logo
२०८१ बैशाख ७ शुक्रवार



नुवाकोटमा कैदीबन्दी सार्ने अन्तिम तयारी, दुई महिना लाग्‍ने

पढ्नै पर्ने |
खुला |
प्रदेश |


नुवाकोटमा कैदीबन्दी सार्ने अन्तिम तयारी, दुई महिना लाग्‍ने


काठमाडौं, माघ १४ गते । नुवाकोटको विदुर नगरपालिकामा निर्माण भएको कारागारको भौतिक संरचना निर्माणको काम लगभग सकिएसँगै कैदीबन्दी सार्ने तयारी सुरु भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले कैदी सार्ने तयारी धमाधम भइरहेको बताउनुभयो । माघ–फागुनभित्रै कारागार सार्ने काम हुन्छ । यो अवधिमा सार्न नसकिए यो वर्षभित्रै अनिवार्य सार्ने योजना अनुसार काम भइरहेको छ । कैदीबन्दीका लागि सुरक्षाको आवश्यकता धेरै पर्ने भएकाले सार्न ढिला भएको उहाँको भनाइ छ ।

कारागार सुविधा सम्पन्न बन्ने भएकाले अस्पताल, सुरक्षा, प्रशासन निमार्णलगायतको काम बाँकी छ । सात हजार कैदीबन्दी अटाउने क्षमता भएको कारागार निर्माणको काम लगभग सकिए पनि काठमाडौंबाट कुन कारागार सार्ने भन्ने कुरा छलफलकै क्रममा रहेको महानिर्देशक दाहालले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म कुन जेल सार्ने भन्ने टुङ्गो लागिसकेको छैन । ‘यसको लागि छलफल गर्दैछौँ, अबको केही दिनमा टुङ्गो लाग्छ,’ महानिर्देशक दाहालले भन्नुभयो, ‘कारागारमा कैदीबन्दी धेरै अट्ने क्षमता छ, व्यवस्थापनको जिम्मेवारी पनि धेरै हुन्छ, त्यसकारण कारागार सार्ने काममा समय लागेको हो ।’

कारागार निर्माणका लागि खम्पा क्याम्पमा रहेको करिब पाँच सय ३४ रोपनी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भएर शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत करिब ४२ करोड रुपियाँको लागतमा निर्माण भएको हो । यसका लागि सुरक्षा, यातायात र कारागार कार्यालयको व्यवस्थापन हुनेबित्तिकै कारागार सार्न सकिने उहाँको भनाइ छ ।

२०७० साल चैत २० गतेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निर्माण भएको कारागारमा सात हजार कैदीबन्दी अट्ने क्षमता छ । कारागारमा खेल मैदान, अस्पताल, विद्यालय, क्याम्पस, पुस्तकालय, सीप प्रवर्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने कार्यालय व्यवस्थापन विभागले जनाएको छ ।

नेपालमा धेरैजसो कारागारको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधारसमेत छैन । धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । केन्द्रीय कारागारमा पुग्दो शौचालयसमेत नरहेकाले अहिले न्यूनतम आधारभूत मानवीय पूर्वाधारसहितको कारागार नुवाकोटमा निर्माण भएको हो ।

केन्द्रीय कारागार सुन्धारामा कैदीबन्दीको सङ्ख्या बढेपछि बिरामी हुने कैदीबन्दी बढेर बेला–बेलामा समस्या उत्पन्न हुने गरेको छ । जेलर डोरेन्द्र निरौला अनुसार कारागारमा प्यारालाइसिसका बिरामी मात्रै झण्डै दुई सय छन् । मानसिक रोगका बिरामीको सङ्ख्या त्यस्तै छ । केन्द्रीय कारागारमा कैदीबन्दी स्याहार्ने, औषधि उपचार गर्ने, खानपिनको व्यवस्थालगायतको समस्या छ । कैदीबन्दीको सङ्ख्याअनुसार व्यवस्थासहित निर्माण भएको नुवाकोट कारागारमा केन्दीय कारागारलाई पनि सार्न सकिने जेलर निरौला बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?