logo
२०८१ बैशाख १५ शनिवार



थपिँदै सत्र विद्युतीय बस

अर्थ |


थपिँदै सत्र विद्युतीय बस



लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर २५ गते । आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौँ आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपु-याइएको छ ।
कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, “१७ वटा बस सुनौली भन्सारमा ल्याएका छौँ । भन्सार शुल्क, परीक्षण प्रतिवेदन, यातायात व्यवस्था विभागका पत्रलगायतका भन्सारका काम भइरहेको छ, बढीमा एक हप्ताभित्र बसहरू काठमाडौँ ल्याउँछौँ । ”

४० सिटका ती बसहरू काठमाडौँमा सञ्चालन गरिनेछ । १७ वटामध्ये चारवटा बस बुटवल भैरहवामा सञ्चालन गरिने प्रालिले जनाएको छ । सुन्दर यातायातले विगत दुई वर्षदेखि चारवटा बस सञ्चालन गरिरहेको छ ।
सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरिरहेको छ । काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । सुन्दर यातायातले थप १० वटा सार्वजनिक बस ल्याउँदै छ ।

साझा यातायातले चालू आर्थिक वर्षभित्रै ४० वटा विद्युतीय बस ल्याउँदै छ । ४० बसमध्ये तीनवटा चार महिनामा चीनबाट नेपाल ल्याइने साझाले जनाएको छ । तीनवटाको परीक्षणपश्चात् बाँकी बस निर्माण गरिनेछ । साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधर भन्नुहुन्छ “४० वटा बस चालू आर्थिक वर्षभित्रै सञ्चालन गर्न सकिन्छ । ”

साझाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस चीनबाट ल्याउन लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?