logo
२०८१ बैशाख ८ शनिवार



म्यादी प्रहरीमा आवेदन दिनेको पीडा, ४० दिन काम पाए पनि गर्जो टर्थ्याे

अर्थ |
पढ्नै पर्ने |


म्यादी प्रहरीमा आवेदन दिनेको पीडा, ४० दिन काम पाए पनि गर्जो टर्थ्याे


काठमाडौं, चैत ८ गते ।  दुई सन्तानका आमा ३३ वर्षीय मनकुमारी वि.क.२०७४ सालको निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना हुनुभएको थियो । सङ्खुवासभा स्थायी ठेगाना भइ कक्षा ५ सम्म अध्ययन गर्नुभएकी उहाँ अहिले बेरोजगार हुनुहुन्छ ।

जेनतेन गुजारा चलाउँदै आउनुभएकी उहाँलाई म्यादी प्रहरीमा छनोट हुने ठूलो आश छ । यो ४० दिनको अवधि भए पनि काम पाए केही आर्थिक समस्या टर्ने उहाँको सोच छ । उहाँको १० वर्षको छोरा र पाँच वर्षकी छोरी छन् । यो अवधिमा आफू छनोट भए बच्चालाई बुबाले सम्हाल्ने उहाँले बताउनुभयो ।

काठमाडौंको ठूलो भर्याङ् बस्दै आउनुभएकी महिता विश्वकर्मा पनि म्यादी प्रहरीका लागि भर्ना हुन महानरीय प्रहरी परिसर, टेकु आइपुग्नुभएको छ । उहाँ २३ वर्षकी हुनुहुन्छ । आफू बेरोजगार भएपछि यो अवसरमा म्यादी प्रहरी बन्ने सपना पनि पूरा हुने थियो । महिताले भन्नुभयो,‘ नेपालमा रोजगारी पाइँदैन, पैसा नभएर कस्तो समस्या हुन्छ, घरभाडा कसरी तिर्ने, के खाने, पैसा नभई काठमाडौंमा बच्न कति मुस्किल छ ।’ उहाँको घर सुनसरी हो ।

यस्तै, खोटाङ स्थायी ठेगाना रहेका ३५ वर्षीय पूर्व नेपाली सेनामा कार्यरत सुरज आलेमगर बेरोजगार भएपछि ४० दिन भए पनि केही आम्दानी हुने आशमा म्यादी प्रहरीमा भर्नाका लागि टेकु पुग्नुभएको छ । उहाँ विशेष कारणवश सेनाको जागिर छोड्नुभएको थियो । ‘अहिले कस्तो समस्या भएको छ,’ उहाँले भन्नुभयो ।

कक्षा १२ पास गर्नुभएका बर्दियाका मनकुमार चौधरीले पनि रोजगारी नपाएपछि सिंहदरबारभित्र निर्माणको काम गरेको बताउनुभयो । उहाँका अनुसार अहिले त्यहाँको काम ठप्प छ । यही बेला म्यादी प्रहरीमा भर्ना खुलेको छ । समयको सदुपयोग हुने र केही आम्दानी पनि हुने आशले भर्ना हुन आएको बताउनुभयो । यी त प्रतिनिधि पात्र मात्रै हुन् ।

नेपालमा रोजगारीको अवस्था कस्तो छ ? स्थानीय तह निर्वाचनका लागि खुलाइएको म्यादी प्रहरीमा भर्ना हुनेको लाइनले स्पष्ट पार्छ । म्यादी प्रहरीमा भर्ना हुन युवादेखि काखे नानी बोकेका आमासमेत पुगेका छन् ।

महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा आइतबारदेखि नै भर्ना हुनेको भीड छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग नक्साल काठमाडौंले ४० दिनका लागि आइतबारदेखि भर्ना लिन थालेको छ । नेपाल भर प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीमा आवेदन लिन सुरु भएदेखि भर्ना हुनेको भीड लागेको हो ।

म्यादी प्रहरीमा भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी चैत ११ गतेसम्म आवेदन दिन पाउनेछ । तर पनि यो चैतको चर्किदो घाममा पछि पर्ने पीरले भर्ना हुन तँछाडमछाड गरी बिहानैदेखि भर्ना फर्म भरिहेका छन् । महानगरीय परिसरमा दिउँसोको करिब १ बजेपछि फर्म वितरणका काम बन्द भइ बुझाउने काम मात्रै हुन्छ ।

नेपालको ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीको लागि आवेदन लिने काम हुँदैछ । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ ।

म्यादी प्रहरीको स्वास्थ्य मापदण्ड

म्यादी प्रहरीको स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुनुपर्नेछ । छनोट भएका म्यादी प्रहरीलाई तालिम दिएर खटाउने सरकारको तयारी छ । भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान ÷ निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश ÷ उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी प्रहरीको छनोटमा प्राथमिकता दिइनेछ ।

यसका लागि ४० दिनको कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट सात हजार २०० र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादी प्रहरीको सुविधा निर्धारण गरिएको छ । म्यादी प्रहरीलाई बीमालगायतको सुविधा छ ।

दुई दिनमा परेको आवेदन

नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । आवेदन दिनेले फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिक हुनुपर्नेछ ।

नेपालभर म्यादी प्रहरीका लागि भर्ना खुला गरिएको पहिलो दिन आइतबार मात्रै ६ हजार ४९४ महिला र २३ हजार ८०५ पुरुष गरी ३० हजार २९९ आवेदन परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?