सविता शर्मा
काठमाडौँ, चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमको हरेक परिस्थितिमा तत्काल खटाउन सक्नेगरी युवा स्वयंसेवकको सूची तयार गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले बृहत् रूपमा युवा परिचालनको रणनीतिसहित यस्तो तयारी गरेको हो ।
चैत २४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्वयंसेवाका लागि युवाको सूची तयार गर्न लागेको बताएको छ । मन्त्रालय अन्तर्गतका राष्ट्रिय युवा परिषद्, खेलकुद परिषद्, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत स्वयंसेवाका लागि युवाको सूची तयार गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले विभिन्न चरणमा आउन सक्ने चुनौतीमा खटाउने उद्देश्यसहित सूची तयार गरिएको जानकारी दिनुभयो । उहाँले तुरुन्तै फिल्डमा स्वयंसेवक आवश्यक प¥यो भने उपलब्ध हुनेगरी तयार गरेका हौँ भन्नुभयो ।
यसैगरी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को संयोजकत्वमा यसका लागि समितिसमेत गठन गरिएको छ । अहिले पनि युवा परिषद् र स्काउट मार्फत युवा परिचालन भइरहेको जानकारी उहाँले दिनुभयो । गत फागुन २२ गते नै मन्त्री स्तरीय बैठकबाट युवा परिषद्, खेलकुद परिषद् र स्काउट परिचालन गर्न आह्वान गरिएको जानकारी दिनुभयो ।
परिषद्को आह्वान
राष्ट्रिय युवा परिषद् अन्तर्गत वडा, नगर, प्रदेश र सङ्घीय स्तरमा गठित युवा क्लब अन्तर्गत गठित युवा सञ्जालमा आबद्ध युवा परिचालन गर्न आह्वान गरिसकेको छ । राष्ट्रिय युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले अहिले पनि स्थानीय सरकारको समन्वयमा युवा स्वयंसेवकले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले सम्बन्धित क्षेत्रको स्थानीय सरकारसँग समन्वय गर्नेगरी त्यस क्षेत्रका युवा परिचालन गरिएको बताउनुभयो ।
परिषद्ले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को निर्देशनको पालना गरी नागरिकलाई सचेत गराउन युवालाई आह्वान गरिएको बताउनुभयो । तीनै तहका सरकारको निर्णय पूर्ण पालना गराउन, दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित गर्न सघाउन स्वयंसेवकको भूमिका तोकिएको छ ।