logo
२०८१ बैशाख २१ शुक्रवार



उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

मुख्य समाचार |


उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा


सीता शर्मा

काठमाडौँ, भदौ, ३ गते । सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो ।
सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र
(सीसीएमसी) ले सोमबार गरेको निर्णयले सोमबारै संयु्क्त अरब इमिरेट्स (यूएई) बाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्कियो । कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौँ नेपाली स्वदेश फर्कन
पाएका छैनन् । उनीहरूले सरकारको पछिल्लो निर्णयबाट विदेशमा अलपत्र श्रमिक थप पीडामा भएको भन्दै विरोध गरिरहेका छन् ।

उडान तालिका दुई दिनमै रद्द
सरकारले आइतबारदेखि पाँचौँ चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको थियो तर निर्णय सार्वजनिक भएको दुई दिनमै रद्द भयो । पाँचौँ पटक थप ४३ वटा उडानलाई अनुमति दिइएको थियो । यी उडानबाट झण्डै सात हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो । सोमबार साँझ विदेशबाट ल्याएर राख्न क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासि तय भएका उडान रद्द गरेको हो ।
सीसीएमसीले उडान रद्द गरेका विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने श्रम, रोजगार
तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
अहिले काठमाडौँ उपत्यकामा पनि कोरोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाडौँमै क्वारेन्टाइनमा राखेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगित गर्नुपरेको श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताउनुभयो ।
वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले सरकारको पछिल्लो निर्णयले वैदेशिक रोजगारीमा गएका श्रमिकमाथि ठूलो अन्याय भएकाले यसलाई तुरुन्तै सच्याउनुपर्ने बताउनुभयो ।

५५ हजार फर्किए
सरकारले जेठ ३२ गतेदेखि चार्टर उडान मार्फत श्रमिककै पैसामा स्वदेश फर्काउने प्रबन्ध मिलाएको छ । साउन ३१ गतेसम्म चार चरणमा झण्डै ५५ हजार नेपाली स्वदेश फर्किएका छन् । यीमध्ये ७५ प्रतिशत बढी वैदेशिक रोजगारीमा गएका श्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मलेसिया र खाडीबाट मात्रै ४३ हजार ४०८ जना फर्किएका छन् ।

एक लाख पर्खाइमा
कतारमा तीन लाख ७२ हजार नेपाली ठूलो सङ्ख्यामा फर्किन चाहेका छन् । हालसम्म पाँच हजार ६६८ जना मात्र फर्किएका छन् । यस्तै साउदी अरबमा तीन लाख पाँच हजार नेपाली रहेकोमा सात हजार ८१७ जना फर्किएका छन् भने १२ हजार बढी अझै स्वदेश फर्किने आशमा छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई लाख ७५ हजार श्रमिक रहेकोमा ६७ हजार ३१४ जना स्वदेश फर्किसकेका छन् । मलेसियामा तीन लाख २५ हजार रहेकोमा ३० हजार फर्किने सूचीमा छन् । सात हजार ६४२ फर्किएका छन् ।
यस्तै कुवेतमा ५० हजार नेपाली कार्यरत रहेकोमा २४ हजार स्वदेश फर्किन आतुर छन् । छ हजार ३२० जना मात्र फर्कन पाएका छन् । बहराइनमा ३५ हजार नेपाली रहेकोमा साढे १० हजार फर्किन चाहेका छन् । त्यहाँबाट ९८० जना मात्र फर्काइएको छ ।
ओमानमा फर्किने सूचीमा साढे तीन हजार रहेकोमा नेपाली दूतावासले जनाएको छ । दूतावासले ओमानमा समस्यामा परेकामध्ये प्राथमिकताका आधार विभिन्न चार्टर उडान मार्फत ६७० नेपाली स्वदेश फर्काएको
जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?