logo
२०८१ बैशाख २६ बुधवार



बद्रीविक्रम थापा समाजसेवाका पर्याय

फिचर |
शनिवार |


बद्रीविक्रम थापा समाजसेवाका पर्याय


श्रीओम श्रेष्ठ ‘रोदन’

अनौठो हुन्छ, मानिसको मन पनि । कसैलाई बिर्सन खोजेर सकिँदैन । कसैलाई सम्झेर पनि सम्झिँदैन । नदेखिने मन किन सम्झनामा पनि भेदभाव गर्छ । हुन त मनको मूल्याङ्कनमा गल्ती नहुन सक्छ । बाँचुञ्जेल र मृत्युपछिका मात्र कुरा होइन । आदर्श र स्वार्थ छुट्टिने पनि यसरी नै होला । म र मेरो भन्नेहरू पद र शक्तिले टिकिरहन खोज्छन् । तर, स्थायी कहिल्यै हुँदैनन् । हामी र हाम्रो भन्नेहरू अस्थायी कहिल्यै हुँदैनन् । अरूका बन्ने र अरूले सम्झिरहने पनि यस्तै हुन्छन् ।
बद्रीविक्रम थापालाई चिनिने धेरै काम छन्, पद छन्, पदक छन् तर चिनिनुभयो समाजसेवी भनेर । कर्मयोगीका रूपमा ।
राणा शासनविरुद्ध सैनिक सङ्गठक बन्नुभयो । मेजर हुनुभयो । सर्वस्वसहित ज्यान सजाय पाउनुभयो । प्रजातन्त्र आयो र ज्यान जोगियो । बडाहाकिम हुुनुुभयो । अञ्चलाधीश हुनुभयो । गुठी संस्थानको अध्यक्ष पनि बन्नुभयो । अरू पनि धेरै हुनुभयो । उच्चपदका परिचय भएर पनि सबै ओझेलमा परे । नामसँग र पदसँग जोडिए पनि हुने केही रहेनछ आखिर । हुने भनेको कामैमात्र रहेछ एक । केही नगर्नेलाई चिनिन जोडिरहनुपर्छ पद भनेको । नामअघि पद कहिल्यै नजोडिने उदाहरण बन्नुुभयो बद्रीविक्रम, सधैँ समाजसेवीमात्र ।
सम्झँदा पनि अनौठो लाग्छ । बाइस वर्ष देशको झन्डा फहराएर हिँड्ने मान्छे हुनुपर्ने शासक नै हो जस्तो लाग्छ तर बन्नुभयो सेवक । बडाहाकिमको रवाफ कति हुन्थे अरूका लागि । सुनिएको, पढिएको पनि त्यस्तै हो । अञ्चलाधीशको शक्ति चाहेजत्ति हुन्थ्यो । कानुन नै मै हुँ भनेजस्तो घमण्डले पाकेका हुन्थे । भोग्नेहरू त्यस्तै भन्थे । नजिक पर्न पनि डराउँथे । सत्ताको मात र उन्माद नलाग्ने को पो होलान् भन्ने लाग्थ्यो । उदाहरण बन्नुभयो बद्रीविक्रम यस मामलामा पनि ।
उहाँलाई न सत्ता लाग्यो न शक्ति नै । जस्तो थियो बद्रीविक्रम त्यस्तै बनिरहनुभयो अन्तिम अवस्थासम्म । कुर्सीमा हुँदा र नहुँदा पनि त्यस्तै । सानो कुरा हुँदै होइन यो । हिजो सँगै हुनेहरूमात्र होइनन्, आज उहाँलाई पढ्नेहरू पनि अनौठो मान्छन् । त्यत्तिकै बन्नुभएको होइन आदर्श बद्रीविक्रम ।
कसरी सम्भव भएको होला सत्ता र शालीनता ? शक्ति र समाजसेवा ? बाइस वर्ष झन्डा फहराएर गुड्ने मान्छे स्वास्नीको गहना बेचेर जनताको ऋण तिर्ने कसरी बन्न सक्छ ? शङ्खधर साख्वाको नयाँ जन्म भएजस्तो । महोत्तरी र सिन्धुलीका पुख्र्यौली जग्गा केही विद्यालयलाई दिनुभयो । केही–केही नहुनेलाई बाँड्नुभयो । दानवीरको आदर्श पनि बद्रीविक्रम नै ।
