logo
२०८१ बैशाख २१ शुक्रवार



अर्थतन्त्रको आकार झन्डै ४० खर्ब

मुख्य समाचार |


अर्थतन्त्रको आकार झन्डै ४० खर्ब


लक्ष्मण दर्नाल

काठमाडौँ, फागुन २१ गते । नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपियाँ भएको छ । नेपालीको प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा गणनाको आधार वर्ष परिवर्तन (रिबेसिङ) गरेका कारण कुल गार्हस्थ्य उत्पादनमा एक खर्ब ७६ अर्ब रुपियाँ र प्रतिव्यक्ति आयमा ७६ डलरले वृद्धि देखिएको हो । पुरानो आधार वर्षको आधारमा गरिएको गणनामा कुल गार्हस्थ्य उत्पादन ३७ खर्ब ६७ अर्ब र प्रतिव्यक्ति आय एक हजार ५८ डलर थियो ।
राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दा लिइएको आधार वर्षलाई प्रतिस्थापन गरी नयाँ आधार वर्ष गर्ने कार्यलाई राष्ट्रिय लेखा तथ्याङ्कको ‘रिबेसिङ’ भनिन्छ । नयाँ आधार वर्षकै आधारमा आगामी आर्थिक वर्षका स्थिर मूल्यमा गणना हुन्छ । आधार वर्ष परिवर्तन गर्दा स्थिर मूल्य पनि परिवर्तन हुने भएकाले नयाँ स्थिर मूल्यलाई आधार मानेर गणना गर्दा पहिलेको राष्ट्रिय लेखा तथ्याङ्कमा पनि परिवर्तन आउँछ । यसअघि आर्थिक वर्ष २०५७÷५८ (सन् २०००÷०१) लाई आधार वर्ष
मानिएकोमा अब नयाँ आधार वर्ष २०६७÷६८ (२०१०÷११) लाई मानिएको छ । यो पाँचौँ आधार वर्ष हो । विभागले बिहीबार पत्रकार सम्मेलन गरी कुल गार्हस्थ्य उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरिएको भन्दै अर्थतन्त्रको पछिल्लो अवस्थाको जानकारी दिएको छ ।
नयाँ गणनामा आ.व. २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उक्त वृद्धिदर २.२७ प्रतिशत रहने अनुमान प्रस्तुत गरिएको थियो ।
आ.व. २०७६÷७७ को अन्तिम तीन महिना(वैशाख, जेठ र असार)मा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४ प्रतिशतले अर्थतन्त्र खुम्चिएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा आर्थिक वृद्धिदर ४.६ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ ।
कोरोना (कोभिड–१९) महामारीले अर्थतन्त्रमा २०७२ सालको भूकम्पले भन्दा बढी क्षति पु¥याएको विभागले जनाएको छ । कोभिड–१९ को असर सबैभन्दा बढी आवास तथा भोजन र यातायात तथा भण्डार क्षेत्रमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?