logo
२०८१ मंसिर ८ शनिवार



मूर्तिकला : दाम र नाम दुवै

मुख्य समाचार |


मूर्तिकला : दाम र नाम दुवै


सीता शर्मा

काठमाडौँ, पुस २६ गते । काम गर्ने जाँगर र हातमा सीप भए पैसा कमाउन विदेश जानु पर्दैन, नेपालमै बसेर आकर्षक रूपमा दाम र नाम कमाउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण हुनुहुन्छ वरिष्ठ मूर्तिकार धर्मराज शाक्य । मूर्तिकलामा स्थापित भइसक्नुभएका शाक्यलाई मासिक रूपमा डेढ/दुई लाख रुपियाँ कमाउन कुनै गाह्रो छैन । चीन, जापानलगायतका देशमा पटक–पटक मूर्तिकलाको प्रदर्शनी गरिसक्नुभएका उहाँलाई अचेल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मूर्तिकला प्रदर्शनी गर्र्दैमा भ्याइनभ्याई छ ।
देश/विदेशमा पटक–पटक प्रदर्शनीले उहाँको मूर्तिको माग झन् बढेको छ । पाटनको औद्योगिक क्षेत्रभित्र रहेको स्टोन कारर्भिङमार्फत बेरोजगार ३५ जनालाई सीप सिकाएर कतिपयलाई रोजगारीसमेत दिनुभएको छ । उहाँसँग मूर्तिकला सिकेकामध्ये १६ जनाले उहाँकैमा काम गरेर अहिले मासिक रूपमा न्यूनतम ६० हजारदेखि एक लाख रुपियाँसम्म कमाउने गर्दछन् । उहाँको अनुभवमा यसैलाई पेसा बनाउने भनेर लागेको मूर्तिकार बेरोजगार हुनुभएको छैन ।
उहाँहरूले बनाएका मूर्तिको मूल्य न्यूनतम डेढ लाखदेखि बढीमा २५ लाख रुपियाँसम्म पर्छ । ढुङ्गाको मूर्ति कुद्न समय लाग्ने, बढी मिहिनेत गर्नुपर्ने र हजारौँ वर्षसम्म टिक्ने भएकाले स्पात (जस्तापाता), काठ, ढलोट, सिमेन्ट र माटोका मूर्तिको तुलनामा धेरै महँगो पर्ने पनि उहाँको भनाइ छ ।

मूर्तिको बजार विदेशमै राम्रो
ढुङ्गाको मूर्तिको बजार नेपालमा पनि छ तर नेपालको तुलनामा विदेशमा झन् राम्रो छ । विगतको तुलनामा स्वेदशी बजारमाग घटेपछि विदेशमा अझै पनि नेपाली कला र संस्कृति झल्किने ढुङ्गाको मूर्तिको माग बढ्दो रहेको छ । बजारमा आकार हेरेर एउटा मूर्तिको एक लाख ५० हजारदेखि १५ लाख, २० लाख, २५ लाखसम्म पर्ने र कुनै कुनैको अझै बढी पनि पर्दछ । प्राज्ञ शाक्यका अनुसार नेपालमा बनाइएका मूर्ति धेरैजसो विदेशमा बिक्री हुन्छन् । नेपालमा बिक्री हुनेमा ठूला होटल र मन्दिरका लागि अर्डर हुने गर्छन् । धेरैजसो विदेशमै माग बढी छ । उहाँले नेपालमा बनाइएका मूर्ति चीन र जापानमा बढी निर्यात हुन्छन् भने पछिल्लो समयमा अमेरिका र युरोपका थुप्रै मुलुकमा राम्रो माग हुने गरेको छ ।

