logo
२०७९ असार १८ शनिवार



फेरि गोरखापत्रको यात्रा

राजनीतिलाई दिशानिर्देश गर्ने काम जनमतले नै गर्ने हो

विचार/दृष्टिकोण |


फेरि गोरखापत्रको यात्रा


शिवकुमार भट्टराई

झण्डै चार वर्षको अन्तरालमा फेरि गोरखापत्र दैनिकमा आफ्ना विचार राख्ने अवसर जुरेको छ । यद्यपि गोरखापत्र संस्थानकै मुना मासिक बालपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहँदा दैनिक अखबारसँगको आबद्धता टुटे पनि विचार प्रवाहको स्वरूप र परिवेश भने कायमै थियो । समय क्रममा फेरि गोरखापत्र दैनिकमै काम गर्ने मौका जुरेको छ । त्यसैले गोरखापत्र दैनिकका पाठकसँग जोडिने यो अनुपम अवसरलाई पुनः नयाँ आयामका साथ गाँस्ने जमर्काे गरेको छु । नेपाली पत्रकारिताको जिउँदो इतिहासका रूपमा रहेको गोरखापत्र आफैँमा गौरव हो । यसले निर्वाह गरेको भूमिका नेपाली पत्रकारिता श्रीवृद्धिमा अद्भूत छ । नेपाली नागरिकको सग्लो तस्बिर हो गोरखापत्र । गोरखापत्र भनेको राष्ट्रको मुखपत्र पनि हो । यसले बोल्ने सबै भाषा र दिने सन्देश राष्ट्रकै साझा अवधारणा हो । त्यो सोच र प्रवृत्तिलाई नयाँ ढङ्गले परिभाषित गर्ने दायित्व गोरखापत्र दैनिकले निर्वाह गर्नैपर्छ । गोरखापत्रको दायित्व र चुनौती यसैको सेरोफेरोमा रहनुपर्छ ।

सरकारी सञ्चारमाध्यमका रूपमा गोरखापत्रलाई सङ्कुचित पार्ने काम विगतमा भए । तर गोरखापत्र सरकारी संरचनाको साँघुरो दायरामा मात्र सङ्कुचित पारिनु हुँदैन । यो समग्र राष्ट्रको गौरवगाथा बोक्ने संयन्त्र हो । त्यसको छनक प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिइसक्नुभएको छ । सरकारी सञ्चारमाध्यमले नै सही र यथार्थ सूचना सम्प्रेषण गर्न सक्ने उहाँको विश्वास देखिएको छ । प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रममै भन्ने गर्नुभएको छ– “सरकारी सञ्चारमाध्यम सबैको साझा हो । सरकारको कमीकमजोरी औँल्याउने काम निर्धक्क भएर गरोस् ।” प्रमुख कार्यकारीले यस्तो धारणा राख्दा मात्रै लोकतन्त्र बलियो हुन्छ ।
लोकतन्त्रमा जनमतको कदर हुन्छ । अर्थात् राजनीतिलाई दिशानिर्देश गर्ने काम जनमतले नै गर्ने हो । तर राजनीतिको नाममा निजी स्वार्थ पूर्ति गर्ने सोच र प्रवृत्तिले लोकतन्त्रलाई कति घात हुँदोरहेछ भन्ने बुझ्न विगत सरकारको हविगतले प्रष्ट्याएको छ । पाँच वर्षका लागि नेपाली जनताले वाम गठबन्धनको सरकार सञ्चालन गर्ने म्याण्डेट दिएको थियो । लामो अन्तरालमा यस्तो जनमत आएपछि देशले राजनीतिक स्थिरता प्राप्त गर्ला भन्ने अपेक्षा आमरूपमा गरिएको पनि हो । नेकपा एमाले अध्यक्षसमेत रहेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको त्यो नासो थाम्ने जिम्मेवारी पाउनुभएको थियो । नेपाली जनताले प्रष्टसँग त्यो जनादेश दिएको हो । जनादेशको सम्मान गर्दै नेपाली काँग्रेस साँघुरो दायरामा खुम्चिएर प्रतिपक्षीको भूमिकामा सीमित रहन बाध्य भएकै हो । तर जनताको प्रचण्ड मत र विश्वासको सम्मान गर्ने सवालमा भने ओली धेरै कोणमा चुकेको देखियो । पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसक्दा ओलीले प्रचण्ड बहुमत हुँदासमेत पद र प्रतिष्ठा जोगाउन सक्नुभएन । कसैले नसोचेको परिस्थिति निर्माण भयो । जनमत खण्डित गर्ने काम ओलीबाट भयो । त्यसैको परिणामस्वरूप शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । यो सारा जगले बुझेको कटु यथार्थ हो ।

