काठमाडौं, पुस ५ गते । पछिल्लो समय नेपालमा सम्बन्ध-विच्छेदका घटनाहरु बढेसँगै काठमाडौं जिल्ला अदालतमा यसको दर्ता सङ्ख्या पनि बढेको छ ।
जनचेतनाको कारण पछिल्लो समय नेपालमा सम्बन्ध-विच्छेदका घटनाहरु बढ्ने गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दहाल बताउनुहुन्छ । उहाँका अनुसार नयाँ मुलुकीसंहिता लागू भएसँगै पुरुषले पनि सम्बन्ध-विच्छेदको मुद्दा हाल्न पाउने कानुनी व्यवस्थाले यो क्रम बढेको हो ।
पहिले विवाह अटुट बन्धनको रुपमा लिइन्थ्यो, तर अहिले यस्तो छैन । ‘मानिसमा जनचेतना बढेको छ, हिंसा सहनु हुँदैन, हिंसा भए के गर्ने भन्ने कुराको ज्ञानले सम्बन्ध–विच्छेद गर्नेहरुको सङ्ख्या नै बढेको छ,’ उहाँले भन्नुभयो, ‘सम्बन्ध–विच्छेदका घटनाहरु प्रायः समान्य मनमुटा, झैझगडादेखि सहनै नसक्ने घटनासमेतले हुने गरेको देखिन्छ ।’ अहिले वैदेशिक रोजगारीबाट फर्किएका पुरुषहरु धेरै सम्बन्ध–विच्छेदका लागि अदालत धाउने गरेको उहाँले बताउनुभयो ।
सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेमा वैदेशिक रोजगारीबाट फर्केका, अन्तरजातीय तथा बहुविवाह गरेका पुरुषहरु बढी देखिएका छन् । ‘विदेशमा पति वा पत्नी गएपछि परपुरुष वा परस्त्रीसँग लागेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको, शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेको सङ्ख्या बढेको छ,’ सूचना अधिकारी दाहाल भन्नुहुन्छ, ‘त्यस्तोमा वैदेशिक रोजगारीमा गएका पुरुष उतै अर्को विवाह गरेर पहिलो श्रीमतीलाई सम्बन्ध–विच्छेद गर्न दवाब दिएका घटनाहरु पनि रहेको छ, पारिवारिक बेमेल र किचलो बढेपछि सम्बन्ध–विच्छेद हुन्छ ।’
जिल्ला अदालत काठमाडौंमा आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म छ हजार २०१ वटा सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएको छ । जसमा चार हजार ८०१ वटा सम्बन्ध–विच्छेद मुद्दा फछ्यौट भएका भने १६ सय २८ वटा सम्बन्ध–विच्छेदका मुद्दाहरु चालु रहेको तथ्याङ्क छ । जसमा, आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ८० वटा सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएकोमा दुई हजार ७० वटा सम्बन्ध–विच्छेदका मुद्दा फछ्यौट भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा २४ सय ९३ वटा सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएकोमा १८ सय ६१ वटा फछ्यौट भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध–विच्छेदका १६ सय २८ वटा मुद्दा दर्ता भएकोमा आठ सय ७० वटा सम्बन्ध–विच्छेदका मुद्दाहरु हालसम्म फछ्यौट भएका छन् ।
कलिलै उमेरमा वैवाहिक बन्धन, मुक्ति पाउन सम्बन्ध विच्छेद
सहमतिमा गरे दुई दिनमै सकिने सम्बन्ध–विच्छेदको मुद्दा वर्षौसम्म झेलिरहेका उदाहरणहरु धेरै रहेको वकिल भिमप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार विदेश पसेका पतिले दोस्रो विवाह गरेपछि आफू हिंसा, विभेद र मानसिक उत्पीडनमा परेको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिने महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।
‘त्यस्तो घटनाले दर्ता भएका मुद्दाहरु लामो समय जाने हुन्छ, एउटाले सम्बन्ध–विच्छेद गर्न खोजे पनि अर्को पक्षले गर्न नमान्दा त्यो समय लम्बिने हुन्छ, दुबैको समझदारी भए सम्बन्ध–विच्छेदको मुद्दा दुई दिनमै फछ्यौट हुन्छ,’ उहाँले भन्नुभयो । सम्बन्ध–विच्छेदको मुद्दा फछ्यौट हुन कम्तिमा पनि एक वर्षको समय कुर्नुपर्ने कानुनी व्यवस्था छ ।
