अभय श्रेष्ठ
‘खुसी आफूसँग रहुन्जेल मान्छेलाई थाहै हुँदैन । गुमिसकेपछि यो कति अमूल्य थियो भनेर ऊ पछुताउन थाल्छ,’ म्याक्सिम गोर्कीको यस कथनलाई हामी स्वास्थ्यसँग जोड्न सक्छौँ । शरीरमा समस्या नआउन्जेल मान्छे जे पायो त्यही गर्छ । रोगले गाँजेपछि बल्ल उसलाई स्वास्थ्य कति महत्त्वपूर्ण रहेछ भन्ने बोध हुन्छ । त्यसैले त बुद्ध भन्छन्, ‘जे पायो त्यही, जहाँ पायो त्यहीँ, जसरी पायो त्यसरी, जुन बेला पायो त्यही बेला, जति पायो त्यति खानेलाई मार (रोग)ले त्यसैगरी सताउँछ, जसरी मकाएको बूढो रूखलाई आँधीले गर्लामगुर्लुम ढलाउँछ ।’
सन्तुलित भोजन
स्वास्थ्यको पहिलो सर्त नै सन्तुलित भोजन हो । हाम्रो शरीरको पोषणका लागि नभई नहुने पाँच तत्त्व छन्– कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, चिल्लो र खनिज । त्यसैगरी पेट र शरीरका अङ्ग सफा राख्न नभई नहुने दुई तŒव हुन् रेसा (फाइबर) र पानी । चामल, गहुँ, मकै, आलु, कोदो, जौलगायत अन्नबाट कार्बोहाइड्रेट पाइन्छ । मासु, माछा, फुल, गेडागुडी आदिबाट प्रोटिन पाइन्छ । फलफूल, हरिया सागपात, सुख्खा फल, घाम आदिबाट भिटामिन तथा खनिज अनि तेल, बोसो, घिउ आदिबाट चिल्लो पाइन्छ । चोकरयुक्त खाना, ताजा सागपात, गेडागुडी आदिबाट रेसा पाइन्छ । खानेपानी, दही, मही, रसिला फलफूल आदि पानीका स्रोत हुन् ।
कार्बोहाइड्रेटले शरीलाई ऊर्जा दिन्छ । प्रोटिन र चिल्लोले हड्डी र मांसपेशी बलियो बनाउँछन् । भिटामिन र खनिजले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् । रेसा र पानीले पाचन प्रक्रिया मजबुत बनाउँछन् अनि शरीरका सबै अङ्ग सफा राख्छन् । खाना खाँदा हाम्रो पेटलाई चार भागमा विभाजित गर्नु उपयुक्त हुन्छ । त्यसमा दुई भाग ठोस कुरा र एक भाग तरल पदार्थ, बाँकी एक भाग ठाउँँ खाली छाड्नुपर्छ । यसले पाचन प्रक्रिया बलियो हुन्छ । यसरी मात्रा र सबै तत्त्व मिलेको भोजन नै सन्तुलित भोजन हो ।
हाम्रो जिब्रो स्वादे छ । अधिकांश सहरियाको नियमित खाना भनेको मासु, मासको बाक्लो दाल, तेलमा बेस्सरी तारेको आलु र भात हुन्छ । साग र ताजा अचार तिनका भान्छामा छुटिरहेको हुन्छ । अझ मासु पनि कबाफ, डीप फ्राइड आलुको भुजरी र बाक्लो मासको दाल त हुनेखानेको रवाफै भइहाल्यो । हरियो तरकारी हरेक छाक अनिवार्य चाहिन्छ । मासु हुँदा त छुटाउनै हुँदैन । तर, धेरैलाई मासु हुँदा सागपात खानु मासुकै अपमान भएझैँ लाग्छ । अनि तिनै मान्छे थलथले जिउ घटेन भनेर बिग्रेको टेपरेकर्डझैँ कराइरहेका हुन्छन् । मासु र मासका दाल अत्यधिक प्रोटिनयुक्त खाद्य । आलु र भात कार्बोहाइड्रेट । यहाँनिर प्रोटिन र कार्बोहाइड्रेट दुवै डब्बल भए, भिटामिन, खनिजतत्त्व र फाइबर झन्डै गयल । यस्तो खानाले वजन बढ्नु र स्वास्थ्य बिग्रनु अनिवार्य हो । नियमित रूपमा दाल वा क्वाँटी, भात वा रोटी अनि साग र अचार तथा मौसमी फलफूल खाँदा हाम्रो शरीरलाई आवश्यक सबै तत्त्व सजिलै प्राप्त हुन्छन् ।
