logo
२०८१ बैशाख ७ शुक्रवार



भारतस्थित बीपीको सालिक संरक्षणको पहल

मुख्य समाचार |


भारतस्थित बीपीको सालिक संरक्षणको पहल


सुन्दरीजल (काठमाडौँ), चैत १९ गते । नेपाली काँग्रेसका संस्थापक स्व. बीपी कोइरालाको भारतस्थित पटनामा रहेको सालिकको स्थायित्व र संरक्षणका लागि तत्काल पहल गर्न बिहारका विधान सभा सदस्य प्रा.डा. वीरेन्द्रनारायण यादवले माग गर्नुभएको छ । उहाँले बिहार राज्य सरकारसमक्ष संरक्षणको लिखित माग गर्नुभएको हो ।

बीपीको सालिक संरक्षण संवद्र्धनका लागि बीपी सङ्ग्रहालय सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलको प्रतिनिधि मण्डलले पटकपटक ध्यानाकर्षण गराएपछि विधान सभा सदस्य यादवले सरकारसँग लिखित धारणा माग गर्नुभएको हो । यसअघि पोखरेल नेतृत्वको टोलीले गत फागुन दोस्रो साता गरेको पटना भ्रमणका क्रममा भारतीय नेताहरूलाई यस विषयमा ध्यानाकर्षण गराएको थियो ।

बीपी कोइराला भारतको स्वतन्त्रताका लागि बेलायती शासनविरुद्धको भारत छोडो आन्दोलनमा सहभागी हुनुभएको थियो । स्वतन्त्रतापछि भारतका प्रथम राष्ट्रपति बन्नुभएका डा. राजेन्द्रप्रसादसँग बीपी कोइराला भारतको स्वतन्त्रता आन्दोलनमा हजारीबाग जेलमा बस्नुभएको थियो । उक्त कुरालाई यादवले स्मरण गराउनुभएको छ ।

हजारीबाग जेलमा मात्रै बीपी तीन वर्ष छ महिना बस्नुभएको थियो । पटक पटक गरेर झन्डै चार वर्ष बीपी भारतको जेलमा बस्नुभएको जानकारी सङ्ग्रहालयका अध्यक्ष पोखरेलले दिनुभयो । बीपी १५ वर्षकै उमेरमा भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुभएको थियो । भारत स्वतन्त्र हुने भएपछि बीपीलगायत भारतीय नेताहरूलाई अङ्ग्रेज सरकारले रिहा गरेको थियो ।

भारतको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै सन् १९९४ मा बिहारको राजधानी पटनामा बीपीको सालिक बनाइएको थियो । बीपी धर्मपत्नी सुशीला कोइरालाको उपस्थितिमा बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले सालिकको अनावरण गर्नुभएको थियो । पटनाको गोलघरस्थित पार्कमा रहेको बीपीको सालिक संरक्षण हुन नसकेको भन्दै सङ्ग्रहालयले त्यसको प्रबन्ध मिलाउन पहल गर्दै आएको थियो । सङ्ग्रहालयका अध्यक्ष पोखरेलले विधान सभाका सदस्यले बीपीको सालिक संरक्षणका लागि लिखित रूपमा नै माग गरेपछि त्यसको संरक्षण संवद्र्धन हुने आशा पलाएको बताउनुभयो । छिमेकी देशको लोकतन्त्रवादी नेतालाई यसरी स्थान दिइनु सुखद् पक्ष भएको उहाँको भनाइ छ ।

विधान सभा सदस्य यादवले भारतको स्वतन्त्रतासम्बन्धी आन्दोलनमा महìवपूर्ण भूमिका निर्वाह गर्नुभएका बीपीको सालिक संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । लोकतन्त्रमा बीपीको नाम विश्वभर नै लिइने र भारतमा समेत विशेष योगदान रहेकाले सालिकको संरक्षण गर्नु बिहार सरकारको समेत विशेष दायित्व हुने उहाँले आफ्नो मागपत्रमा उल्लेख गर्नुभएको छ ।
नेपालको लोकतन्त्र र बीपी कोइरालाको योगदानको बारेमा पटक पटक आवाज उठाउँदै आउनुभएका विधान सभाका सदस्य यादवलाई सङ्ग्रहालय भ्रमणको निम्तो समेत दिइएको जानकारी पोखरेलले दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?