logo
२०८१ बैशाख ६ बिहीवार



घट्यो भन्सार राजस्व

अर्थ |


घट्यो भन्सार राजस्व


भैरहवा, फागुन १५ गते । नेपाल राष्ट्र बैङ्कले आयात नियन्त्रणको नीति लिएसँगै भन्सारबाट सङ्कलन हुने राजस्व घटेको छ । राष्ट्र बैङ्कले १८ वटा शीर्षकका विलासिताका वस्तु आयात गर्दा प्रतीत पत्र (एलसी) खोलेर सतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि ती वस्तुको आयात घट्दा भन्सार राजस्व पनि घटेको हो ।

भन्सार विभागले माघ महिनाका लागि १० अर्ब ३० करोड ७८ लाख लक्ष्य दिएकोमा कार्यालयले माघ मसान्तसम्म सात अर्ब ३६ करोड ७७ लाख मात्र राजस्व सङ्कलन गरेको छ । माघमा लक्ष्यभन्दा २९ दशमलव ५२ प्रतिशत कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले जानकारी दिनुभयो । पुसमा लक्ष्यभन्दा १२ दशमलव ८७ प्रतिशत कम राजस्व सङ्कलन भएको थियो ।

नयाँ प्रावधान लागू हुनुअघि भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । भैरहवा भन्सार कार्यालयले साउनमा १०५ दशमलव ५८ प्रतिशत, भदौमा १०९ दशमलव ५९ प्रतिशत, असोजमा ११२ दशमलव ८० प्रतिशत, कात्तिकमा १०३ दशमलव ६९ प्रतिशत र मङ्सिरमा १०१ दशमलव शून्य आठ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

भैरहवा भन्सार कार्यालय मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको सबभन्दा ठूलो भन्सार नाका हो । विभागले भैरहवा भन्सार कार्यालयलाई आव २०७८/७९ का लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख वार्षिक लक्ष्य दिएको छ । कार्यालयले सात महिनामा कुल लक्ष्यको ५८ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ ।

सूचना अधिकारी पासवानका अनुसार, साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो । “पुस र माघ महिनामा राजस्व सङ्कलनमा कमी आएको छ, यसको एक प्रमुख कारण राष्ट्र बैङ्कले लागू गरेको नयाँ प्रावधान हो,” उहाँले भन्नुभयो ।

विलासिताका वस्तुको आयातमा राष्ट्र बैङ्कले नयाँ प्रावधान ल्याएसँगै आयातमा गिरावट आएको हो । दैनिक छ, सात सय मालवाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सार नाकाबाट अहिले २५० जति मालवाहक सवारीसाधन आइरहेको सूचना अधिकारी पासवानले बताउनुभयो ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको आयातको तुलनामा पुस र माघ महिनामा यो नाकाबाट कार जिप र भ्यान, चकलेट, टायल, मार्बल, ग्रेनाइट, मोटरसाइकल, स्कुटरलगायतका वस्तुको आयात घटेको छ ।
मुख्यतः मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य वस्तु, सौन्दर्य सामग्री, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वलरी, तासलगायतका वस्तुमा शतप्रतिशत र हलुका सवारीसाधन कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटरमा एलसी खोल्दा ५० प्रतिशत नै बैङ्कमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समयमा आयात उच्च दरमा वृद्धि हुँदा व्यापार घाटा बढेको छ र यसले विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ ।

चालू आव २०७८/७९ को सात महिनासम्ममा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब रुपियाँ नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?