भान्छाका औषधि
प्राकृतिक चिकित्साले उपचारभन्दा बढी रोकथाममा जोड दिन्छ । हाम्रो भान्छा र वातावरणमा नियमित उपलब्ध हुने यस्ता प्राकृतिक औषधि छन्, जसले शरीर तन्दुरुस्त राख्छन् र रोग निरोध शक्ति बढाउँछन् । शरीर तन्दुरुस्त भए हत्तपत्ती रोग लाग्दैन । लागे पनि गलाउन सक्दैन ।
कागती
भान्छामा कहिल्यै छुटाउनु नहुने जीवन्त प्राकृतिक औषधि हो– कागती । कोरोनाकालमा कोरोना लागेका र नलागेका सबैले दिनको कम्तीमा दुईपटक हट लेमन खानुपर्छ । तर, हट लेमन वा हट लेमन विथ हनी बनाउँदा उम्लिएको पानी मनतातो भएपछि मात्र मह र कागती निचोरेर राख्नुपर्छ । पहिल्यै गिलासमा कागती र मह राखी उम्लिएको पानी खन्याउँदा दुवै चीजमा भएका भिटामिन र खनिज तत्त्व क्षय हुन्छन् । तिनका अल्कलाइन तत्त्व क्षय भएर एसिडिक बन्न पुग्छ । खानामा अल्कलाइन तत्त्वको मात्रा ८० प्रतिशत र एसिड २० प्रतिशत हुनुपर्छ । मासु, फुल, रक्सी, तारेको तरकारी आदिका कारण एसिडिक तत्त्व बढी भइरहेको हुन्छ । हट लेमन वा कागतीको सर्वतमा चिनी राख्नु राम्रो होइन । अझ नुन र चिनी दुवै राख्नु झनै खराब । यसले कब्जियत हुन्छ । हट लेमनमा सबैभन्दा राम्रो बीरे नुन वा सख्खर । सर्वतमा पनि ।
कागती भिटामिन सीको भण्डार हो । यो हाम्रो शरीरका लागि अत्यन्त आवश्यक भिटामिन तथा एन्टीअक्सिडेन्ट हो । यसले रोगसँग लड्ने क्षमता (इम्युन सिस्टम) बलियो पार्छ । छालालाई सधैँ स्वस्थ राख्छ । कागती नियमित खाँदा मुटुको रोग, क्यान्सर, किड्नीको पत्थरी, मधुमेह र गिजा पाकेर रगत निस्कने रोगको खतराबाट जोगाउँछ । भिटामिन सीको कमीले स्कर्भी भन्ने रोग लाग्छ । यसले रातो रक्तकोषमा कमी, छाला र गिजाबाट रगत बगिरहने, कपालको स्वास्थ्यमा समस्या हुने स्थिति आउँछ । सुरुमा कमजोरी महसुस हुने, थकाइ लाग्ने र हातखुट्टा दुख्ने हुन्छ । स्कर्भी बढ्दै जाँदा घाउ हत्तपत्ती निको नहुने अनि सङ्क्रमण तीव्र हुने र रगत बगिरहने समस्या आउँछ । यस अतिरिक्त कागती पोटासियम र भिटामिन बी ६ को राम्रो स्रोत हो । पोटासियमले उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्छ र मुटुलाई स्वस्थ राख्छ । बी ६ ले खानालाई ऊर्जामा परिणत गर्छ । यसबाहेक कागतीबाट फ्रक्टोज, क्याल्सियम, म्याग्नेसियम, फोलेट, प्यान्टोथेनिक एसिड, भिटामिन बी १, बी २, पनि पाइन्छ । यसको बियाँमा समेत लेमोनाइड भन्ने क्यान्सरनिरोधक तत्त्व हुन्छ ।
लसुन