साहित्यकार भनेपछि श्रद्धाले शिर झुकाइहाल्ने । अक्षरका पुजारीलाई सम्मान गर्दा आनन्द मान्ने । मेचीको अञ्चलाधीश हँुदा झापामा तेस्रो राष्ट्रिय साहित्य सेमिनार भयो । पद बिर्सेर साहित्यकारको सेवा गर्नुभयो उहाँले । उज्यालो हुँदानहुँदै पुगिसक्नुहुन्थ्यो कार्यक्रमस्थल । भेटेजतिलाई पहिले अभिवादन गर्नुहुन्थ्यो । खानेबेला पस्किन जानुहुन्थ्यो । जुठो थाल उठाउन जानुहुन्थ्यो । राति सबैलाई ओढ्ने ओछ्याउनेको व्यवस्था भए–नभएको बुझेपछि मात्र फर्किनुहुन्थ्यो । त्यत्तिकै कहाँ भनिएको रहेछ– साहित्यकारलाई माया गर्ने प्रशासक भनेर ।
बद्रीविक्रम आफैँ पनि लेखक हुनुहुन्छ । पुस्तकहरू प्रकाशित छन् । स्थापित भने हुनुभएन । हुन्थ्यो पनि कसरी ? त्यत्रा पदसद त पछि परेका छन् भने अरू के हुन्थ्यो र ? कुरा गरिसाध्य छैन बद्रीविक्रमको । डाँकाहरूलाई पक्रेपछि जेलमा नकोचेर उल्टै शान्ति सुरक्षाको जिम्मा लगाउनुहुन्थ्यो । हो पनि, चोरलाई साँचो जिम्मा लाएपछि कसले चोर्न आउने ? अरू अञ्चलाधीश कैदीबन्दीलाई जेल सार्ने नाममा जङ्गलमा लगेर हत्या गर्ने । बद्रीविक्रम भने जेलबाट निकालेर महŒवपूर्ण काम नै जिम्मा दिनुहुन्थ्यो । विद्यार्थी आन्दोलनमा पक्राउ परेकाको पनि हेरविचार गर्नुहुन्थ्यो । खाना खायो खाएन, सुत्ने व्यवस्था ठीक छ छैन आफैँले अनुगमन गर्नुहुन्थ्यो । त्यतिमात्र हो र ? थुनाबाट छोड्दा पनि विराटनगरदेखि धरानसम्म जिपमा पु¥याउने व्यवस्था गरिदिनुहुन्थ्यो । जोसुकैलाई पनि दमन गरेर नसकिने काम मन जितेर परिवर्तन गर्नुपर्छ भन्ने मन्त्र मान्नुहुन्थ्योे– बद्रीविक्रम ।
राजनीतिमा लाग्नु र बेइमान नहुनु दन्त्यकथाजस्तो लाग्छ अहिले । पदमा पुग्नु र भ्रष्ट नहुनु सुन्दा पनि अनौठो लाग्छ अहिले । राजनीति, आन्दोलन, धर्ना, जुलुुस, अनशन जे–जे भने पनि भविष्यका सुन्दर बेर्नाजस्ता बनेका छन् । बद्रीविक्रमतिर भने त्यस्ता एउटै आँैला पनि ठडिन सकेनन् । नेपालगन्जमा बडाहाकिम हुँदा राजनीति गर्ने आफ्नै ससुरालाई पक्रेर छ÷सात कोष टाढाको जङ्गलमा छोड्न सक्ने प्रशासक हो उहाँ । घरमा मात्र परिवार, इष्टमित्र हुन्छ, कार्यालय समयमा कोही आफन्त हुँदैनन् भन्नुहुन्थ्यो । भन्नेमात्र होइन, गर्नु पनि हुन्थ्यो । प्रशासकका लागि योभन्दा ठूलो प्रमाणपत्र अरू के हुन सक्ला र ?
