logo
२०८१ बैशाख १८ मंगलवार



बन्दाबन्दीमा सकिए नाकाबन्दीका इन्डक्सन

मुख्य समाचार |


बन्दाबन्दीमा सकिए नाकाबन्दीका इन्डक्सन


सीता शर्मा

काठमाडौँ, चैत २५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा मात्र सकिएका हुन् ।
कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सकिएको जानकारी गराएको छ । बन्दाबन्दीका कारण खाना पकाउने ग्यासको विकल्पमा आमउपभोक्ताको आकर्षण इन्डक्सन चुलोतिर बढेको थियो । कम्पनीले उपत्यकामा सञ्चालन गरेका विभिन्न पाँचवटा बिक्री केन्द्र काठमाडौँको रामशाहपथ, थापाथली, ललितपुरको लखनखेलस्थित प्रयाग पोखरी, भैँसेपाटीस्थित नख्खुचोक, भक्तपुरको सूर्यविनायकबाट दैनिक पाँच सय इन्डक्सन चुलो बेचेको थियो ।
कम्पनीले थप इन्डसक्न चुलो ल्याउने योजना छ तर त्यसका लागि समय भने लाग्ने सो कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले यही मूल्यको र गुणस्तरको इन्डक्सन चुलो ल्याउन छलफल भइरहेको र मन्त्रालयका सचिव पनि सकारात्मक रहेको बताउनुभयो ।
पछिल्लो समयमा धेरै उपभोक्ता इन्डक्सन चुलो खरिदका लागि खाद्य कम्पनीका बिक्री केन्द्रमा पुग्ने गरेका छन् । उपभोक्ता बिक्री केन्द्रमा टाँसिएको सूचना हेरेर प्रवेशद्वारबाटै फर्किने गरेका छन् । २०७२ मा नाकाबन्दीका बेला इन्धनको चरम अभाव भएकाले चीन सरकारले अनुदानमा १२ हजार थान इन्डक्सन चुलो पठाएको थियो । तत्कालीन नेसनल टे«डिङ लिमिटेडले बेच्ने गरी सुरुमा चुलोको बिक्री मूल्य ११ हजार रुपियाँ तोकिएको थियो तर सोचे अनुसार बिक्री नभएपछि मूल्य घटाएर प्रतिचुलो चार हजारमा झारिएको थियो । दुई वर्ष पहिले नेसनल टे«डिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाइएपछि उक्त कम्पनीले चुलो बेचेको हो । नयाँ कम्पनी बनेपछि मौज्दात सात हजार ४३५ चुलो बेचेको हो ।

१० प्रतिशत छुट
यसैगरी खाद्य कम्पनीले आइतबारबाट १० प्रतिशत छुटमा खाद्यवस्तु बिक्री सुरु गरेको छ । कम्पनीसँग रहेका खाद्यान्न चामल, कर्णालीको सिमी, तितेफापर यसअघिको मूल्यमा १० प्रतिशत छुट गरेर बिक्री गर्न सुरु गरेको छ । कम्पनीका प्रमुख नेत्रप्रसाद सुवेदीले बन्दाबन्दीभर कम्पनीसँग रहेका खाद्यान्न तोकिएको छुटमा बिक्री गरिने जानकारी दिनुभयो ।
सरकारले बन्दाबन्दी अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन यसअघि दिएको निर्देशन अनुसार खाद्य कम्पनीले सुरु गरेको छ । छुटमा बिक्री गरेका सामानको बिल फछ्र्योटका आधारमा अर्थ मन्त्रालयले सोधभर्ना गर्ने गरी छुटमा सामान बिक्री गर्न थालेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

साल्ट टे«डिङलाई पत्रै पुगेन
यता साल्ट टे«डिङ कर्पोरेसनले भने अहिलेसम्म आफूहरूलाई छुट दिने आधिकारिक पत्र नआएको जनाएको छ । सो कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले पत्र आउनेबित्तिकै के कसरी कुन कुन सामानमा छुट दिने भन्ने टुङ्गो लगाउने बताउनुभयो ।
सरकारले दसैँ–तिहारमा खोलेका सहुलियत मूल्य पसलको छुट रकम अहिलेसम्म फछ्र्योट भएको नभएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसअघि सरकारले ५२ करोड रुपियाँ फछ्र्योट गर्न बाँकी छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?