logo
२०८१ बैशाख १४ शुक्रवार



मोबाइल सेट चोरीमा गिरोह नै सक्रिय, ९० प्रतिशत फेला पर्दैनन्

पढ्नै पर्ने |
खुला |


मोबाइल सेट चोरीमा गिरोह नै सक्रिय, ९० प्रतिशत फेला पर्दैनन्


काठमाडौं, माघ २० गते । मोबाइल सेट एउटा सानो यन्त्र हो तर अहिले यो आम मानिसको सञ्चारको माध्यम बनेको छ । अहिले सामान्य काम गरेर जीविका गर्नेदेखि सम्पन्न सबैको हातहातमा मोबाइल फोनको सेट हुन्छ । मोबाइल हराएमा भेटिने क्रम एकदमै न्यून छ । मोबाइल हराएमा भेटिने सम्भावना भने एकदमै न्यून रहने गरेको प्रहरी परिसर टेकुका प्रमुख सुदीप गिरीले बताउनुभयो ।

उहाँका अनुसार मोबाइल एउटा माध्यम बन्न सफल भएको छ । तर मोबाइल चोरी गर्ने गिरोहको हातमा हराएको वा चोरिएको मोबाइल परेमा भेटिने चान्स एकदम न्यून हुन्छ । ‘हराएको मोबाइल नेपालमै छ भने कुनै न कुनै दिन त्यसमा सिम हालिन्छ र त्यो ट्रयाक गरेर फेला पार्न सकिन्छ, तर धेरैजसो मोबाइल, गिरोहले भारततिर पठाउने हुन्छ, सीमा कटेपछि फेला पर्ने सम्भावना कम हुन्छ,’ उहाँले भन्नुभयो ।

विभिन्न मितिमा चोरी भएका तथा हराएका मोबाइल सेटहरु महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं तथा मातहतका प्रहरी वृत्त–प्रभागहरुबाट खोजतलासका लागि उजुरी दिने गरेका छन् । उजुरी दिएका मध्ये फेला परेको मोबाइल सेटहरु सम्बन्धित धनीलाई प्रहरीले जिम्मा लगाउँदै आएको छ ।

सम्बन्धित मोबाइल धनीहरुले आ–आफ्नो मोबाइलको कागजपत्र इन्टरनेशनल मोवाय इक्युपमेन्ट आइडन्टिटी (आइएमईआइ) नम्बर साथमा लिई महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा सम्पर्क गर्ने गरेका छन् । तीमध्ये वर्षको १० देखि १३ प्रतिशतसम्म वर्षमा मोबाइल फोन फेला पर्ने गरेको परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार मोबाइल चोरी गर्ने गिरोह नै सक्रिय रहने कारणले हराएको मोबाइल फेला पर्ने सम्भावना कम हुन्छ । मोबाइलको मद्दतले टाढा होस् वा नजिक, देशमा होस् वा विदेशमा एकै क्षणमा कसैसँग पनि कुरा गर्न सकिन्छ । यसको सहायताले हामी कुरा मात्र होइन अरु कतिपय काम पनि गर्न सकिने हुन्छ । ‘अहिले महँग–महँग मोबाइलहरु भित्रिएकाले मोबाइल चोरी हुन्छ, जुन मोबाइलले सजिलै धेरै काम गर्न सकिने हुन्छ,’ प्रवक्ता मैनालीले भन्नुभयो ।

मोबाइलको सहायताले सन्देशहरु आदानप्रदान गर्न सकिन्छ । मोबाइल फोन रेडियो तरङ्ग प्रयोग गरेर बिटिएससँग (नजिक रहेको टावर) सम्पर्क गर्ने गर्छ । यसका लागि मोबाइल फोन–मोबाइल टर्मिनलले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछ । त्यस कारण मोबाइल जहाँ रहे पनि नेपाल टेलिकमको सहायताले नेपालमा रहेको मोबाइल प्रहरीले फेला पार्न सक्ने उहाँको भनाइ छ ।

तीन आर्थिक वर्षमा कति हराए.

आर्थिक वर्ष २०७५/७६ मा १६ हजार १९ वटा निवेदन दर्ता भएको छ । जसमा दुई हजार १९९ वटा मोबाइल फेला परेको छ भने १३ हजार खोजतलासको क्रममा छ । यो हराएका मोबाइलमध्ये १३.७३ प्रतिशत भेटिएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा १२ हजार ५६७ वटा निवेदन दर्ता भएकोमा एक हजार ३८० वटा मोबाइल फेला परेको छ भने ११ हजार १८७ खोजतलासको क्रममा छ । यो हराएका मोबाइल मध्ये १०.९८ प्रतिशत भेटिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ४६४ वटा निवेदन दर्ता भएकोमा एक हजार १२१ वटा मोबाइल फेला परेको छ भने आठ हजार ७६८ खोजतलासको क्रममा छ । यो हराएका मोबाइलमध्ये १०.९४ प्रतिशत भेटिएको हो ।

आर्थिक वर्ष २०७८/७९ को हालसम्म आठ हजार ८१२ वटा निवेदन परेको छ । जसमा तीन सय १९ वटा मोबाइल फेला परेको छ । आठ हजार ४९४ वटा खोजतलासको क्रममा रहेको प्रहरी परिसर टेकु, काठमाडौंको तथ्याङ्क छ ।

यो अवधिमा ४६ हजार ८६२ वटा मोबाइल हराएको निवेदन परेको छ । जसमा पाँच हजार १९ वटा मोबाइल फेला परेको छ । ४२ हजार २६९ वटा मोबाइलको खोजीमा प्रहरी छ ।

यसरी विभिन्न समयमा भाडाकारमा छुटेको मोबाइल फोन ट्राफिक प्रहरीको सक्रियातामा फेला पारी हस्तान्तरण गरेको छ । सम्बन्धित मोबाइल धनीको निवेदनको आधारमा महानगरीय प्रहरी कार्यलय रानीपोखरीको शाखामा रहेको सिसिटिभी फुटेजको सहायताले खोजतलास गर्दा पनि मोबाइल फोन फेला पर्ने गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?