नेपालगन्जमा हुँदै एकपटक उहाँकी श्रीमती साडी किन्न जानुभएछ । बडाहाकिमकी श्रीमती भन्ने थाहा पाएपछि व्यापारीले दुईवटा साडी सित्तैमा दिएछन् । उहाँले थाहा पाउनासाथ हप्काएर तुरुन्तै फिर्ता गर्न पठाउनुभएछ । खोजेर कहाँ पाइएला यस्ता प्रशासक अहिले ।
त्यतिबेला राजापुरको भन्सार कार्यालयमा बडाहाकिम पुगेपछि पचास हजार भारु बुझाउने चलन रहेछ । नकार्ने कोही पनि रहेनछन् बद्रीविक्रम अघिसम्म । भन्सार हाकिमलाई बडाहाकिमको स्वभाव थाहा रहेछ । त्यही पनि सँगै जानुभएका कुलचन्द्र कोइरालासँग बिस्तारै सल्लाह गर्नुभएछ । उहाँले भूमिका बाँध्दै सम्झाउन खोज्नुभएछ । कुरो सुन्नासाथ बद्रीविक्रम त कालभैरव भएर बाङ्गो लौरीले हान्न खोज्नुभएछ । धेरै पैसा देखेर मलाई भ्रष्ट बनाउन खोज्ने भन्दै रिसले चुर हुनुभएछ ।
तेह्र सालको भारु पचास हजार भनेको नेपाली असी हजार । एउटा गाउँ नै किन्न पुग्ने पैसा थियो त्यतिबेला । तर, बद्रीविक्रमले पैसा छुँदै छुनुभएन । नछोईकनै प्रयोग गरिदिनुभएछ सबैको हितकार्यमा । उल्टै केही थपथाप गरेर । जिल्लाभरि निर्माणकार्य गर्नका लागि जिल्ला विकास बोर्ड नै गठन गरिदिनुभएछ । जिल्ला विकास समितिको अवधारणाको जन्म पनि यही बडाहाकिम धनी हुने कोषबाट भएको पो थियो कि ?
आदर्शको पनि आदर्श । उदाहरणको पनि उदाहरण बद्रीविक्रम ।
ओखलढुङ्गाबाट सरुवा भएर उहाँ चौध दिनमा नेपालगन्ज पुग्नुभएको थियो । वेद ध्वनिका साथ कार्यभार सुरु गर्नुभयो । वेदमाथिको सपथमा कहिल्यै बेइमानी गर्नुभएन । जहाँ पुगे त्यहाँ विकास गरेरै छोड्नुभयो । निष्पक्षताको उदाहरण बन्नुभयो । अन्याय हुन दिनुभएन कसैलाई । लोभ नभएपछि, डर नभएपछि, स्वार्थ नभएपछि, दम्भ नभएपछि गर्न नसकिने केही हुँदैन रहेछ । जे गर्नुभयो शालीन बनेरै गर्नुभयो । मन जितेरै गर्नुभयो । उहाँको काम, इमानदारी, उत्साह र उदाहरण हेर्दा उखान नै उल्टो भएजस्तो लाग्छ । फलेको हाँगो झुक्छ भन्ने उक्ति बद्रीविक्रमका लागि नभएर बद्रीविक्रमलाई हेरेर पो हाँगो झुकेको हो कि जस्तो लाग्छ ।
व्यवहारमात्र होइन, उहाँको लवाइ त्यस्तै, खुवाइ त्यस्तै, बोलाइ पनि त्यस्तै । साधारण खाँडीको कपडा लगाउने । उहाँ भन्नुहुन्थ्यो, ‘भादगाउँले टोपीले राजधानीको प्रतिनिधित्व गर्छ । दौराले पहाडको, सुरुवालले तराईको र इस्टकोटले हिमाली क्षेत्रको । राष्ट्रियतामा ढुकढुकिरहने, विनम्रतामा व्यवहार झल्किरहने । साउन ११ गतेको दिन थियो १९७९ को । काठमाडौँमा नै अवतरण हुुनुभएको थियो– बद्रीविक्रम थापा । जन्मिएको दस दिनमै आमाले संसार त्याग्नुभए पनि टुहुरो हुनुभएन । दूध आउने वरपरका आमाहरूको लाम्टा चुसाउने व्यवस्था भयो । जन्माउने आमा एक, बचाउने आमा अनेक । त्यसैले आमासेवक बन्नुभयो । जन्म दिने, दूध चुसाउनेमात्र होइन, नेपाल आमाको पनि गर्नुसम्म सेवा गर्नुभयो । सेवालाई नै धर्म मान्नुभयो । सेवाबाटै सन्तुष्टि पनि ।
