विष्णुलाल बुढा
डोल्पा, माघ २३ गते । डोल्पाका विभिन्न उच्च बस्तीहरुमा हिमपात भएको छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको छ । जनजीवन चिसो बने पनि कृषकहरु भने निकै खुसी भएका छन् ।
यस जिल्लाका धो, साल्दाङ, छार्का, फोक्सुण्डो, पाहाडा, लिकु, हुम, रिमी, काइगाउँ, माझफाल, काइके, रह, सर्मी, होर्त, ओक्ट, तिन्जे, भिजेर, थाला, तिप्ला लगायतका विभिन्न उच्चबस्तिहरुमा बाक्लो हिमपात भएको छ ।
हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपातले पशुबस्तुहरुलाई काटेर राखिएको घाँस, नल हालेर गोठमै थुन्नुपर्ने भएको छ । पानी लिन धारासम्म जान कठिनाइ भएको त्रिपुरासुन्दरी नगरपालिका ११ का गणेशमान पुनले बताउनुभयो । उहाँका अनुसार उहाँको गाउँ हुममा १ फिट हिमपात भएको छ । हिमपात भए पछि आउजाउ गर्न र चिसो बढेर जनजीवन कष्टकर बने पनि बाली सप्रने र धुलोधुवाँ कमी आई रोगब्याधी हट्ने भएकाले किसानहरु खुसी भएका छन् ।
हिमपात भएपछि डोल्पाका सबै डाँडाकाँडाहरु सेताम्मे बनेका छन् । जता हे¥यो रमाइलो वातावरण बनेको छ । शुक्रवार विहानै हिउ जमेको छ भने अझै बादल फाटेको छैन । बेसीहरु दुनै, त्रिपुराकोट बगर, खदाङ, करवगाड लगायतका गाउँबस्तीहरुमा भने हिउ जम्न सकेन । हिउ नजमे पनि पानी परेकाले वातावरण निकै चिसो बनेको छ ।
हिमपात भएका बस्तीहरुमा मानिसहरु घरभित्रै बसेका छन् । हिमपातले केही दिन वातावरण स्वच्छ र सफा बन्ने भएको स्थानीयहरु बताउनु हुन्छ । हिमपातले लगाइएको जेठासे बालीमा केही राहत हुने र फागुनबाट लगाइने आलु लगायतका बाली लगाउन राम्रो भएको स्थानीय दलबहादुर थापा बताउनु हुन्छ ।