logo
२०८१ मंसिर ८ शनिवार



गुमनामको सुनाम

विचार/दृष्टिकोण |


गुमनामको सुनाम


नारद गौतम
शिक्षा प्राप्त गर्ने ठाउँलाई शिक्षालय, विद्यालय, पाठशाला आदि नामले पुकारिन्छ । पञ्चायतकालमा विद्यालय स्थापना गर्न साह्रै कठिन थियो । चेतनाको अभाव थियो, विद्यालय खुले पनि अध्ययन गर्ने विद्यार्थी थोरै हुन्थे । असल काम र सबैको भलो चिताउने व्यक्ति समाजमा थोरै हुन्छन् । अहिले पनि नेपालका धेरै ठाउँमा विद्यालयका लागि पहल गर्ने व्यक्ति नहुँदा हजारौँ बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित नै छन् । फरक यति छ पञ्चायत कालमा बजेट पाउनै कठिन थियो, अहिले बजेटको अभाव छैन । स्थानीय, प्रदेश र सङ्घीय सरकारले त्यस्ता ठाउँमा विद्यालय स्थापना गर्ने कार्यलाई तीव्रता दिएका छन् । कतिपय स्थानमा विद्यालय छन् तर बसाइँ सराइका कारण अध्ययन गर्ने विद्यार्थीको कमी छ ।
ओखलढुङ्गा जिल्लाको दक्षिणी भेगमा रहेको भगवती माध्यमिक विद्यालय त्यस्तै एक स्कुल हो, जसमा स्थानीयको पसिना मात्र हैन शिक्षाप्राप्तिको उत्कट चाहनाको प्रतिनिधित्व पनि गर्छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकाको वडा नं. ५ मा अवस्थित यो विद्यालय पूर्वी तथा दक्षिणी तराईबाट विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश गर्ने स्थलमार्गका रूपमा परिचत सिद्धिचरण राजमार्गसँगै रहेको छ । विद्यालय मानेभन्ज्याङ बजारको केन्द्रमा अवस्थित छ । विद्यालयको पूर्वमा दूधकोशी र पश्चिममा मोलुङखोला आसपासका मनोरम बस्ती छन् भने उत्तरमा ओखरबोट, तिलपुङ भन्ज्याङ र बालेथुम्का डाँडो र दक्षिणमा आरुबोट, काफलडाँडोजस्ता आवादी क्षेत्र छन् ।
पर्वतको शिखरबाट अवलोकन गर्दा विद्यालय निकै मनमोहक ठाउँमा देखिन्छ । लेकदेखि बेँसीसम्म, गाउँदेखि बजारसम्म सबैलाई पायकपर्ने स्थानको छनोट गरी साविक मानेभन्ज्याङ, थाक्ले, टोक्सेल र माधवपुर गाउँ पञ्चायतको केन्द्रबिन्दु मानेभन्ज्याङमा वि.सं. २०१७ चैतमा यस विद्यालयको स्थापना भएको हो । सुरुमा राष्ट्रिय प्राइमरी स्कुल स्थापित यो स्कुललाई क्रमिकरूपमा माध्यमिक विद्यालयसम्म बनाउने श्रेय अर्गबहादुर राई तथा स्वर्गीय टङ्कबहादुर अधिकारी र स्व. आशाजित मगरलाई जान्छ ।

