logo
२०८० चैत्र १६ शुक्रवार

   काँग्रेसको १४औँ महाधिवेशन  



महाधिवेशन तयारीमा काँगेस बैठक

मुख्य समाचार |


महाधिवेशन तयारीमा काँगेस बैठक


शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक २४ गते । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पूर्ण रूपमा महाधिवेशनको तयारी केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा परिमार्जन नहुने भन्दै आउँदो मङ्सिर २४ गते महाधिवेशन उद्घाटन गरिने जानकारी दिनुभयो । काँग्रेसले महाधिवेशन प्रक्रियाअन्तर्गत राजधानीको भृकुटीमण्डपमा मङ्सिर २४ देखि तीन दिनसम्मका लागि हल बुकिङ गरिसकेको छ । मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ । महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि गरिसकेको छ ।
काँग्रेसले महाधिवेशन तयारीअन्तर्गत जिल्ला निर्वाचन सम्पन्न हुन बाँकी रहेका जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । रौतहटबाहेक ६३ जिल्लामा निर्वाचन अधिकृत खटाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले रौतहट जिल्लाको क्रियाशील सदस्यताको विवाद भने मिलाउन बाँकी छ । रसुवाको भने क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर प्रतिनिधि खटाइएको छ । अब निर्वाचन अधिकृतले पार्टीको जिल्ला समिति र निर्वाचन समितिसँगको समन्वयमा जिल्ला अधिवेशनसम्मको काम पूरा गर्ने जानकारी निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिनुभयो । १४औँ महाधिवेशनअन्तर्गत हालसम्म विभिन्न १३ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । पार्टीको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ । जिल्ला अधिवेशन मङ्सिर १० गते तोकिएको छ । यसैबीच, काँग्रेसको १४औँ महाधिवेशनमा परम्परागत शैलीकै मतदान गरिने भएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ (विद्युतीय मतदान)को तयारीबारे अहिलेसम्म खासै तयारी तथा छलफल नभएकाले परम्परागत हिसाबले नै मतदान गरिने भएको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले अहिलेसम्म निर्वाचन समिति र पार्टीबीचमा विद्युतीय मतदानको विषयमा कुराकानी नभएकाले परम्परागत शैलीमै मतदानको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले केन्द्रीय महाधिवेशनको पूर्वघोषित कार्यतालिका आउन अब चार साता मात्र बाँकी रहेकाले विद्युतीय मतदानका लागि समयसमेत अपुग हुने बताउनुभयो । महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग हुन नसकेपछि प्रदेशस्तरमा समेत यसको प्रयोग नहुने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि काँग्रेसले पहिलो पटक प्रदेशस्तरको पार्टीको संरचना बनाउन लागेको हो ।
पार्टीमा पाँच हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएकाले पनि यसका लागि धेरै तयारी गर्नुपर्ने अवस्था रहेको छ । एउटा महाधिवेशन प्रतिनिधिले सभापति पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि एक सयभन्दा बढी उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले पनि विद्युतीय मतदानको प्रबन्ध गर्न समस्या भएको भनाइ निर्वाचन समितिको छ ।

कार्यकर्ता अनशनमा
नेपाली काँग्रेसमा सबै जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लागेर महाधिवेशन तयारीमा जुटे पनि रौतहटको समस्या समाधान हुन सकेको छैन । क्रियाशील सदस्यताको विवाद किनारा लाग्न नसक्दा जिल्लाका एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता लामो समयदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनरत रहेको पाइएको छ । जिल्लाको क्षेत्र– १ मा काँग्रेसका कार्यकर्ताभन्दा फोरम सम्बद्ध कार्यकर्ताले धेरै क्रियाशील सदस्यता पाएको विरोधमा कार्यकर्ताहरू विगत ११० दिनदेखि अनशनमा बसेका हुन् ।
पार्टी कार्यालय सानेपामा अनशनमा बस्नुभएका पूर्वमहाधिवेशन प्रतिनिधि नवलकिशोर शाहले क्षेत्र– १ का कुल ४१ वटा वडामध्ये ३१ वडामा पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिइएको जानकारी दिनुभयो । क्रियाशील सदस्यताको वितरणमा चरम धाँधली गरिएका कारण आफूहरू अनशनमा बस्न बाध्य भएको उहाँको भनाइ छ । पार्टीमा लामो समयदेखि काम गरेका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएको गुनासो उहाँले गर्नुभयो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका एकाइ समितिका अध्यक्ष नरुल हकले पार्टीमा क्रियाशील सदस्यतामा अनियमितता गरेपछि आफूहरू पार्टी कार्यालयमा धर्नामा बसेको बताउनुभयो । लामो समय भइसक्दा समेत समस्या समाधानमा नेताहरूले खासै चासो नदिएको दुःखेसो अनशन बसेका नेता कार्यकर्ताको छ । यसबीचमा पार्टी सभापति शेरबहादुर देउवासित भेट गरेर कुरा राख्न नपाएको गुनासो गाउँपालिकाका अध्यक्ष हकले गर्नुभयो । पार्टीका १२ जना नेता हाल पार्टी केन्द्रीय कार्यालयको मुख्य प्रवेश द्वारमा अनशनमा छन् । महाधिवेशन प्रतिनिधि उदयकान्त यादव, जिल्ला कोषाध्यक्ष रामश्रीष शाह, भोगेन्द्र झा, देवचन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्ता अनशनमा रहनुभएको छ । पार्टीका मुख्यसचिव पौडेलले बाँकी विवाद मिलाउन छानबिन समितिले काम गरिरहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?