logo
२०८१ बैशाख १५ शनिवार



नक्कली नेपाली नाेट फेला पर्ने क्रम बढ्याे, सजगता जरूरी 

पढ्नै पर्ने |
खुला |


नक्कली नेपाली नाेट फेला पर्ने क्रम बढ्याे, सजगता जरूरी 


काठमाडौं, मङ्सिर ७ गते । विगतको इतिहास हेर्दा भारतीय नक्कली नोट नेपालमा फेला पर्ने गरेको भए पनि अहिले नक्कली नोट भेटिने क्रम बढेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरका अनुसार नेपालमा केही वर्षको विवरण हेर्दा अवैधरूपमा नक्कली नेपाली मुद्राको कारोबार भइरहेको देखिएको छ । उहाँले भन्नुभयो, 'पहिले नेपालमा भारतलगायत विदेशी मुद्राका नक्कली नोटहरू भेटिने गरे पनि अहिले नेपाली नक्कली नोट भेटिन थालेकाछन् ।' बेलाबेलामा नक्कली नोट भेटिएका समाचार बाहिर आइरहन्छ ।

कहिले नक्कली नोट मात्रै त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । यी विभिन्न घटनाक्रमले नेपालमा नक्कली नोटको करोबारको बढेको पुष्टि हुने उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार विगत तीन वर्षको विवरण हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा नक्कली मुद्राको मुद्दा संख्या २५ वटा रहेकोमा स्वदेशी पुरुष ४२, एक जना महिला र एक जना विदेशी पुरुष गरेर ४४ जना पक्राउ परेको प्रहरीको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ को कात्तिकसम्म १५ वटा मुद्दा परेका छन् । दुई जना विदेशी पुरुषसहित एक जना स्वदेशी महिला र २८ जना पुरुष पक्राउ परेका छन् । यो अवधिमा १०, २०, ५०, १००, ५०० र एक हजार रुपियाँका २६ हजार अवैध नेपाली नक्कली नोट बरामद भएको देखिएको नेपाल प्रहरीको तथ्याङ्क छ । विभिन्न ठाउँमा प्रहरीले बरामद गरेको नेपाली रुपियाँ बराबरको जाली नोट फेला पर्ने गरेको प्रवक्ता कुँवरले बताउनुभयो ।

राष्ट्र बैंकका सूचना अधिकारी तथा प्रवक्ता नारायणप्रसाद पोखरेलले भन्नुभयो, 'कतिपय अवस्थामा कारोबार गर्दा नक्कली नोट हात लाग्छ ।' कारोबारकै क्रममा भेटिए त्यो नोट बराबरको रकम दिनुपर्छ । उहाँका अनुसार करोबार गर्ने बेला फेला परेमा त्यो नोट बराबरको रकम दिने गरिएको छ ।

उहाँले भन्नुभयो, 'हामीहरु लामो समयदेखि पैसाको काम गर्ने भएकाले नोट गन्दा नै थाहा भइहाल्छ ।' उहाँले सामान्य सतर्कता अपनाए सर्वसाधारणले पनि नक्कली नोट चिन्नसक्ने बताउनुभयो । उहाँका अनुसार नक्कली नोट चिन्ने विभिन्न उपायहरु छन् ।

कसरी चिन्ने नक्कली नोट ?

राष्ट्र बैंकका प्रवक्ता पोखरेलका अनुसार नक्कली नोट हो भनेर चिन्ने विभिन्न तरिका हुन्छन् । सामान्यतया पैसा धेरै प्रयोग गर्ने बैंकका कर्मचारीले नक्कली नेट सजिलै थाहा पाउन सक्छन् । 'पहिले कागज खस्रो छ कि सामान्य छ भनेर हेर्ने, कटकट गरेर नोटलाई भाँच्ने, पछाडिबाट लाइट बालेर पानीछाप हेर्ने, सक्कली नोट हो भने पछाडिबाट लाइट बालेर हेर्दा देखिन्छ । अगाडिबाट फोटोकपी गरेर जोडिएको छ भने, नक्कलीमा पछाडिबाट लाइट बाल्यो भने देखिँदैन, ' पोखरेलले भन्नुभयो, 'हरेक नोटमा सगरमाथा हुन्छ, सगरमाथामा लाइट बालेर हेर्दा बल्यो भने त्यो सक्कली हो, बलेन भने त्यो नक्कली हो ।' गभर्नरको हस्ताक्षर र नोटको नम्बर हेर्न सुझाव दिँदै नक्कली नोट हो या सक्कली थाहा पाउन सकिने उहाँले बताउनुभयो ।

नोट छाप्ने कागज, व्यवस्थापन गर्दादेखि नै सुरक्षाका उपाय बैंकले अपनाउने गरेको पनि पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, 'नोट छाप्ने कम्पनीलाई पानीछाप राख्ने तरिका, बत्ती बल्दा देखिने कुरालगायतका सुरक्षात्मक उपायहरू राख्न सुरुमै जानकारी गराउछौँ ।' सक्कली नेपाली नोटको कागज खस्रो हुने र पानी हाल्दा पानी बगेर जाने र नक्कलीमा त्यस्तो नहुने उहाँले बताउनुभयो ।

सामान्य खालको नक्कली नोट सर्वसाधारणले चिन्न सक्नेहुन्छ । कतिपय अवस्थामा सर्वसाधारणले नक्कली नोट चिन्न सक्दैनन्र । तर वित्तीय प्रणालीमा भित्रिएका नक्कली नोटहरू प्रायः पहिचान हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार ठूलो रकम नगदमा कारोबार नगरेर बैङ्किङ प्रणाली अपनाउँदा नक्कली नोटको खतराबाट बच्न सकिने सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?