पढाइ खासै होइन उहाँको । पाठ्यक्रमको पाउनुभएन प्रमाणपत्र विशेष । साधारण नेपाली निजामती मध्यम परीक्षा । तर, जीवनको पढाइमा भने हुनसम्मको अब्बल । व्यवहारको पाठ्यक्रममा सधैँ उत्कृष्ट । निष्पक्षको पढाइमा औँलामा गनिने । इमानदारको पढाइमा भेट्ने कोही बन्न सकेनन् ।
जगिरको प्रारम्भ राणाको चाकरीबाटै भयो एक सालमा । नेपाल पहाड रिपोर्ट निक्सारीमा नौसिन्दा । एघार रुपियाँको तलब । पियनभन्दा माथिको । अलिक समय मास्टर बनेर लाग्नुभयो राजनीतिमा । राणा शासनविरुद्ध सैनिक सङ्गठक बन्नुभयो । पक्राउ परेपछि कष्ट त पाउनुभयो नै । सर्वस्वहरण पनि गरियो । ज्यान सजाय पनि तोकियो । संयोगले प्रजातन्त्र आउने भएपछि जेलबाट छुट्नुभयो । राणा शासन नढलेको भए, प्रजातन्त्र नआएको भए बद्रीविक्रमको अभिलेख कुनै रूखमा झुन्डिएको मात्र हुन सक्थ्यो ।
त्यसैले उहाँ भन्नुहुन्थ्यो बारबार, ‘के छ र ज्यानमा ? काम गर्दागर्दै मर्न पाए हुन्थ्यो । झुन्ड्याइ मारिनबाट बाँचेको हुँ ।’
नेपाल पुकार र नेपाल टुडेमा युवक सम्राट भनेर फोटो नै छापियो त्यसबेला । त्यसपछि रक्षा दलको मेजर । सल्लाहकार सभाको सदस्य । डाकेआई सिंहको सिंहदरबार काण्डमा छानबिनका लागि एक महिनाजति मेजर भएरै थुनिनुभयो । त्यसपछि जहाँ पुग्नुभयो, त्यहाँ कमाउनुसम्म कीर्ति कमाउनुभयो । आदर्श कायम गर्नुभयो । असल हुनुको उदाहरण बन्नुभयो ।
नेपालमा आँखा अस्पताल उहाँ गुठीमा भएकै कारण खोलिएको थियो । त्रिपुरेश्वरको मुसाफिरखाना धर्मशालामा आँखा अस्पताल खोल्न डा. रामप्रसाद पोखरेललाई स्वीकृति दिने बद्रीविक्रम नै हुनुहुन्थ्यो । त्यहीँकोे जग्गा निजी बनाएर शक्तिशाली व्यक्तिले किनिसकेको रहेछ । प्रधानमन्त्री कार्यालयले चौबीस घण्टाभित्र घर बनाउन दिनु भन्ने आदेश नै आयो । पटक्कै झुक्नुभएन बद्रीविक्रम । सर्वोच्चमा पाँच वर्ष मुद्दा खेपेर जितेरै छाड्नुभयो । लोभ नभए डर हुन्न भनेको त्यसै होइन । राजनीतिक शक्तिभन्दा शक्तिशाली इमानदारी नै हुन्छ भन्ने प्रमाणित गराउनुभयो । अस्पतालका लागि तीनपटक पाँच–पाँच हजार सहयोग ल्याउनुभयो जनकपुरबाट । त्यतिबेलाको पन्ध्र हजारको काम कति हुन्थ्यो कति । जनकपुरको जानकी आँखा अस्पतालका जग्गा पनि बद्रीविक्रमले नै उपलब्ध गराउनुभएको थियो ।