क्यालोरी अत्यन्त कम, भिटामिन र खनिज पदार्थ उच्च हुनाले लसुन बहुमुखी औषधि हो । लसुन भिटामिन बी ६ को राम्रो स्रोत हो । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ र पाचन प्रक्रियालाई चुस्त राख्छ । भिटामिन सीका साथै फोस्फोरस, क्याल्सियम, पोटासियम, आइरन र कपरजस्ता खनिज तŒव प्रशस्त हुनाले लसुनलाई प्राकृतिक प्रतिजैविक (एन्टिबायोटिक) पनि भनिन्छ । खानासँग वा खाली पेटमा दिनको कम्तीमा दुईपटक तीन÷तीन बिजुला स्थानीय लसुन नियमित खाँदा रोग निरोधक क्षमता उच्च हुन्छ । ग्याससम्बन्धी रोग लाग्दैन । लागे पनि निको हुन्छ । लसुनले घाउ चाँडै निको पार्छ, मांसपेशी बलियो बनाउँछ, यौनशक्ति बढाउँछ, उच्च रक्तचाप ओराल्छ र मुटुलाई बलियो पार्छ । रगत बाक्लो हुने मान्छेलाई दिइने एस्पिरिनको काम लसुनले नै गर्छ । घाँटीको समस्या, कलेजोको विकार, मधुमेह, पेटको जुका, पाचन प्रक्रिया आदिको प्राकृतिक उपचारमा समेत लसुनको प्रयोग अत्यन्तै फाइदाजनक हुन्छ ।
क्वाँटी
क्वाँटी नेपालभाषाको क्वातीको अपभ्रंश हो, जसको अर्थ हुन्छ– तातो झोल । काठमाडौँ उपत्यकाका ज्यापू सम्प्रदायका नेवारले वर्षाको चिसो हटाउन खान सुरु गरेको क्वाती सामान्यतया नौथरी गेडागुडी भिजाएर उमारी, ज्वानो झानी बनाइएको तातो झोलयुक्त तरकारी हो । क्वाती नियमित खाने हो भने तीन/चार थरी गेडागुडी भिजाएर उमारे पनि पुग्छ । खानामा नियमित मास वा मुसुरोका दाल त सबैले खाने गरेकै हो । त्यसको साटो क्वाती खानु अति राम्रो । कोरोना लागेका व्यक्तिले त दुई÷दुई घण्टामा एक गिलास क्वाती खान सके चाँडै निको हुने रहेछ । कलाकार तथा इलुस्ट्रेटर अशोक श्रेष्ठलाई वैशाख अन्तिम साता कोरोना पोजिटिभ देखियो । डाक्टरले तातो सुप, अझ प्रोटिनयुक्त सुप प्रशस्त खुवाउनु भनेपछि उनलाई प्रत्येक दिन तीन–तीन घण्टाको फरकमा कर गरेरै क्वाती, हट लेमन, फलफूलको रस र खानामा तीन बिजुला काँचो लसुन नियमित दिइयो । पाँचौँ दिनदेखि उनको शरीर निकै तङ्ग्रेर आयो ।
टुसाएका गेडागुडी सजिलै पचाउन सकिने, उच्च पोषक तŒव भएको प्रोटिनका राम्रो स्रोत हो । यसले मुटुलाई स्वस्थ राख्छ । इन्सुलिनको मात्रा प्रशस्त हुनाले टाइप टु मधुमेहको जोखिमलाई पनि हटाउँछ । ज्वानो र प्रशस्त रस राखिने हुनाले युरिक एसिडका बिरामीले समेत सन्तुलित मात्रामा खाँदा हानि गर्दैन । यसमा प्रोटिन, फोलेट, म्याग्नेसियम, फोस्फोरस तथा भिटामिन सी र के प्रशस्त पाइन्छ । भिटामिन केले हाडको उचित विकास गर्छ । रगत जमाउन र शरीरका अन्य प्रक्रियालाई पनि सुचारु राख्छ ।
सागपात र फलामको कराइ
हाम्रो शरीरमा रगत उत्पादनका लागि फलाम तŒव आवश्यक हुन्छ । शरीरमा फलाम तŒवको कमी भयो भने रक्तअल्पता (एनिमिया) हुन्छ । यो समस्या धेरैजसो महिलामा हुन्छ । अझ एनिमिया भएका महिलालाई कोरोना भयो भने ठूलै समस्या हुन्छ । त्यसैले कोरोनाविरुद्ध लड्न आइरन निकै महŒवपूर्ण छ । हेमोग्लोबिन उत्पादनमा पनि ७० प्रतिशत भूमिका आइरनकै हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषमा पाइने एकप्रकारको प्रोटिन हो । यसले रगतमार्फत शरीरका सम्पूर्ण अङ्गमा अक्सिजन पु¥याउँछ र