आफ्नो जग्गा बेचेर विद्यालय
सुरुमा ४८ फिट लामो भवन निर्माण गरी पठनपाठन सुरु भएको थियो । यसै भवनमा केही वर्षसम्म शिक्षा प्रदान गर्ने कार्य चल्यो । सोही विद्यालय विभिन्न उतार चढाव पार गर्दै प्राइमरी स्कुलबाट माध्यमिक विद्यालय बन्न सफल भयो । विद्यालय स्थापना गर्ने अर्गबहादुर राई आज पनि जीवित हुनुहुन्छ । उहाँले विद्यालय स्थापना गर्न आफ्नै जग्गासमेत बेचेर विद्यालय भवन बनाउन सहयोग गर्नुभएको रहेछ  । २०७८ वैशाख १० गते ओखलढुुङ्गाको मानेभन्ज्याङमा आयोजित भगवती माध्यमिक विद्यालयको शुुभ हिरक जयन्ती महोत्सवमा भेट्दा उहाँ निकै हर्षित हुनुहुन्थ्यो ।
वि.सं. २०१५ मा बहुदलीय व्यवस्थाको पहिलो आम निर्वाचनका क्रममा मतदान केन्द्र रहेका स्थानमा सम्भव भएसम्म एक विद्यालय स्थापना गर्ने बीपी कोइराला नेतृत्वको सरकारको नीति थियो । हालको विद्यालय रहेको स्थानभन्दा निकै टाढा बस्ने अर्गबहादुर राईले स्थानीय कुलबहादुर अधिकारीको सहयोग लिई मानेभन्ज्याङमा विद्यालयको बीजारोपण गर्नुभयो । मानेभन्ज्याङ आसपासका क्षेत्रबाट सबैले आपूmसँग खर, बाँस आदि जे उपलब्ध हुनसक्छ, जम्मा गरी श्रमदानबाट र केही ज्यालामा समेत कार्य गरी कटेरो (विद्यालय भवन) निर्माण भयो । प्रारम्भमा १२० जना विद्यार्थी जम्मा गरी पठनपाठन प्रारम्भ भयो ।
विद्यालय सञ्चालनको अनुमति प्राप्त भएपछि चारओटै पञ्चायत (मानेभन्ज्याङ, माधवपुर, थाक्ले र टोक्सेल) का स्थानीय भद्र भलादमीहरूले मानेभन्ज्याङका तत्कालीन प्रधानपञ्च कुलबहादुर अधिकारीले राष्ट्रिय प्राइमरी स्कुललाई ‘भगवती प्राइमरी स्कुल’ भनौँ भनी राखेको प्रस्तावलाई सबैले सहमति जनाएपछि विद्यालयको नाम ‘भगवती’ रहन गएको हो । भगवती विद्यालय र पृथ्वी हाईस्कुलको स्थापना अलग–अलग भई केही समय पढाइ भए पनि पृथ्वी हाईस्कुल अगाडि बढ्न सकेन तर भगवतीको यात्रा सहज ढङ्गले निरन्तर अगाडि बढेको छ । २०२५ साल चैतमा निजी क्षेत्रबाट पृथ्वी हाईस्कुलको स्थापना भएको पाइन्छ । सबैले चन्दा सहयोग, मुष्ठिदान, श्रमदान जुटाई मानेभन्ज्याङमा रहेको गोदाम घरमा यस विद्यालयको स्थापना गरी कक्षा ६ देखि कक्षा ८ सम्मको पठनपाठन सुरु गरेका थिए । त्यहाँ मानेभन्ज्याङ, माधवपुर, थाक्ले र टोक्सेलका चारै पञ्चायत र ती पञ्चायतमा बसोबास गर्ने सहयोगी स्थानीयबासीका अतिरिक्त आसपासका क्षेत्रमा बसोबास गर्नेहरूले पनि सहयोग गरे । तर विद्यालय लामो समयसम्म चल्न सकेन । पृथ्वी हाईस्कुल २०२५ देखि २०२८ सम्म सञ्चालनमा आएर बन्द भयो । यद्यपि सँगै स्थापित भगवती प्राइमरी स्कुल भने निरन्तररूपमा अगाडि बढ्यो ।

