logo
२०८१ बैशाख १७ सोमवार



झापाको कुकुर बनेपामा उपचार

दुई महिनाको अवधिमा एक लाख रुपियाँभन्दा बढी रकम उपचारमा खर्च भइसकेको छ

मुख्य समाचार |


झापाको कुकुर बनेपामा उपचार


काठमाडौँ, फागुन ९ गते । कुकुर झापाको उपचार भने काभ्रेपलाञ्चोकको बनेपामा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । झापाका एक जना पशुप्रेमीले पालेको कुकुरलाई बनेपामा ल्याएर नियमित उपचार गराइरहेका छन् । झापा बिर्तामोडका विनोद बस्नेतले आफूले पालेको कुकुरको उपचार गराउन झापाबाट बनेपा ल्याउने गर्नुभएको हो । सामान्य बिरामी परेमा पशु प्राविधिकसँग फोनबाटै परामर्श लिने गरे पनि पशु अस्पतालमा राखेर उपचार गराउनु परे पहिला पनि उहाँले काठमाडौँ ल्याउने गर्नुहुन्थ्यो । नियमित उपचार गराउने पेट केयरको शाखा बनेपामा नै भएकाले केही महिनादेखि भने उहाँले कुकुरको नियमित स्वास्थ्य परीक्षण बनेपाबाटै गराउन थाल्नुभएको छ ।

घरमा पालेको डोबरम्यान जातिको कुकुर दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते भएपछि बनेपा ल्याउनुभयो र यो प्रक्रिया आजसम्म जारी छ । ठक्करबाट कुकुरको पछाडिको खुट्टाको हड्डी भाँचिएको थियो । कुकुर घाइते भएपछि सुरुवाती उपचार झापामै गराउनुभयो । झापामा थप उपचार सम्भव नदेखेपछि उहाँले कुकुरको उपचार गराउन बनेपामै ल्याउन थाल्नुभयो ।

डुर्नाे नामकरण गरिएको कुकुरको खुट्टाको एक्स–रेमा हड्डीको शल्यक्रिया गर्नुपर्ने देखिएपछि अहिले काभ्रेपलाञ्चोकको बनेपामा रहेको बनेपा पेट कियरमा राखेर उहाँले उपचार गराइरहनुभएको छ । “डुर्नाे मेरो घरको सदस्य नै हो । घरको सदस्य घाइते भएर हिँड्डुल गर्न नसक्ने अवस्थामा पुगेपछि उपचार नगराई बस्न सकिएन,” उहाँले भन्नुभयो, “कुकुरले परिवारको निरन्तर सेवा गरेको, दिनरात नभनेर रक्षा गरेकाले पारिवारिक सदस्य घाइते बन्दा कठोर बन्न मिलेन ।”

कुकुरको उपचार गराउन उहाँले अहिलेसम्म एक लाख रुपियाँभन्दा बढी रकम खर्च गरिसक्नुभएको छ । दुई महिनादेखि निरन्तर अस्पताल भर्ना गराएर उपचार गराउँदा निकै खर्च हुँदा पनि उहाँ चिन्तित हुनुहुन्न, बरु कुकुर छिटो निको भए घरमा स्वागत गर्न आतुर रहेको बताउनुहुन्छ । “खर्चको विषय ठूलो होइन । घरको सदस्य बिरामी परेका बेला कसले पो खर्चको चिन्ता गर्छ ? छिटो निको होस् भनेर प्रार्थना गरिरहेको छ,ु” उहाँले भन्नुभयो । झापा निवासी बस्नेतका घरमा उच्च जातिका चारवटा कुकुर छन् ।

आफूले पालेका कुकुरको नियमित स्वास्थ्य परीक्षण गराउने, भ्याक्सिन लगाउने र उनीहरूको स्वास्थ्यप्रति सदैव सचेत रहने गरेको बताउँदै उहाँले कुकुर पाल्ने रहर गरेर मात्र हुँदैन, विशेष रेखदेख गर्नुपर्ने सल्लाह दिनुभयो । उपचारमा संलग्न पशु प्राविधिक सुमन चौंप्रधानले झापाबाट घाइते भएर ल्याइएको कुकुरको शल्यक्रिया सफल भएको र खुट्टामा पिन राखिएको बताउँदै भन्नुभयो, “केही दिनमा कुकुरलाई डिस्चार्ज गर्छाैं ।” पेट केयरमा देशभरिबाट उपचारका लागि कुकुर ल्याइने गरिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?