तीनजना राजासँग निकट हुनुभयो बद्रीविक्रम । चाहेका भए अझ के–के गर्न सक्नुहुन्थ्यो, बन्न सक्नुहुन्थ्यो होला । बन्ने, कमाउनेको के कुरा ? बाइस वर्ष झन्डा फहराउने मान्छले धन्य मदनशमशेरको धानको भकारी किनेर घर बनाउनुभएको रै’छ । जीवनमा हजारौँलाई नागरिकता दिनुुभयो तर आफूले कहिलै ध्यान पु¥याउनुभएन । नागरिकता नभएरै नागरिकको सेवा गर्ने आधिकारिक अधिकारी बन्नुभयो ।
ताजै छ, त्यो दिन अहिले पनि । बार एसोसिएसनमा मित्र जय छाङ्छाको नियात्राको विमोचन थियो । कविवर माधव घिमिरे आइनपुगेकाले फोन गर्न माइतीघरतिर जाँदै थिएँ । अचानक एउटा गाडी रोकियो । म पनि रोकिएँ । दुई हात जोड्दै मुस्काउँदै भन्नुभयो, ‘अब छिट्टै शिविरको समीक्षा गर्नुपर्छ, त्यहीँ भेटौँ । त्यसपछि कहिले भेट्न पाइएन । गुडिरहेको गाडी रोकेर भेट्नुभएका कारण त्यही त थिएन ?’
कुरा शालीनताको गर्न खोजेको । हार्दिकताको गर्न खोजेको । त्यत्रो व्यक्तित्व भएको बद्रीविक्रम मजस्तालाई त त्यस्तो व्यवहार गर्नुहुन्थ्यो भने अरूका के कुरा ?
टोपी लगाएको टाउको सधैँ झुकाएपछि मात्र हात जोडेरै कुरा गर्नुहुन्थ्यो उहाँ । भेट हुने कसैलाई पनि पहिला नमस्कार गर्ने मौका दिनुहुन्थेन । शिष्टतामा सधैँ अघि हुनुहुने बद्रीविक्रम असाधारण हुनुहुन्थ्यो तर बन्नुहुन्थ्यो साधारण । यस्तो आदर्श पुरुषसँग सत्सङ्गको सौभाग्य पाएको थिएँ एक दशकजति ।
मातृभूमि सेवक सङ्घका अध्यक्ष डा. बिहारीलाल श्रेष्ठ उपचारका लागि विदेश जानुभएपछि यसको अध्यक्ष हुनुभएको थियो– बद्रीविक्रम थापा । हिन्दु विद्यापीठ नेपाल सुरु गर्न र चलाउन खट्नसम्म खट्नुभएको थियो । त्यतिबेला सङ्घको केन्द्रीय शिविर हुने गथ्र्यो वर्षमा एकपटक । घटस्थापनादेखि चार दिनसम्मको । सयाँैको सहभागिता हुन्थ्यो ।
एघारौँ शिविर थियो भैरहवामा । एकाउन्न सालको असोज महिना थियो । शिविरमा विद्यार्थीदेखि स्वामी प्रपन्नाचार्यसम्म हुनुहुन्थ्यो । शिविरको सर्वोच्च व्यक्ति बद्रीविक्रम हुनुहुन्थ्यो अर्थात् सर्वाधिकारी । अन्तिम निर्णयकर्ता । शारीरिक, बौद्धिक, मनोरञ्जनका कार्यक्रम हुन्थ्यो शिविरमा । सबैमा सहभागी बन्नुहुन्थ्यो उहाँ । बिहान पाँच बजेदेखि राति दस बजेसम्म चल्थ्यो शिविर ।