सरकार बनेताका ओली भन्ने गर्नुहुन्थ्यो, “अब यो देशमा काँग्रेस राज सदासर्वदाका लागि अन्त्य भयो । काँग्रेसका तर्फबाट देउवा नै अन्तिम प्रधानमन्त्री रहनुहुनेछ ।” तर नियतिले अर्कै चाह्यो । ओलीकै उत्तराधिकारीका रूपमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्नुभयो । त्यसका विविध आयाम छन् । तिनका बारे धेरै चर्चा–परिचर्चा गरिरहनु परेन । त्यसको कारक भने विभिन्न नेता र पार्टी विशेषले आफू अनुकूल व्याख्या गर्लान् । तर नेपालीजनले भने राजनीतिमा देखापरेको पछिल्लो उतारचढावलाई निरपेक्ष रूपमा मनन गरेको छ । आजका नेपाली जनतासमक्ष र परिपक्व छन् । त्यसैले अहिलेको राजनीतिक घटनाक्रमलाई जनताले यथार्थपरक रूपमा विश्लेषण गरेका छन् । त्यसलाई आफूखुसी र अनुकूल व्याख्या गर्नुको कुनै तुक हँुदैन । राजनीतिमा नैतिकता र शिष्टताको आफ्नै विशिष्ट महìव र विशेषता हुन्छ । लोकतन्त्रमा जनता मालिक हुन्् भने अटोक्रेसीमा नेता बलशाली मानिन्छन् ।

लोकतान्त्रिक शासन प्रणाली र अधिनायकवादी प्रणालीबीच अवश्य पनि भेद हुन्छ नै । जस्तो शासन प्रणाली छ, त्यसैखाले नेतृत्वले अवसर पाएको हुन्छ । अर्थात् लोकतान्त्रिक शासन पद्धतिमा नेताभन्दा जनता बलियो हुन्छ । यो लोकतन्त्रको आधारभूत मान्यता पनि हो । लोकतन्त्रमा नीतिप्रधान हुन्छ, न कि नेता । अहिले हामीले अङ्गीकार गरेको शासन प्रणाली पनि लोकतन्त्रमै आधारित छ । त्यसैले सिद्धान्ततः पार्टी नेता जनताका नोकर हुन् तर मूल नेतृत्व कस्तो सोच र पद्धतिबाट चल्न चाहन्छ, त्यसले पनि धेरै पक्षलाई उजागर गर्छ । ओली प्रधानमन्त्री रहँदा लोकतन्त्रको मर्म र भावनामाथि पटक–पटक प्रहार भयो । संविधान र लोकतन्त्रमाथि आक्रमण हुँदा सर्वाेच्च अदालतले पटक–पटक अंकुश लगाउनुपर्ने अवस्था आइप¥यो । ओली शासनकालमा एकताको प्रतीकका रूपमा रहेको राष्ट्रपति पदको गरिमा नै ध्वस्त बन्यो । एमालेको पनि गुट विशेषको रक्षाकवचका रूपमा उक्त संस्थालाई ढाल बनाइयो । यसले लोकतन्त्रको धज्जी उडाउने काम ग¥यो । सम्मानित संस्थाप्रति पटक–पटक प्रश्न उठाउनुपर्ने विडम्बनापूर्ण स्थिति निर्माण गरियो । लोकतन्त्रमा यस्ता गतिविधि र प्रवृत्ति घातक मानिन्छन् । यस्ता शृङ्खलाबद्ध कामको परिणाम थियो ओली सरकारको बहिर्गमन पनि । राजनीतिलाई सही दिशा दिने माध्यम हो पत्रकारिता । जहाँ लोकतन्त्रको अध्यास हुन्छ, त्यहाँको प्रेस पनि खुला हुन्छ । राजनीति र प्रेस एक अर्काका परिपूरक हुन् । राजनीतिक गतिविधिले नै प्रेसलाई अक्षरको खेती गर्ने अवसर प्राप्त हुन्छ । एकले अर्कालाई सहयोग पनि गर्छन् र सन्तुलन पनि । प्रेससँग राजनीतिक क्षेत्रको साइनो न त निकट, न पृथक रहन्छ । अझ लोकतन्त्रमा त प्रेस नै बढी आक्रामक हुने गर्छ । त्यसले गर्दा शासनसत्तामा बस्नेहरू प्रेससँग मित्रवत्भन्दा निश्चित दायराभित्रको सम्बन्ध बनाउन चाहन्छन् ।

