logo
२०८१ श्रावण १२ शनिवार

राष्ट्रपति भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि प्रस्थान

मुख्य समाचार |
फोटो फिचर |


2021-03-22-34153
तस्बिर : सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौँ, चैत ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशी समकक्षी मो. अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश जान लाग्नुभएको हो ।
गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीलाई उहाँका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुहुनेछ । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानुहुनेछ । त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्णजयन्ती समारोहमा व्यस्त रहनुहुनेछ । सो क्रममा उहाँले नेपाल–बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उहाँले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नुहुनेछ ।
सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रिभोजमा सरिक हुनुहुनेछ । मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहनुभएका नेपालीसँग भेट गर्नुहुने कार्यक्रम छ । सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा. मिश्रले आयोजना गर्नुहुने दिवाभोजमा सरिक हुनुहुनेछ । दुई देशबीचको आयात–निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ । त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ ।  राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्कनुहुनेछ ।