logo
२०८१ मंसिर ८ शनिवार



घटेन तरकारीको भाउ

मुख्य समाचार |


घटेन तरकारीको भाउ


सीता शर्मा

काठमाडौँ, माघ १० गते । दैनिक उपभोग्य वस्तु तरकारीको भाउ गत वर्षको यस अवधिको तुलनामा तीन सय प्रतिशतभन्दा बढी महँगो भएको छ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । यो अहिले केही सस्तो भए पनि गत वर्ष यसै अवधिको तुलनामा ३४४ प्रतिशतसम्म महँगो भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास बजार समितिका अनुसार अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले सबैभन्दा बढी महँगो सुकेको प्याज भएको छ । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपियाँमा कारोबार भएको प्याज अहिले प्रतिकेजीको ११५ रुपियाँ थोकमा कारोबार भइरहेको छ । यस्तै बन्दाको मूल्य पनि अघिल्लो वर्ष यस अवधिको तुलनामा अहिले ३२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा प्रतिकेजी आठ÷नौ रुपियाँ थोकमा पाइने बन्दागोबी अहिले थोकमै प्रतिकेजीको ४० रुपियाँमा किनबेच भइरहेको छ । त्यसैगरी अघिल्लो वर्ष यसै अवधिको तुलनामा अहिले आलु प्रतिकेजीमा ७० प्रतिशतसम्म महँगो भएको छ भने काउली ४० प्रतिशतसम्म भएको समितिले जनाएको छ ।
आलु पनि गत वर्ष यस अवधिको तुलनामा अहिले ७० प्रतिशतसम्मले महँगो भएको छ । प्रतिकेजी २७÷२८ रुपियाँ थोकमा कारोबार भएको आलु अहिले सो परिणामको आलु थोकमै ५० रुपियाँभन्दा बढी छ । समितिका अनुसार सो अवधिमा प्रतिकेजी १२ रुपियाँमा थोकमा किनबेच भएको सेतो मुला अहिले बढेर २५ रुपियाँ, मटरकोसा ३५ रुपियाँ केजीबाट बढेर ६५ रुपियाँ, पाकेको फर्सी २२ रुपियाँबाट बढेर ४२ रुपियाँमा कारोबार भएको छ । त्यसो त नेपाल राष्ट्र बैङ्कले यही साता सार्वजनिक गरेको पाँच महिनाको प्रतिवेदनमा तरकारीलगायत खाद्यवस्तुको मूल्य नौ दशमलव ७६ प्रतिशत महँगो भएको उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा समग्र महँगी ६ दशमलव ५५ प्रतिशतले बढेको पनि सोही प्रतिवेदनमा छ । सरकारले बजेट वक्तव्यमार्फत यस आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९ दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ दशमल १० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च छ ।
सो प्रतिवेदनमा समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा ७ दशमलव ६० प्रतिशत, तराईमा ६ दशमलव ६६ प्रतिशत, पहाडमा ५ दशमलव २७ प्रतिशत र हिमालमा ४ दशमलव ८३ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ ।
उपभोक्ता अधिकारकर्मीले तरकारीको मूल्य बढ्नुका मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु र तरकारी बिचौलिया व्यापारीकै हालिमुहालीले गर्दा तरकारीको भाउ वर्षभरि सस्तो नभएको आरोप लगाएका छन् । उपभोक्ता अधिकारकर्मी विमला खनालले तरकारीलगायत खाद्यवस्तु महँगो हुनुको मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु हो भन्नुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तरकारीलगायत अन्य खाद्यवस्तुको मूल्य बढ्नुको एउटा मुख्य कारण बिक्रीको तह निर्धारण र अर्को बजार अनुगमन प्रभावकारी नभएर भन्नेमा केही सत्यता भएको स्वीकार गर्नुभयो ।
उहाँले बजार अनुगमन प्रभावकारी गराउनेका लागि विभागले हालै विज्ञसहितको समिति गठन गरी बजारको तह निर्धारण गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, समितिले तरकारी वा अन्य खाद्यवस्तुमा कति तह हुनुपर्छ त्यो स्पष्ट सुझाव दिनेछ र त्यसका आधारमा बजार अनुगमन गरेर त्योभन्दा बढी तह पाइएमा कारबाही गरिनेछ ।
तरकारी महँगो हुनुको मुख्य कारण नै तरकारी किसानदेखि उपभोक्तासम्म आउँदा धेरै तह पार गर्ने भएकाले यसको मूल्यमा असर देखिएको र समितिले दिने सुझावमा हामीले तरकारीमा कति तह हुनुपर्ने स्पष्ट आउने महानिर्देशक सुवेदीको भनाइ छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?