शासनसत्तामा बस्नेहरू स्वभावैले निरङ्कुश हुने गर्छन् । आफ्ना कर्तुत सार्वजनिक नहुन् भन्नेमा उनीहरू बढी सजग र सचेत हुने गर्छन् । यो विश्वव्यापी मान्यता हो । लोकतन्त्रमा समेत यस्तो अभ्यास हुने गर्छ, खासगरी हाम्रोजस्तो मुलुकमा । हाम्रो लोकतन्त्रले समेत त्यो अनुभूति गरेको छ । अघिल्ला प्रधानमन्त्री ओलीले स्वतन्त्र प्रेसको हुर्मत लिन कतिसम्म प्रयास गर्नुभयो, त्यो सबैसामु खुला छ । ओली सरकारका केही मन्त्रीको उत्ताउलो व्यवहार र शैलीले प्रेसले ठूलै जोखिम सामना गर्नुपरेको थियो । आलोचना ओलीका निम्ति पटक्कै सैह्य भएन । केवल आफ्नो स्तूति गाउनेहरू मात्र ओलीका लागि प्रिय देखिए । त्यसको मार नेपाली पत्रकारिताजगत्ले खेप्नुप¥यो । तर अहिले सत्ता र प्रवृत्ति फेरिएको छ । प्रमुख कार्यकारी नै सरकारको आलोचना गर्न पत्रकारलाई आग्रह गर्दै हुनुहुन्छ । यसले लोकतन्त्रलाई बलियो बनाउन पक्कै मद्दत गर्छ नै ।

राजनीतिक परिवेश बदलिएको छ तर प्रवृत्ति भने एकै पटक फेरिन गाह्रो छ । त्यसका लागि पात्रहरूकै बोली र व्यवहारमा परिवर्तन जरुरी छ । प्रधानमन्त्री देउवाले अहिले देखाउनु भएको शैली र व्यवहारले नेपाली प्रेसजगत्ले विगतको जस्तो पीडा भोग्न नपर्ने विश्वास प्राप्त गरेको छ । सरकारले पूर्णता पाइसकेपछि अझै नयाँ उचाइमा यसको अभ्यास हुने अपेक्षा गर्न सकिन्छ । नेपालीको महान् चाडमध्येको बडादशैँ सुरु भइसकेको छ । आज बडा दशैँको दोस्रो दिन । अहिले सबैको ध्यान दशैँपर्व हर्ष बढाइँका साथ मनाउनेमा केन्द्रित छ । दशैँ, तिहार, नेपाल सम्बत र छठ पर्वले आमनेपालीलाई छोपेको छ । त्यसैले अहिले महान् चाडबाड उल्लासका साथ मनाउनेतिर नै ध्यान पुगोस् । सबैमा शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?