शिविरबाट फर्कंदा एउटै जिपमा थिएँ म । नवलपरासीको कैलाश आश्रममा बास बसेर भोलिपल्ट फर्किएका थियौँ । बद्रीविक्रमले जीवनका अनौठा र आश्चर्यलाग्दा अनुभव सुनाउनुभएको थियो । यात्रालाई सहज बनाउन सिपालु हुनुहुन्थ्यो । उहाँका रमाइला स्मृति सुन्न नपुग्दै काठमाडौँ आइपुगेका थियौँ हामी ।काम गर्दागर्दै मर्न पाए हुन्थ्यो भन्ने उहाँको चाहना पनि पूरा गरेरै छोड्नुभो । निष्ठामा बाँच्नेको बोली पनि पक्कैै हुँदोरहेछ । असोज पच्चीस गते थियो बाउन्न सालको । दुई कार्यक्रममा पुग्नुपर्ने उहाँको तालिका थियो त्यस दिनको ।
पहिलो रेशम खेती गर्न सरकारसँग जग्गा माग गर्ने बैठक सिर्जना कला गुठीमा । अर्को महोत्तरी परिवारको कार्यक्रम, जसका अध्यक्ष आफैँ हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवा प्रमुख अतिथि हुनुहुन्थ्यो । संस्थापक अध्यक्ष एवं प्रधानन्यायधीशको सम्मान कार्यक्रम पुलिस क्लबमा ।
कार्यक्रमको सभापतीय मन्तव्य पहिलो बैठकमै सुनाउनुभयो । थकान देखिन्थ्यो अनुहारमा । भए पनि नगई भएन कार्यक्रममा । गाडीमा बस्नुभएपछि एकैछिन रोक्न लगाउनुभयो चालकलाई । मन्तव्यको अन्त्यमा धन्यवादका केही शब्द थप्दाथप्दै बिसाउनुभयो आफैँलाई । आफ्नो वचन अरूका लागि पूरा गरेजस्तै आफैँसँग पनि पूरा गरेरै छोड्नुभयो । पुत्र हुनुहुन्छ– किरण थापा त्यही मार्ग पछ्याउने । कर्मयोगी बद्रीविक्रम थापा सेवा गुठी बनेको पच्चीस वर्ष भयो । निरन्तर भइरहेको छ, देशैभरि समाजसेवाकै कार्य ।
समाजसेवाको नाममा पहिले आफू भरिने गरेका छन् । गरिब, असहायका नाममा विदेशी रकमले धनी हुने गरेका छन् । आफू र आफन्त अघाएपछि भोकाको खोजी गर्ने गरिएका छन् । गरेभन्दा धेरै गुना बढी प्रचार गरेर जस लिने गरेका छन् । भनौँ समाजसेवा प्रदूषित बनेको छ । निःस्वार्थी नभएका हँुदै होइनन् तर पूरै अल्पमतमा परेका छन् । त्यसैले विगतको सङ्लो इतिहासलाई जोगाउनकै लागि पनि बद्रीविक्रम र बद्रीविक्रमहरू जस्तालाई सम्झनै पर्छ ।
ठूलो ओहदामा लामो समय बसेर पनि असल मान्छे बन्न सफल हुनुभयो– बद्रीविक्रम । भए पनि अहिलेको समाजमा सम्झिने कति होलान् ? श्रद्धा गर्ने कति होलान् ? उदाहरण ठान्ने कति होलान् ?
जति भए पनि बद्रीविक्रमहरूलाई बीजका रूपमा सधैँ सुरक्षित राख्नुपर्छ । उहाँजस्ता आदर्श व्यक्तिलाई नजोगाउने हो भने समाजसेवामा दाग लाग्न सक्छ । इमानदारीमा घात लाग्न सक्छ । प्रशासनिक सेवामा नदेखिने घाउ लाग्न सक्छ ।
तर पनि प्रश्न उठिरहन्छ भित्रभित्रै । बद्रीविक्रमले हिँडेकोजस्तो बाटो अहिले छ कि छैन होला ? भए पनि त्यस्तो सत्मार्गमा हिँड्ने पाइला कति होलान् ? कस्ता होलान् ? 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?