पन्ध्र तोला सुनको गुन
निमावि स्तरोन्नति, अवनति र पुनः कक्षोन्नति हुँदै माध्यमिक तह, उच्च मावि र फेरि माविको रूपमा रहेको छ । भगवती निमाविलाई २०३८ सालमा माध्यमिक तहको अनुमति लिने क्रममा बैङ्क धरौटीका लागि रकम अभाव हुँदा टङ्कबहादुर अधिकारीको आग्रहमा मनका धनी व्यक्तित्व आशाजित मगरले १५ तोला सुन बैङ्कमा धितो राखेर आएको नगदबाट माविको स्वीकृति लिइयो । आफैँले रोपेर हुर्काएको विद्यालयको हिरक महोत्सव हेर्ने सुअवसर अर्गबहादुर राईलाई मात्रै मिल्यो । टङ्कबहादुर अधिकारी, आशाजीत मगर, टीकाबहादुर राई, कुलबहादुर अधिकारीलगायतका व्यक्तित्वले आफ्नै जीवनकालमा यो महोत्सवको सुखद् दृश्यावलोकन गर्न पाउनुभएन । मावि स्थापना गर्ने टङ्कबहादुर अधिकारीले आफ्नै गाउँ माधवपुरमा लगेको भए पनि हुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । सबैलाई पायकपर्ने स्थान मानेभन्ज्याङ नै रोज्नुुभयो । त्यसअघि चारै पञ्चायतको केन्द्रबिन्दु मानेभन्ज्याङमा नै विद्यालय स्थापना गराउन अर्गबहादुर राई र टीकाबहादुर राईको भूमिका अनुकरणीय छ ।
दुुई दिने महोत्सवको पहिलो दिन वैशाख ९ गते प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबुु गुरुङले शिक्षा क्षेत्रमा विशेष योगदान पुु-याउनु भएका पूर्व शिक्षकहरूलाई सम्मानित गर्नुभयो । शिक्षक समाज परिवर्तनका बाहक हुन् र शिक्षा प्रदान गराउने ईश्वरसमानका गुरुको खोजी हुनुु स्वाभाविक पनि थियो । विद्यालय स्थापना गर्ने र त्यसलाई फलाउने फुुलाउने र त्यो विद्याको मन्दिरमा पढाउने गुरुहरूको सम्मान र स्मरण गर्ने कार्य भगवती माविका प्रधानाध्यापक नारायणप्रसाद बास्तोला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुुमार राईले गरेर स्तुुत्य कार्य गर्नुभएको छ ।
विद्यालयको इतिहास जनश्रुतिमा सीमित थियो, लिखित दस्तावेज छरपस्ट थिए, भएका पनि विद्यालयको कुनै कुनामा धूलोले पुरिएका थिए । २०१७ सालदेखि हालसम्म कति विद्यार्थीले अध्ययन गरे भन्ने अध्यावधिक अभिलेख छैन । २०४१ सालदेखि हालसम्म माध्यमिक शिक्षा पूरा गर्ने विद्यार्थीको मात्रै अभिलेख प्राप्त भएकाले ‘भगवती’ नामक स्मारिकामा विद्यार्थीको नाम लिपिबद्ध हुनसकेको छ । डा. गोपीकृष्ण गौतमको अथक प्रयास तथा पत्रकारहरू गणेश राई, नारद गौतम, गजुरधन राई, अर्जुन गौतम, कुम्भराज राईलगायतको प्रयासले विद्यालयको ६० वर्षको इतिहास कोरिएको छ । ज्यादै थोरै मानिसलाई थाहा रहेछ–विद्यालयको संस्थापक अर्गबहादुर राई हुनुुहुन्छ भन्ने । स्मारिका प्रकाशनकै दौरानमा विद्यालयका पूर्व शिक्षक र पूर्व प्रधानाध्यापकहरूको नालीबेली खोज्ने कार्य भयो । गुनाममा रहेका धेरै व्यक्तिले गरेका सुकीर्ति सार्वजनिक भएका छन् । विगत ६० वर्षमा विद्यालयबाट हजारौँ विद्यार्थी प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न, विभिन्न पेशा र व्यवसायमा संलग्न छन् । यस विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका जनशक्ति अहिले सरकारी तथा गैरसरकारी सङ्घ संस्थामा उच्च ओहदामा पुगेका छन् भने कोही विद्यालय तथा विश्वविद्यालयमा अध्यापनरत छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा क्षेत्रमा कार्यरत छन् ।

