logo
२०८१ जेष्ठ ३ बिहीवार



कोरोना प्रभाव: संसद् र अदालतको कारबाही स्थगनको तयारी

राष्ट्रिय |


कोरोना प्रभाव:  संसद् र अदालतको कारबाही स्थगनको तयारी


नारायण काफ्ले

काठमाडौँ, चैत ६ गते । कोरोना भाइरास (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनिरहेको छ । सम्भावित सङ्क्रमण नियन्त्रणका लागि सबै देशहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । चीनको वुहानबाट सुरु भएको सङ्क्रमण विश्वव्यापी बनेसँगै नेपालमा पनि सतर्कता बढाइएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले बुधबार सम्पूर्ण पठनपाठन स्थगितदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगितको निर्णयसमेत गरिसकेको छ । समितिले २५ जनाभन्दा बढी भेला हुन नहुने पनि निर्णय गरेको छ ।
सरकारले सतर्कता अघि बढाइरहेका बेला सङ्घीय संसद्को चालू अधिवेशन लामो समय अघि नबढाउने निर्णयमा संसद्का पदाधिकारी देखिनुभएको छ । यद्यपि अधिवेशन अन्त्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने हुँदा कुनै निर्णय भइसकेको छैन । बैठक भने अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी भइरहेको छ ।
चैत ७ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै, चैत ६ गते राष्ट्रिय सभा पनि बस्दैछ । चैत ७ गते पनि बैठक राख्ने तयारी छ । चैत ७ गतेपछि भने बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने तयारी गरिएको छ । सांसदहरूले समेत बैठक स्थगन गर्न माग गरिरहेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत ७ गतेपछि परिस्थिति हेरेर केही दिन बैठक स्थगित हुने बताउनुभयो । तिमिल्सिनाले अधिवेशन अन्त्यबारे पनि परामर्श नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अधिवेशन अन्त्यबारे त कुनै परामर्श तथा जानकारी आएको छैन तर चैत ७ गतेपछि परिस्थिति हेरेर केही दिन बैठक स्थगित हुन्छ । अर्को सूचनाबाट सूचित गर्ने गरी बैठक स्थगित गर्ने सोच छ । केही तत्काल प्रक्रियामा रहेका विधेयक पारितपछि केही दिन बैठक स्थगित हुन्छ ।’’
प्रतिनिधिसभा सभामुखले बैठक सञ्चालनबारे बिहीबार परामर्श गर्ने तयारी गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दलहरुसँग परामर्श बैठक बोलाउनुभएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले परामर्शपछि निर्णय गर्ने तयारी रहेको बताउनुभयो । न्यौपानेले भन्नुभयो, ‘‘बिहीबार सर्वपक्षीय छलफलपछि परिस्थितिअनुसार निर्णय हुन्छ । सम्माननीयज्यूले बिहीबार छलफलका लागि बैठक बोलाउनुभएको छ ।’’

अदालत पनि बन्दको तयारी
संसद्सँगै अदालत पनि केही दिन बन्दको तयारी थालिएको छ । बन्दीका मुद्दा र अत्यावश्यकबाहेक अन्य नियमित मुद्दाको पेसी स्थगितको तयारी सर्वोच्च प्रशासनले गरेको हो । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्न सर्वोच्च प्रशासनको ध्यानाकर्षण गराइसकेका छन् ।
दुवै बारको ध्यानाकर्षणबारे छलफल गर्न सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्टको बैठक शुक्रबार बोलाइएको छ । सर्वोच्चले शुक्रबारका लागि तोकिएको सबै पेसी भने स्थगित गरिसकेको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबार विस्तृत छलफलपछि आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुवै बारको ध्यानाकर्षण लगायतबारे छलफल गर्न शुक्रबार फुलकोर्ट बोलाइएको छ । शुक्रबारका दिनका लागि तोकिएका सबै पेसी स्थगित गरिएको छ । शुक्रबार थप निर्णय हुन्छ ।’’ सर्वोच्चले आइतबारदेखि नै सेवाग्राहीको तापक्रम परीक्षण गरेर मात्र अदालत प्रवेशको व्यवस्था मिलाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?