‘विवाह गरेको दुई महिनादेखि दशकौँ बिताएका दम्पतिसमेत आफूबीच व्यापक असमझदारी बढेको भन्दै सम्बन्ध–विच्छेद गर्न अदालत पुग्छन्,’ उहाँले भन्नुभयो,‘ अध्ययन र रोजगारीका लागि विदेश जानेले विवाह दर्ता गर्ने र फर्केपछि सम्बन्ध–विच्छेद गर्ने क्रमले सम्बन्ध–विच्छेदको घटना बढेको छ, जसले कलिलै उमेरमा विवाह गरेका हुन्छन् र वैवाहिक बन्धनबाट मुक्ति चाहन्छन् ।’ सम्बन्ध–विच्छेद गरेन भने त्यो कानुनीरुपमा विवाह रहिरहन्छ, उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारी र सामान्य मनमुटावका कारण सम्बन्ध–विच्छेद गर्नेको सङ्ख्या बढ्दै जानु गम्भीर चिन्ताको विषय रहेको भन्दै वकिल पौडेलले भन्नुभयो,‘ वैवाहिक जीवन व्यतित गरेको वर्षाैं बितिसके पनि स–साना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने संस्कृतिले पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिन्छ ।’ त्यसो त सम्बन्ध–विच्छेद पति–पत्नीबीचको विवाद र बन्धनको गाँठो फुकाउने कानुनी प्रक्रिया पनि रहेको पौडेलले बताउनुभयो ।
निवेदन दिनेमा पुरुषभन्दा महिलाकै सङ्ख्या बढी
अहिले पनि सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेमा पुरुषभन्दा महिलाकै सङ्ख्या बढी रहेको सूचना अधिकारी वकिल पौडेलले बताउनुभयो । उहाँका अनुसार सम्बन्ध–विच्छेद गर्ने महिलालाई दयाका पात्र ठान्ने, महिलामाथि रहेको भेदभावपूर्ण व्यवहार, सामाजिक कुसंस्कारको रुपमा रहेकाले मृत्यु संस्कार, काजक्रिया, कर्मकाण्ड गर्ने विषय अझै जोडिएकै छ । ‘महिलाले सम्बन्ध–विच्छेदपछि घर, सन्तान छोडेर एक्लो कष्टकर यात्रा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सम्बन्ध–विच्छेद त पतिसँग मात्र हो, परिवारसँग होइन भनेर महिलाले परिवारमै बस्न पाएका छैनन् । सम्बन्ध–विच्छेदपछि महिलाले केही समय मुक्तिको अनुभूति गरे पनि पितृसत्तात्मक समाजले महिलाको समस्या जिउका तिउँ रहन्छ ।’
वकिल पौडेलले भन्नुभयो,‘सम्बन्ध–विच्छेदपछि बाँकी जीवन जिउन अझै पनि नेपाली महिलाका लागि चुनौतीको पहाड छ, तर पुरुष, सम्बन्ध–विच्छेदपछि पनि घरपरिवार तथा समाजमा स–सम्मान बाँच्न पाउछ ।’ सम्बन्ध–विच्छेदको असर बालबालिकालाईसमेत पर्ने हुँदा गर्नुभन्दा पहिले आमाबाबु दुवैले सन्तानले पाउनुपर्ने माया, साथ र सहयोगबाट वञ्चित हुँदा तिनको भावी जीवन कष्टकर बन्न सक्नेमा ध्यान पुर्याउनुपर्ने वकिल पौडेलको सुझाव छ ।
यस्तै, सम्बन्ध–विच्छेद आफैँमा एक जतिल प्रक्रिया रहेको सामाजिक अभियन्ता तथा मनोविमर्शकर्ता सुशिला चौधरीले बताउनुभयो । उहाँका अनुसार कुनै पनि मानिस स्वतन्त्र हुन चाहन्छ । यसको लागि मेलमिलापको माध्यमबाट विवादको समाधान खोज्न जरुरी हुन्छ । उहाँले भन्नुभयो,‘सम्बन्ध–बिच्छेद मुद्दामा पति पत्नीबीच मेलमिलाप गर्ने प्रयास गर्नुपर्छ, मेलमिलाप हुने सम्भावना नभएको खण्डमा सम्बन्ध बिच्छेद गर्दा हुन्छ ।’ आर्थिक, सामाजिक तथा व्यक्तिगत मनमुटावको कारण सम्बन्ध–विच्छेद हुने अवस्था सृजना भएपछि मानिसको बाँच्ने अवस्था नै खतरामा पर्ने सम्भावना हुन सक्छ । त्यस्तो अवस्थामा सम्बन्ध–विच्छेद गरेर बस्नु नै उचित हुने उहाँको बुझाइ छ । तर, सम्बन्ध–विच्छेद मात्रै समस्याको समाधान नरहेकाले सम्बन्ध–विच्छेद गर्नु पहिले सोचविचार गर्न जरुरी रहेको चौधरीले बताउनुभयो ।