अर्गको उच्च सम्मान
कार्यक्रमका प्रमुख अथिति नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विद्यालयका संस्थापक अध्यक्ष अर्गबहादुर राईलाई सम्मानित गर्नुभयो । ‘बाँचे स्वर्ग देखिन्छ’ भन्ने भनाइ राईको जीवनमा चरितार्थ भएको छ । टहरोबाट पढाइ सुरु गराउनुु भएका अर्गबहादुरले आफैँले नयाँ आधुनिक पक्की भवन हेर्न पाउनुभयो । दुुई तले १६ कोठे भवनको निर्माण भने ब्रिटिश वेल्फेयर ट्रस्ट रुम्जाटारले गरेको हो । डा. यादवले भवनको समुुद्घाटन र हिरक महोत्सव स्मारकको अनावरण गर्नुभयो । नयाँ भवन बनाउने श्रेय पूर्व विद्यार्थी तथा ट्रस्टमा कार्यरत श्यामकुमार राई र तत्कालीन प्रधानाध्यापक गुरुप्रसाद ढुुङ्गानालाई जान्छ ।
विद्यालय स्थापनाका लागि अतुलनीय योगदान पु-याउनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू अर्गबहादुर राई, आशाजित मगर, टीकाबहादुर राई, टङ्कबहादुर अधिकारी, कुलबहादुर अधिकारी, परशुराम अधिकारी, मोतीराज राई, हिराकाजी रानामगर र रामकुमार राईप्रति उच्च सम्मान छ । यसैगरी, उदयपुरका टीकाबहादुर राई, जनबहादुर राई, धिमिलेका इच्छालाल राई, मानेभन्ज्याङका भैरवबहादुर रानामगर, विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य लक्ष्मीप्रसाद बास्कोटा, जिल्ला विकास समितिका तत्कालीन सभापति महेश कोर्मोचा, पूर्वमन्त्री होमनाथ दाहाल र नेपाली सेनाका पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालको योगदानलाई सम्मान गर्नैपर्छ । त्यस्तै, थाक्ले हिलेपानी निवासी वीरसिं राई, मानबहादुर राई, जयबहादुर राई, थाक्लेका भवनाथ बाँस्कोटा, देवीप्रसाद बाँस्कोटा, लेखराज दाहाल, तल्लो रिचुवा निवासी खम्बसिं मगरलगायतका महानुभावको सहयोगको जति प्रशंसा गरे पनि कमै हुन्छ । टोक्सेलका पदमप्रसाद गौतम, होमनाथ अधिकारी, केदारप्रसाद गौतम, मोदनाथ गौतम, टेकप्रसाद ढुङ्गाना, राघवपुर निवासी वृद्धिमान मगर, बखतबहादुर मगरलगायतको योगदान पनि सराहनीय छ ।
यस्तै, राजनीतिकरूपमा सहयोग गर्नुहुने पूर्वमन्त्री बलबहादुर राई, पूर्व राज्यमन्त्री गोपाल राई, संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडा, नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य किशोर अधिकारीलगायतको योगदानलाई बिर्सन मिल्दैन । त्यस्तै, विद्यालयका प्रधानाध्यापकहरू तिलप्रसाद खनाल, जंगबीर राई, लङ्कबहादुर अधिकारी, लेखबहादुर राई, भीमबहादुर अधिकारी, इन्द्रबहादुर अधिकारी, शिवकुमार अधिकारी, मधुसुदन ओझा, गुरुप्रसाद ढुङ्गाना तथा गुरुहरू धीरानन्द दाहाल, कपिलमुनि दाहाल, मयनाथ दाहाल, यमप्रसाद खड्कालगायत नमनीय हुनुहुन्छ । 
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?