logo
२०८१ बैशाख ८ शनिवार

चीन र भारत जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग छिट्टै : प्रधानमन्त्री

मुख्य समाचार |
फोटो फिचर |


2020-11-11-26402
तस्बिरः राजन काफ्ले/प्रम सचिवालय


भवीन कार्की
किमाथाङ्का, कात्तिक २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि भएपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताउनुभयो । उत्तर–दक्षिण कोशी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उहाँको भनाइ छ ।
उहाँले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने दोहोर्याउनुभयो । उहाँले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने बताउँदै भन्नुभयो, “म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिवर्तन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ ।”
प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाँले आज अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा अरुण तेश्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेश गर्नुभएको थियो ।प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभाका सदस्य राजेन्द्रप्रसाद गौतम, राष्ट्रियसभाका सांसद परशुराम मेघी गुरुङलगायत सङ्खुवासभामा स्थलगत अनुगमनमा आउनुभएको थियो ।

तस्बिरः राजन काफ्ले