logo
२०८१ बैशाख २२ शनिवार



मेलम्ची सुरुङको निरीक्षण थालिने

मुख्य समाचार |


मेलम्ची सुरुङको निरीक्षण थालिने



लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ ३० गते । काठमाडौँ उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द
हुने भएको हो ।
सुरुङमा तीन महिना पानी बगिसकेपछि पुनः परीक्षण गर्नुपर्ने भएकाले पानी बन्द गरिने भएको हो । सुरुङमा पानी सुकाएपछि विज्ञहरूले सुरुङको निरीक्षण र परीक्षण गर्नेछन् । विज्ञहरूको निरीक्षण प्रतिवेदनका आधारमा थप काम गर्नुपर्ने पनि हुनसक्ने समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असार १ गतेदेखि सुरुङमा पानी सुकाएर सबै निरीक्षण गर्दैछौँ । यो पूर्वकार्यतालिका बमोजिम नै हो।”
उहाँका अनुसार सुरुङ परीक्षण गर्न करिब १५ दिन लाग्ने छ । निरीक्षणपछि सबै कुरा ठीक रहे फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने छ । सामान्य अवस्थामा ४५ दिनमा सबै काम पूरा हुनेछ । विज्ञहरूले समस्या देखे भने वा थप सुझाव दिए भने अरू काम गर्नुपर्ने पनि हुन सक्छ नत्र सामान्य अवस्थामा करिब ४५ दिनमा सकिने छ ।
वर्षात्मा पानीको अभाव कम हुने भएकाले असार र साउनमा सुरुङ परीक्षणका लागि कार्यतालिका बनाइएको पन्तले जानकारी दिनुभयो । मेलम्चीको पानी नआएको यो अवधिमा काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन बागमती नदीको पानी प्रशोधन गरेर दैनिक चार करोड लिटर उत्पादन गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
दोस्रो आयोजनाअन्तर्गत याङ्री र लार्के खोलाको पानी पनि मेलम्चीकै सुरुङबाट काठमाडौँ उपत्यका भिœयाउन थप पूर्वाधार निर्माणका काम भइरहेका छन् । हाल मेलम्चीदेखि याङ्री खोलाको हेडवक्र्स निर्माण स्थलसम्मको सडक निर्माण भइरहेको छ । २५ किलोमिटर यो सडकमध्ये १५ किलोमिटर पहिल्यै ट्र्याक खोलिएको थियो भने अन्य काम अहिले भइरहेको पन्तले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७/७८ मा याङ्री र लार्के खोला आयोजनाका लागि तीन अर्ब ८१ करोड रुपियाँ विनियोजन गरिएको थियो । पहुँचमार्ग निर्माणमा ढिलाइ भएकाले टेन्डर प्रक्रियामा समेत जान नसकेपछि सो रकम खर्च भएको छैन । आगामी आर्थिक वर्षमा यसका लागि दुई अर्ब ९७ करोड रुपियाँ विनियोजन भएको छ ।
करिब २५ अर्ब रुपियाँ लागत अनुमान गरिएको याङ्री र लार्के खोला आयोजनाका लागि लगानीकर्ताको पहिचान हुन नसक्दा पनि ढिलाइ भएको समितिले जनाएको छ । पहुँचमार्ग आगामी वर्षसम्म सम्पन्न भए अर्को वर्ष खरिद प्रक्रियामा जान सकिने समितिको दाबी छ । मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेकाले पहुँचमार्ग सम्पन्न हुनासाथ काम सुरु गर्न सकिने छ । कुन प्रविधिबाट सुरुङ खन्ने भन्ने कुराले पनि समयको निर्धारण गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?