logo
२०७९ असोज १९ बुधवार

  रेस्टुरेन्ट रिभ्यू  



‘ससः’ अर्थात् ससुराली खाजाघर

खुला |


‘ससः’ अर्थात् ससुराली खाजाघर


कीर्तिपुर आफैँ गुल्जार छ । नेवारी बस्ती र संस्कृति त्यहाँको एउटा पहिचान हो भने त्रिभुवन विश्वविद्यालय परिचय हो । पाँगा दोबाटो, कीर्तिपुरको चर्चित ठाउँ । पाँगा दोबाटो हुँदै सानासाना तीनवटा पोखरीलाई दायाँ छोडेर अगाडि बढ्दा ढल्पा चोक पुगिन्छ । ढल्पा चोकबाट थोरै अगाडि बढ्दा ओरालो बाटो आइपुग्छ । त्यही ओरालोबाट बाँया लाग्दा नेवारी शैलीमा बनेको रेष्टुरेन्टले ध्यान खिच्छ । आफ्नै संस्कृति र पहिचान बोकेको रेष्टुरेन्टको ठूलो मूलढोका आकर्षक छ । मूलढोकाको दायाँबायाँ नेवारी पहिरनमा सजिएर उभिएका दुई युवकले न्यानो स्वागत गर्छन् । रेष्टुरेन्टमा प्रवेश गर्ने बित्तिकै नेवारी पहिरनमा सजिएकी युवती बसेको ठाउँमा पुगिन्छ । आफ्नै शैलीमा स्वागत गर्दै युवतीले आगन्तुकको नाम, नम्बर र सङ्ख्या दर्ता गरेपछि रेष्टुरेन्टको पाहुना बनिन्छ ।

रेष्टुरेन्ट भन्ने बित्तिकै प्लेट र चम्चाको ठूलठूलो आवाज, किचनको कल्याङमल्याङ दिमागमा परिहाल्छ । तर, युवतीले नाम दर्ता गरेपछि अगाडि बढ्दा दायाँबायाँ पाटीपौवा । पार्टीपौवाले रेष्टुरेन्ट पुग्ने आगन्तुकलाई फरक अनुभूति गराइहाल्छ । ढोकाको दायाँपट्टी गणेशको मन्दिर, मन्दिर अगाडि दियोको पाला । मन्दिरको बायाँतर्फको ढुङ्गेधाराले थप रोमान्चकता नबढाउने कुरै भएन । अन्य ठाउँका ढुङ्गेधारामा नागलगायत मुकुट देखिन्छन् । तर, यहाँका ढुङ्गेधारामा राँगाको टाउकोको आकृति देख्न पाइन्छ । ढुङ्गेधारा छेउमा इनार पनि छ । रेष्टुरेन्टको यो अर्को आकर्षण हो ।

धेरै रेष्टुरेन्टमा किचन र भान्सेलाई आगन्तुकले नदेख्ने गरी गोप्य कोठमा राखिएको हुन्छ । तर, मुल ढोकाबाट चार पाइला अगाडि बढ्दा दायाँतर्फ नेवारी पहिरनमै नेवारी परिकार पकाइरहेका भान्से देखिन्छन् । त्यसको बायाँतर्फ खाली पाटीपौवा । पाटीपौवाबाट केही खुड्किला माथि चढेपछि ‘बार’ आउँछ । जहाँ नेवारी छ्याङ, अ‍ैला, हुक्का तथा अन्य पेय पदार्थ सजिएका छन् । यो पछिल्लो समय निकै चर्चामा आएको कीर्तिपुरको नेवारी रेष्टुरेन्ट ‘ससः त्वाः’ भित्रको दृश्य हो ।

‘ससः’ नेवारी शब्द हो । यसको नेपाली अर्थ ससुराली हो भने ‘त्वाः’ को अर्थ टोल । ‘ससःत्वाः’ अर्थात् ससुराली टोल । जसरी ज्वाइँलाई ससुरालीमा सेवा सत्कार गरिन्छ, त्यसरी नै यहाँ आउने आगन्तुको सत्कार हुन्छ । कीर्तिपुरको शान्त वातावरणमा बनेको ‘ससः त्वाः’ चार रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

‘ससः त्वाः’ को अर्को आकर्षण फोटो खिच्ने ठाँउ हो । जमनै सेल्फीको छ । ‘ससः त्वाः’ मा पुगेपछि सेल्फी नखिच्ने त कुरै भएन । सेल्फीको ‘पोज’ कस्तो हुन्छ तपाईं फेसबुक ‘स्क्रोल’ गर्नेलाई भन्नै पर्दैन । फोटो खिच्ने ठाँउलाई ‘लाइभ म्युजिक’ ले थप रोमान्चक बनाएको छ । त्यसको मजा छुट्टै ।

ससः त्वाः मा आएका ग्राहकले परालको गुन्द्रीमाथि चकटीमा बसेर विभिन्न नेवारी परिकारको स्वादमा आनन्द लिएको देख्न सकिन्छ । जहाँ सबै परिकार नेवारी शैलीमा बनाएको हुन्छ । उपत्यकामा ‘नेवारी खाजा’ भनेपछि त्यत्तिकै चर्चित भइहाल्छ । स्वादको कुरा नगरौँ । मसँगै पहिलो पटक त्यहाँ पुगेका केही साथीले ससः त्वाः मा हेर्दा खाउखाउ लाग्ने केही परिकारको स्वाद सोचे जस्तो नभएको अनुभूति सुनाए । मान्छे अनुसार स्वभाव र जिब्रो अनुसार स्वाद । सबैलाई नेवारी परिकार मन नपर्न पनि सक्छ । तर, नेवारी खानपानका पारखीका लागि यसलाई एउटा गन्तव्य मान्न सकिन्छ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?