कार्बनडाइअक्साइड बाहिर निकाल्छ । रगतमा हेमोग्लोबिन कमी हुँदा मुटुले अतिरिक्त काम गर्नुपर्छ र असाधारण तरिकाले ढुकढुकी बढ्छ । सास पनि राम्ररी फेर्न सकिन्न । त्यसले मुटुको ढुकढुकी असाधारण तरिकाले बढ्न जान्छ । टाउको दुख्ने, सास राम्ररी फेर्न नसक्ने, छाला पहेँलो हुने, हातखुट्टा चिसो हुने, कमजोरी महसुस हुने, कान थर्कने, रिङ्गटा लाग्ने आदि समस्या देखापर्छन् । शरीरमा आइरन पर्याप्त नभए हेमोग्लोबिनको मात्रा कम हुँदै जान्छ । माछा, मासु, भटमासका परिकार, छोगडा, दाख, टिमिलालगायत सुख्खा फल, बदाम, काजु, ओखर, फर्सीको बियाँ आदि हेमोग्लोबिनका अन्य राम्रा स्रोत हुन् । फलाम र किटको भाँडामा पकाएको तरकारी, भाँडा घोटीघोटी पकाएको कालो दाल, ढिँडो वा अन्य खानाबाट पर्याप्त मात्रामा आइरन प्राप्त हुन्छ । माछा, मासु, फुल, हरियो केराउ, पालुङ्गो, ब्रोकाउली, टुसाएका गेडागुडी, लट्टे, लुँडे, बेथे, कर्कलो, गाढा रङका सागपातबाट पनि प्रशस्त आइरन पाइन्छ ।
घाम
पश्चिमा तरुनी–तन्नेरीहरू नुहाएपछि सर्पजस्तै घाममा पसारिएको दृश्य हामीलाई उत्ताउलो लाग्छ । तर, यसरी सुत्दा शरीरमा घाममार्फत प्रशस्त भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डीले रोग प्रतिरोध क्षमतालाई उच्च राख्ने हुनाले कोरोना भाइरससँगको सङ्घर्षमा यसलाई उपयोगी मानिएको छ । भिटामिन डीको सुलभ र राम्रो स्रोत घाम हो । डाक्टरहरूले घाम प्रशस्त ताप्न सुझाव दिनुको कारण यही हो । स्वस्थ मान्छेले गर्मीमा बिहान ९ बजेसम्म र जाडोमा दिनैभरिको कुनै पनि समय कम्तीमा आधा घण्टा देखाउन मिल्नेसम्म शरीर खोलेर घाम ताप्दा धेरै फाइदा हुन्छ । धेरैले खासगरी युवती र किशोरीहरू बिहानैदेखि अनुहारमा घाम छेक्ने क्रिम लगाउँछन् । यसले बिस्तारै तिनका शरीरमा भिटामिन डी कम हुन थाल्छ । भिटामिन डी कम हुँदा सङ्क्रामक रोगले चाँडै समात्छ । शरीरले क्याल्सियम, म्याग्नेसियम र फोस्फेट लिन सक्दैन जसका कारण बिस्तारै हाड बाङ्गिन, दाँत र मांसपेशी कमजोर हुन थाल्छ । साथै बीपी उच्च हुनेलगायत मुटुका अन्य रोगको पनि उच्च जोखिम हुन्छ । सूर्यको किरण हाम्रो छालामा पर्दा यो ‘डी थ्री हार्मोन’मा परिणत हुन्छ । यसले शरीरलाई स्वस्थ, स्फूर्त बनाइराख्न मद्दत गर्छ भने खुसीको हार्मोनलाई पनि सक्रिय राख्छ । घाम लाग्दा रमाइलो लाग्ने र बादल लाग्दा दिक्क लाग्ने कारणै यही हो ।
प्राणायाम
शारीरिक श्रम, कसरत वा योग आसन आदिले फोक्सोलाई स्वस्थ राख्छ । तपसिलका तीनथरी सरल प्राणायामले त फोक्सोलाई सदैव जीवन्त राख्छन्–
लामो, गहिरो श्वास
