अमृतप्रसाद पौडेल
बेनी, चैत ५ गते । हिमाली जिल्ला म्याग्दीको बेनी अस्पतालमा बिरामीको बेड–बेडमै अक्सिजन पु-याइएको छ । अस्पतालको बिरामी बेड नजिकै अक्सिजन पोर्ट जडान गरी अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट उत्पादित अक्सिजनलाई पाइपलाइनको सहायतामा बिरामीको बेडमै पुग्ने व्यवस्था बेनी अस्पतालले मिलाइएको हो ।
बिरामीलाई आवश्यकता परेको समयमा पाइपबाट आइरहेको अक्सिजनको प्रयोग गर्न सकिन्छ । गण्डकी प्रदेश सरकार, सांसद विकास कोष र बेनी अस्पतालको गरी कुल एक करोड २० लाखको लागतमा अस्पताल हाताभित्रै प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरिएपछि अस्पतालमा सिलिण्डर खोज्ने समस्याको समेत अन्त्य भएको छ । अस्पतालभित्रका ३० वटा बेडमा पाइपलाइनबाट सजिलै अक्सिजन आपूर्ति गर्ने गरिएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पताल परिसरमै अक्सिजन उत्पादन गरेपछि जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा सिलिन्डर बोकेर बेडमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको छ । उहाँले केही संरचना र उपकरणहरु अझै थप्ने तयारी रहेको बताउँदै अक्सिजन भर्नकै लागि सिलिण्डर लिएर पोखरा लैजानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ८५ लाख, सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगंगा गाउँपालिकाबाट १४ लाख रूपैयाँ, बेनी अस्पतालले उपकरण तथा भवनमा १० लाख रुपैयाँ लगानी गरिएको छ । अक्सिजनको अत्यधिक खपत हुने आईसीयु, इमर्जेन्सी, नियमित बिरामीलाई भर्ना हुने बेडहरूमा अक्सिजनको सहज सेवा प्रदान भएपछि बिरामीहरु समेत उत्साहित बनेका छन् ।
अक्सिजन उत्पादन केन्द्रको फागुन अन्तिम साता गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो । मन्त्री पुन भन्नुहुन्छ –‘जटिल रोगको उपचारलाई जिल्लामै सम्भव हुने गरी पूर्वाधार विस्तार गर्ने पहल गरिएको बताउँदै दुईवर्ष यता अस्पतालमा धेरै परिवर्तनहरु भएको बताउनुभयो । पाइपलाइनसँगै ठूला–साना अक्सिजनको सिलिण्डर समेत पर्याप्त मात्रामा व्यवस्था गरिएकोले श्वासप्रश्वास, आईसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताउनुभयो ।
हावालाई प्रशोधन गरेर अक्सिजनलाई चारवटा सिलिण्डरमा भर्न मिल्ने उपकरणहरु जडान गरिएको छ । मेसिनसँगै सिधै बेडमा जान आवश्यक पर्ने १२ ठूलो सिलिन्डर र आकस्मिक प्रयोगका लागि २ वटा र १० वटा मौज्दातमा रहेको अस्पतालले जनाएको छ । विगतमा अक्सिजनको अभावले धेरै बिरामीलाई कम्तीमा पोखरासम्म लैजानुपर्ने बाध्यता थियो ।
विसं २०७२ सालमा ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा मिर्गौलाका बिरामीका लागि नियमित डायलासिस सेवा, भेन्टिलेटिरसहितको सघन उपचार कक्ष, उपचारमा प्रयोग हुने औजार, शव राख्ने मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन लगायतका संरचनाहरु थप गरिएको छ ।