ढुङ्गाको अभावले व्यवसाय नै सङ्कटमा
पछिल्लो समयमा स्तरीय ढुङ्गाको अभावमा यस्तोे कला नै सङ्कटमा पर्न थालेको छ । अहिले मूर्ति बनाउनका लागि प्रयोग हुने ब्ल्याक लाइमस्टोन सहज उपलब्ध नहुँदा यो पेसा नै सङ्कटमा पर्न थालेको छ । प्राज्ञ शाक्यले अहिले ढुङ्गाको मूर्ति बनाउने ढुङ्गा अभाव भएको बताउनुहुन्छ । उहाँका अनुसार ढुङ्गाको मूर्ति बनाउनका लागि चुनाको मात्रा बढी भएको ब्ल्याक लाइमस्टोन प्रयोग गरिन्छ तर यो सहज उपलब्ध छैन । त्यसैले नयाँ पुस्ता पनि यस क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । मूर्ति बनाउनका लागि पहिले हात्तीवनको ग्वाल्ठाबाट ढुङ्गा ल्याउने गरिन्थ्यो । अहिले भने धेरैजसो चन्द्रागिरि पहाडको फर्पिङ, टिस्टुङ क्षेत्रबाट ल्याउने गरेकोमा हाल त्यस क्षेत्रमा किनबेच नै बन्द भएपछि पेसा समस्यामा परेको छ ।
ढुङ्गाको मूर्ति व्यवसायमा आबद्ध कलाकारले २०४६ सालपछि ढुङ्गाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाए पनि मुलुक सङ्घीयतामा आएपछि पुनः ढुङ्गाको अभाव झेल्नुपरेको गुनासो गर्नुभयो । पछिल्लो पटक तीन तहको सरकार त्यसमा पनि स्थानीय सरकार अनुसारका फरक–फरक नियम कानुन र एक अर्का तहबीच समन्वयको अभाव हुँदा पनि ढुङ्गाको अभाव भएको उहाँ बताउनुहुन्छ ।
गुणस्तरीय ढुङ्गा नपाएपछि कम गुणस्तरको ढुङ्गाबाट मूर्ति बनाउँदा स्तरीय नहुने र समग्र व्यवसाय नै बदनाम हुने जोखिम पनि बढेको शाक्यको भोगाइ छ । ढुङ्गा नपाएका कारण मूर्ति बनाउने पेसा गर्दै आएका कलाकार अन्यत्र जाने क्रम बढेको छ, उहाँ उल्लेख गर्नुहुन्छ । कलाकार शाक्यले यसको विकास र प्रवद्र्धनका लागि छुट्टै अध्ययन अध्यापन गर्ने गरी स्वायत्त संस्था गठन गर्नुपर्ने, छुट्टै औद्योगिक ग्राम बनाउनुपर्ने माग सरकारसँग गर्नुभयो ।

मूर्तिकला विभाग नै अनविज्ञ
मूर्ति कलाकारको हकअधिकारका लागि काम गर्न स्थापित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अन्तर्गतको मूर्तिकला विभागसँग नै अहिलेसम्म नेपालमा कति मूर्तिकार छन् भन्ने यकिन तथ्याङ्क छैन । विभागका प्रमुख एवं प्राज्ञ लालकाजी लामाले विभागमा सूचीकृत मूर्ति बनाउने कलाकारको सङ्ख्या दुई सय जनाको मात्रै भए पनि यसको काम गर्ने कलाकारको योभन्दा धेरै भएको स्वीकार गर्नुभयो । यसमा काम गर्ने थुपै्र कलाकार हुनुहुन्छ र उहाँहरूलाई सूचीकृत हुन पटकपटक आह्वान गरेका छौँ, विस्तार सङ्ख्या बढ्ने क्रममा रहेको छ, उहाँले थप्नुभयो । विभागमा सूचीकृत भएका मूर्तिकारको सङ्ख्या २०० भए पनि त्यसमा ढुङ्गा, काठ, ढलोटको छुट्टयाउन अहिलेसम्म भ्याउनुभएको छैन । प्राज्ञ शाक्यको अनुभवमा भने ढुङ्गाको मूर्ति बनाउने कलाकारको सङ्ख्या एक सयभन्दा बढी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?