logo
२०८१ बैशाख १३ बिहीवार



आकाशियो खाद्यान्नको भाउ

मुख्य समाचार |


आकाशियो खाद्यान्नको भाउ


सीता शर्मा

काठमाडौँ, पुस २२ गते । पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दाल, गेडागुडी, तेल, चामल, आटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी पाँच रुपियाँदेखि २०० रुपियाँसम्म महँगो भएको छ तर सरकारका नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सीमित भएको छ ।
सङ्घका अनुसार एक महिनाको बीचमा सबैभन्दा थोरै चामल प्रतिकेजी पाँच रुपियाँ र सबैभन्दा बढी धुलो खुर्सानी प्रतिकेजीमा २०० रुपियाँसम्म बढेको छ । मासको दाल प्रतिकेजी १४० बाट बढेर १६० रुपियाँमा कारोबार भइरहेको छ । यस्तै मुसुरो दाल प्रतिकेजी १०० रुपियाँबाट १३० रुपियाँसम्म पुगेको छ भने नेपाली रहरको दाल प्रतिकेजी १३० रुपियाँबाट बढेर १६५ रुपियाँ पुगेको छ । सो अवधिमा मुग गेडा प्रतिकेजीमा १४० रुपियाँबाट १६० रुपियाँ, मुगको छाटा प्रतिकेजी १४० रुपियाँबाट १९० रुपियाँमा कारोबार भइरहेको छ भने मुगको खोस्टा (ठूलो) प्रतिकेजी १३० रुपियाँबाट बढेर १७० रुपियाँ पुगेको छ ।
यस्तै चामलमा प्रतिकेजी पाँचदेखि १० रुपियाँसम्म बढेको छ भने तराई ताइचिन चिउरा प्रतिकेजी ६५ रुपियाँबाट बढेर ८५ रुपियाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा बोडी प्रतिकेजी ९५ रुपियाँबाट बढेर १३० रुपियाँसम्म बढेको छ भने सेतो र हरियो केराउ प्रतिकेजीमा क्रमशः २० देखि ४० रुपियाँ बढेको छ । चिनीमा प्रतिकेजी प्रतिकेजी ८० रुपियाँबाट बढेर ८५ रुपियाँ प्रतिकेजीमा कारोबार भइरहेको छ भने तेलमा पनि प्रतिलिटर १० देखि ५० रुपियाँसम्म बढेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार अनुगमन गर्ने जिम्मा पाएका निकायको अनुगमन खाली औपचारिकतामा मात्रै सीमित भएका कारण आमउपभोक्ता महँगीको मारमा पर्ने गरेको आरोप लगाउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्य विश्लेषण गर्ने सरकारको संयन्त्र नबन्दा बजारमा उत्पादन उद्योग र व्यापारीको मनोमानी बढेको पनि उहाँको भनाइ छ ।
दाल, चामल, गेडागुडी, तेल मात्रै होइन कुखुराको अण्डा र मासुको भाउ पनि एक्कासि महँगो हुँदासमेत अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खै कारबाही गर्न सकेको उहाँले प्रश्न गर्नुभयो । उहाँले पछिल्लो समयमा बजार अनुगमनका क्रममा जतिसुकै ठूलो अपराध गरे पनि सामान्य जरिवाना मात्रै गर्ने प्रचलनले बजारमा डरलाग्दो बेथिति बढेको बताउनुभयो ।
उहाँका अनुसार नेपाली बजारमा कुनै क्षेत्र यस्तो छैन, जहाँ उपभोक्ता नठगिएका होउन् । मञ्चका अध्यक्ष तिमिल्सिनाले सरकारको अनुगमन बिलबिजक र मूल्यसूचीमा मात्रै केन्द्रित हुँदा मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता झनै बढी ठगिने गरेको बताउनुभयो । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले हाल दैनिक उपभोग्य सामानको मूल्य थोकमै महँगो भएकाले यसको कारण खोजी गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका बजार अनुगमन अधिकृत दीपक पोखरेलले उपभोक्ताको गुनासोका आधारमा बजार अनुगमन गर्दा बजारमा भाउ महँगो भएको स्वीकार गर्नुभयो ।
दैनिक उपभोग्य वस्तुको मूल्य बढ्नुको कारण पत्ता लगाउन आइतबारदेखि नै विभागका चार÷पाँचवटा टोलीले फरक–फरक ठाउँमा मूल्य अनुगमन गर्दासमेत भाउ महँगो भएको पाइएको तर महँगो हुनुको वास्तविक कारण भने अहिलेसम्म नपाइएको उहाँले जानकारी दिनुभयो । आमउपभोक्ताको भान्सा एकाएक महँगो भएको गुनासो बढेपछि विभागले मङ्गलबार, खुद्रा, थोक र उत्पादक उद्योगका सञ्चालकलाई बोलाएर छलफल गर्ने तयारी गरेको जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?