logo
२०८१ मंसिर ८ शनिवार

गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न बजार जानुपर्छ

पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-18-33946


गोकर्ण दयाल
बैतडी, चैत ५ गते । ‘गाउँपालिका नजिकै ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् गृह छ तर, गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न गोकुलश्वर बजार जानुपर्ने पीडा कस्ले बुझ्दिने ?’

यो भनाइ बैतडीको डिलासैनी गाउँपालिकाका–६, ने गाउँका युवा आशिष मालको हो । गाउँमा बिजुलीको माग गरे पनि विद्युत् विस्तारका लागि ल्याइएका पोल त्यत्तिकै अलपत्र छोडिएको उहाँले बताउनुभयो ।

चमेलिया जलविद्युत गृहबाट करिब चार किलोमिटर दूरीमा रहेको डिलासैनी गाउँपालिकाको ने गाउँका दुईसय घरपरिवारले विद्युत् उपभोग गर्न पाएका छैनन् । गाउँमा बिजुली नहुँदा माेबाइल चार्ज गर्न एक घण्टा हिँडेर गोकुलेश्वर बजारको देवझाडी पुग्नु पर्ने बाध्यता रहेको स्थानीय तिलकबहादुर मालले बताउनुभयो ।

मालले भन्नुभयो,“ गाउँमा बिजुली नहुँदा निकै मर्का खेप्नुपरेको छ । छेउमै जलविद्युत् आयोजना भए पनि गाउँमा दियालाे र टुकी बाल्नुपर्ने बाध्यता छ । मोबाइल चार्ज गर्न बजार जानुपर्छ । कुटानी पिसानीको काम गर्न पनि समस्या भएको छ ।”

गाउँमा बिजुली पु-याउन सरकारले बजेटको व्यवस्था गरेर टेण्डर आह्वान गरिएको भए पनि ठेकेदारको लापरबाहीले बिजुलीका पोल अलपत्र अवस्थामा रहेको स्थानीय आशिष मालले बताउनुभयो ।

बैतडी–दार्चुलाको सीमाना बलाँचमा ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि बैतडीका ३० हजार घरधुरीमा बिजुली पुगेको छैन । बैतडीमा ४५ हजार घरधुरी रहेका छन् । हालसम्म १५ हजार घरधुरीमा मात्र बिजुली पुगेको विद्युत् वितरण केन्द्र बैतडीको तथ्याङ्क छ ।

८० हजारभन्दा बढी जनसंख्या रहेको बैतडीको पुरचौडी र च्वाँगढ क्षेत्रमा अझै बिजुली पुग्न सकेको छैन । त्यसै गरी, एक लाख हाराहारी जनसंख्या भएको बैतडीको तल्लोस्वराड क्षेत्रमा पनि बिजुली पुग्न सकेको छैन । बिजुली नपुगेका गाउँमा अहिले पनि दियालाे र टुकी बाल्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

बैतडीमा पहिलो पटक २०४२ सालमा भारतबाट ११ केभी प्रसारण लाइनबाट जिल्ला सदरमुकाममा बिजुली पुगेको थियो । त्यसछि २०४७ सालमा बैतडीको पाटनमा सुर्नयागाड साना जलबिद्युतबाट दुईसय किलोवाट विद्युत् उत्पादन भएको थियो । २०५६ सालमा ३३ केभी राष्ट्रिय प्रसारणलाइन जोडियो । हालः ८ मेघावाटको अपी हाइड्रो पावर र ३० मेघावाटको चमेलिया जलविद्युत् आयोजना बनेपछि बैतडी जिल्लाको आकाशमाथिबाट फालाफाल बिजुली दाैडिन्छ तर, बैतडीका ३० हजार घरधुरी अँध्यारोमा  छन् ।

जिल्लाको च्वाँगढ, पुरचौडी,तल्लोस्वराड र डिलासैनी क्षेत्रका गाउँपालिकामा विद्युत् पुगेको छैन । विद्युत् नहुँदा अधिकाशं गाउँपालिकाको कामसमेत प्रभावित हुने गरको छ । फोटोकपी गर्न एक दिनको बाटो हिँड्नुपर्ने बाध्यता रहेको बैतडीको सिगास गाउँपालिका– १ का कृष्ण धामीले भन्नुभयो ।