हरियाली वा धूलो नउड्ने, सवारी नचल्ने र निर्मल हावा चल्ने ठाउँमा गहिरो लामो श्वास लिनुस्, एकछिन रोक्नुस्, (दम, प्रेसर, मुटुका रोगीले नरोक्नुस्) । सकिन्छ भने तानेकोभन्दा बढी समय लगाएर बिस्तारै श्वास बाहिर फाल्नुस्, पाँच–सात मिनेट । दिनको कम्तीमा दुईपटक यो अभ्यास गर्नुस् । यसले शरीरका हरेक अङ्गमा अक्सिजन पु¥याउँछ । फोक्सो, मुटु, मिर्गाैला बलियो र ताजा बनाउँछ । रिसलाई नियन्त्रणमा राख्छ । कार्बनडाइअक्साइडलगायत शरीरका सारा विकार बाहिर फ्याँक्छ ।
कपालभाती
ढाड, कम्मर सिधा पारेर बस्ने । मुख बन्द गरेर नाकबाट श्वास फाल्ने । यसो गर्दा नाइटोनिरको भाग भित्र पसेको हुनुपर्छ । मुख बन्द गरेर खोकेजस्तो गर्दा ठ्याक्क तरिका मिल्छ । कम्तीमा पाँच मिनेट गर्ने । यसले शरीरभित्रका विकार र टक्सिन फाल्छ अनि फोक्सो र मुटुलाई बलियो पार्छ । फोक्सोको सबै छिद्रलाई खुलाउँछ । यौनशक्ति वृद्धि गर्छ । यौनजीवन सफल हुनेको शरीर त्यसै स्वस्थ हुन्छ । (रामदेव वा अन्य आधिकारिक योगगुरुको युटुब हेर्नुहोस् ।)
अनुलोम–विलोम
स्वच्छ र स्वस्थ हावा बहने ठाउँमा ढाड, कम्मर सिधा पारेर बस्ने । बायाँ नाकबाट लामो, गहिरो तर हलुका तरिकाले श्वास लिने । सकिन्छ भने एकैछिन रोक्ने (दम, मुटुका रोगीले नरोक्ने) । अनि दायाँ नाकबाट सकिन्छ भने तानेकोभन्दा बढी समय लगाएर फाल्ने । अब दायाँबाट तान्ने र बायाँबाट फाल्ने । यहीक्रम पालैपालो कम्तीमा छ÷सात मिनेट गर्ने । यसले फोक्सो, मुटु र घाँटीलाई स्वस्थ बनाउँछ । फोक्सोका सारा छिद्र खोल्छ । रगतमार्फत शरीरका सारा अङ्गमा अक्सिजन पु¥याउँछ । हेमोग्लोबिनलाई पनि सन्तुलित राख्छ ।
(आधिकारिक योगगुरुको युटुब हेर्नुहोस् ।)
अकुप्रेसर
यो प्राकृतिक चिकित्साको सबैभन्दा सरल वैकल्पिक उपाय हो । यसमा हात वा खुट्टामा हुने शरीरभित्रका विभिन्न अङ्गको प्वाइन्टमा दबाब दिएर ती अङ्गको उपचार गरिन्छ ।
फुर्सद हुँदा, गाडीमा बस्दा नाक र दाँत कोट्याउनुको साटो फोक्सोको अकुप्रेसर प्वाइन्ट अर्थात् दुवै हातका माझी र अनामिका (साँइली औँला) को बीच कापमा दिनको तीनपल्ट पचास÷पचासपटक थिच्नुस्
(हेर्नुस् ः तस्बिर) । यसले फोक्सोको सारा विकार बाहिर फाल्छ र बन्द छिद्रलाई खोल्छ । मुटुको प्वाइन्ट अर्थात् देब्रे हातको कान्छी औँलाको जीवनरेखामाथि पनि त्यति नै पटक थिच्नुस् (तस्बिर) । यसले मुटुलाई स्वस्थ राख्छ । त्यसपछि दाहिने हातको कान्छी औँलाको त्यही ठाउँमा थिच्नुस् । यो कलेजोको प्वाइन्ट हो । यसले कलेजोलाई स्वस्थ राख्छ र पाचन प्रक्रिया बलियो बनाउँछ । (स्रोत ः डा. दर्वेश, फ्रिडम फ्रम हस्पिटल अभियन्ता, प्राकृतिक चिकित्सक, नोयडा, नयाँदिल्ली)
अन्त्यमा
कोरोना चर्किएको बेला दुई कुरामा विशेष ध्यान दिऊँ–
१. मबाहेक सबै सङ्क्रमित हुन सक्छन् भनेर सतर्क होऊँ । स्वास्थ्यका सबै सावधानी अपनाऊँ ।
२. आफूलाई लाग्न दिन्नँ, कथम् लागिहाले अरूलाई सर्न दिन्नँ भनेर मन, वचन र कर्मले प्रतिबद्ध होऊँ । आफू पनि चाँडो निको हुन्छु भनेर मनोबल उच्च राखौँ ।
(लेखक योग प्रशिक्षक तथा प्राकृतिक उपचारका अध्येता हुनुहुन्छ ।)