि यस प्रणालीमा जोड्न पत्राचार गरिसकेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
यो प्रणाली कार्यान्वयनपछि प्राविधिक रूपमा समस्या आउँदाबाहेक श्रम स्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्ने नै नपर्ने उहाँको भनाइ छ ।
मागपत्र प्रमाणीकरण र श्रमिक छनोट प्रक्रियालाई पारदर्शी बनाउन र विभागलाई भ्रष्टाचारमुक्त बनाउन अनलाइन प्रणाली अवलम्ब गरिएको भन्दै उहाँले अब श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि हाम्रो कार्यालय धाइराख्न पर्दैन सबै काम अनलाइनबाट हुन्छ भन्नुभयो ।
विभागले बुधबार विदेशस्थित नेपाली दूतावासलाई श्रम स्वीकृतिको प्रक्रियाका लागि एफईआईएमएस भित्रको एटेस्टेसन मोड्युलको युजर आईडी र पासवर्ड लिन आग्रह गरेको छ परराष्ट्र मन्त्रालयले गत मङ्सिर २६ गते सबै नियोगलाई पत्र लेखेर युजर आईडी, पासवर्ड लिन र मागपत्र एफईआईएमएसमार्फत गर्न गराउन आग्रह गरिसकेको छ ।
वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशक अनुसार दूतावासले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) भित्रको एटेस्टेसन
मोड्युलबाट नेपाल पठाउनुपर्नेछ । यसपश्चात् सबै कूटनीतिक नियोग विभागको सूचना प्रणालीमा जोडिने विभागले जनाएको छ ।
अनलाइनबाट हुने काम
अनलाइनमार्फत श्रम स्वीकृतिका लागि म्यानपावर कम्पनीले पेस गर्ने मागपत्र, करारपत्रलगायतका कागजी प्रक्रिया सरलीकृत हुने विभागको अपेक्षा छ । विदेशस्थित दूतावासले प्रमाणीकरण गरेका मागपत्र अबदेखि विभागको अनलाइन प्रणालीमै पठाउनुपर्नेछ र सोका आधारमा विभागले मागको पूर्वस्वीकृति दिनेछ । अनलाइन प्रणाली लागू भएपछि म्यानपावर कम्पनीले आफ्नै इमेलमा पूर्व तथा अन्तिम श्रम स्वीकृतिको पत्र पाउने छन् । हाल सोही कामका लागि श्रम प्रतिनिधि विभागको काठमाडौँ कार्यालय ताहाचल धाउनु अवस्था कायम छ । विचौलियाको चलखेल बन्द हुने, श्रम स्वीकृतिको डकुमेन्ट अनलाइनमा नै भेरिफिकेसन गर्न सकिने, कुरियरको खर्च पनि बचत हुने छन् ।
विभागका अनुसार विदेश जानेहरूले अनिवार्य गर्नुपर्ने बीमाबापतको रकम पनि अबदेखि अनलाइनमार्फत नै भुक्तानी गर्न सकिनेछ ।
अहिलेसम्म बीमाबापतको प्रिमियम रकम अनलाइनमा भुक्तानी गर्ने व्यवस्था थिएन । वैदेशिक रोजगारसम्बन्धी बीमालेख जारी गर्दा र नवीकरण गर्दा अनलाइन प्रणालीबाट गर्न बीमा समितिले चारवटा बीमा कम्पनीलाई निर्देशन जारी गरिसकेको विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?