logo
२०८० चैत्र १६ शुक्रवार



जोडियो दुई टुक्रा भएको हात

स्वास्थ्य |
खुला |


जोडियो दुई टुक्रा भएको हात


काठमाडौँ,चैत २१ गते । पाँच वर्षीय एक बालकको छिनिएको हात जोडिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले १५ घण्टाभन्दा बढी समय लगाएर दुर्लभ शल्यक्रियामार्फत छिनालिएको हात जोडेका हुन् । घाँस काट्ने मेसिनमा च्यापिएर दुई टुक्रा भएको हातलाई शल्यक्रियामार्फत जोडिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरका प्लास्टिक सर्जन प्रा.डा. पियुस दाहाल नेतृत्वको चिकित्सक टोलीले धनुषा जाठीका पाँच वर्षीय बालक कुलदीप मण्डलको छिनालिएको दायाँ हात जोडेको हो । शल्यक्रिया गर्ने टोलीमा प्रा.डा. दाहालसहित डा. पशुपति पोखरेल, डा. महेश देवकोटा, डा. अपार लामिछाने, एनेस्थेसियालोजिस्ट डा. रुपेश यादवलगायतका चिकित्सक तथा नर्स हुनुहुन्छ । १५ घण्टाभन्दा बढी समय लागेको यो शल्यक्रियामा २५ वटा विभिन्न नसा र हड्डीको संरचना जोडिएको बताइएको छ ।

प्रा.डा. दाहालका अनुसार गत फागुन ९ गते तीन जना बालक खेल्दै गर्दा मेसिनमा परेर मण्डलको हात दुई टुक्रा भएको थियो । सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद जोशीका अनुसार हात छिनेपछि बालकलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । बालकका आमाबुवा दुवै दिल्लीमा रहेकाले छिमेकीले हातको टुक्रासहित प्रादेशिक अस्पताल जनकपुर लगेका थिए ।

बालकलाई जनकपुरमा प्राथमिक उपचार गरी तत्कालै ट्रमा सेन्टर ल्याइएको थियो । समयमा नै अस्पताल ल्याएका कारण हात जोड्न सफल भएको डा. दाहालले बताउनुभयो । प्रादेशिक अस्पताल जनकपुरले पनि उचित प्राथमिक उपचार गरेको हुँदा हात बिग्रनबाट बचेको थियो । फागुन ९ गते राति शल्यक्रिया गरेको भए पनि पूर्ण रूपमा सफल भएपछि मात्र आइतबार सार्वजनिक गरिएको दाहालले बताउनुभयो । “एनेस्थेसिया दिएर १५ घण्टासम्म राख्ने केस थिएन तर हामीले सम्भव ग-यौँ,” डा. जोशीले भन्नुभयो, “शल्यक्रिया गर्दा हरेक औँला बचाउनुपर्ने थियो ।”

अस्पतालले बालकको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको अस्पतालका प्रमुख डा. जोशीले जानकारी दिनुभयो । आईसीयू बेड, शल्यक्रियाको सबै चार्ज निःशुल्क गरिएको जानकारी दिँदै उहाँले नेपालमा पूर्ण छिनालिएको बालकको हात पहिलो पटक जोडिएको बताउनुभयो । अस्पतालले समूहगत रूपमा काम गरेकाले छिनालिएको हात जोड्न सफल भएको उहाँको भनाइ छ । अबको काम फिजियोथेरापीले गर्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?