logo
२०८१ बैशाख ७ शुक्रवार



दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहण

अर्थ |


दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहण


काठमाडौँ, फागुन २३ गते । नेपाल विद्युत् प्राधिकरण मातहत निर्माण गर्न लागिएको दूधकोसी जलाशययुक्त आयोजनाको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोमबारदेखि लागू हुनेगरी चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४२१ कित्ता जग्गा अधिग्रहण गर्न आंशिक तथा पूर्ण रोक्का गरेको छ ।

आव २०७७/७८ को नीति तथा कार्यक्रममा सोही आर्थिक वर्षमा निर्माण थाल्ने भनिए पनि जग्गा अधिग्रहणका काम अझै सम्पन्न भइसकेको छैन । ६३५ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको काम इटलियन ठेकेदार कम्पनी ईएलसी इलेक्ट्रो कन्सल्टले गरिरहेको छ ।

सार्वजनिक सूचनाअनुसार चिसङ्खुगढी–१ को सबैभन्दा धेरै एक हजार १४९ कित्ता जग्गा रोक्कामा परेको छ । सो क्षेत्र साबिक कुइनेभीर गाविस हो । अधिग्रहणका लागि साबिक पोखरे गाविस पर्ने वडा नं. २ को २५३, वडा नं. ३ (साबिक दियाले गाविस)को ६०० कित्ता, वडा नं. ६ (साबिक भदौरे गाविस)को ३७१ र वडा नं. ७ (साबिक माम्खा गाविस)को ४८ कित्ता जग्गा अधिग्रहणका लागि रोक्का राखिएको हो ।

आयोजनाबाट तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलन छ । यसमध्ये जिल्ला प्रशासन कार्यालय खोटाङले रावाबँेसी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ । गत असार २२ गते सार्वजनिक सूचना जारी गरी अधिग्रहण प्रक्रिया सुरु गरेको थियो । कार्यालयले खोटाङको रावाबँेसी गाउँपालिकाका छवटा वडा र ऐँसेलुखर्क गाउँपालिकाका तीनवटा वडाअन्तर्गतका पूर्ण तथा आंशिक रोक्कामा पर्ने कित्ता र जग्गाधनीको विवरण सार्वजनिक गरेको थियो । अब सोलुखुम्बु जिल्लातर्फको जग्गा रोक्का गर्ने काम बाँकी छ ।

आयोजनामा स्वपुँजी २० प्रतिशत र ८० प्रतिशत ऋण लगानी गर्ने तयारी छ । आयोजनामा स्वपुँजी सरकार तथा नेपाल विद्युत् प्राधिकरणको हुने प्रस्ताव गरिएको छ । ऋणका लागि एसियाली विकास बैङ्कको नेतृत्वमा एआईबी, एआईईबी र कोरियन एक्जिम बैङ्कले सहवित्तीयकरणको मोडालिटीमा लगानी गर्ने विषयमा छलफल चलिरहेको छ ।

यो आयोजनाबाट दुई हजार ५०० घरधुरीलाई भौतिक तथा आर्थिक प्रभाव पर्ने देखिएको छ । बाँध क्षेत्र तथा विद्युत् गृहको संरचनाका कारण खोटाङको रावाबेँसी, ऐँसेलुखर्क र हलेसी तुवाचुङ प्रभावित हुने देखिएको छ भने ओखलढुङ्गाको चिसङ्खुदी, सोलुखुम्बुको नेचासल्यान र थुलुङ दुधकौसिका गाउँपालिका प्रभावित हुन्छन् ।


आयोजनाको बाँधकै कारण ९२० हेक्टर जमिन डुबानमा पर्नेछ । यसबाट एक हजार ५३१ मिलियन घनमिटर क्षमताको ताल बन्नेछ । बाँध खोटाङको बसेरी र ओखलढुङ्गाको बसौरेको बीचमा बनाउने तय भएको छ । यो आयोजनाको दुईवटा विद्युत्गृह बनाइनेछ । एउटा ३५ मेगावाट बाँध नजिकै बन्नेछ । अर्को ६०० मेगावाटको भूमिगत विद्युत्गृह सुनकोसीको किनार हलेसी तुवाचुङ–८, धितुङमा बनाइनेछ । विद्युतगृहसम्म पानी पु-याउन १३.४ किलोमिटर लामो सुरुङ बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?