राजन रावत
हुम्ला, पुस ८ गते । हिमपातपछि सीमाक्षेत्र हिल्सामा तापक्रम दैनिक माइनसमा झरेको भए पनि सुरक्षाकर्मीद्वारा नियमित रुपमा सीमा स्तम्भहरुको अनुगमन गर्ने कार्य जारी छ । सीमा सुरक्षा चौकी (बिओपी)स्थापना भएकै सीमास्तम्भको अनुगमन गर्नुपरेको कारण चिसो र हिमपात नभनी सुरक्षाकर्मी आफ्नो काममा खटिनुभएको हो । सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर चन्दले चिसोमा पनि कुनै असजिलो नमानेर किट र टाकुले क्षेत्रका स्तम्भहरुको अनुगमन कार्य जारी रहेको बताउनुभयो । यो क्षेत्रमा तीनदेखि १२ नम्बरका क र ख गरी १५ वटा सीमास्तम्भहरु छन् । उहाँले तीमध्ये यतिबेला सुरक्षाकर्मी तीन र चार तथा ११ र १२ नम्बरका सीम स्तम्भबाहेक अन्य सबैमा नियमित रुपमा पुग्ने गरिएको बताउनुभयो ।
उहाँले यसअघि पाँच, छ र सात नम्बर सीमास्तम्भ भएका स्थान जान बाटो कठिन भएको कारण कहिलकाँही जाने गरिएको भए पनि अहिले उक्त किट क्षेत्रमा सडक निर्माण भएको कारण नियमित कार्यतालिका अनुसार जाने गरिएको बताउनुभयो । दुई पटकको हिमपातपछि हिउ पग्लेको भए पनि जमिन र कर्णाली नदीमा बरफ जमिरहने भएको कारण चिसो भने अत्यधिक हुने गरेको छ ।
उहाँले बिहान गस्तीमा निस्कन कठिन हुने भए पनि दिउँसो भने केही सहज हुने गरेको बताउनुभयो । सडक निर्माण कार्य भएर सञ्चालनमा आएको भए पनि सुरक्षाकर्मीलाई यातायातका साधन नभएको कारण पैदलै सीमा अनुगमन गर्न जानुपर्ने बाध्यता छ । त्यो पनि माइनस सत्र डिग्री सेल्सियस तापक्रममा पनि जाने गरिएको बताउँदै चौकीका सुरक्षाकर्मीले कार्यालयमा बस्नुभन्दा अनुमगनमा जाँदा दिन कटाउन सजिलो हुने बताउँदै आउनुभएको छ । हिमपात भएको बेला भने निस्कन र बाटो पनि नदेखिने भएको बेला सुरक्षाकर्मी चौकी बाहिर निस्कन सक्ने अवस्था छैन ।
अन्य कोही पनि मानिस नदेखिने किट क्षेत्रमा नेपाली सुरक्षाकर्मी अनुगमन गर्नु दैनिकी जस्तै भएको स्थानीय होटेल कुरुवा याक्योङ लामाले बताउनुभयो । बिहान खाना खाएर निस्केका सुरक्षाकर्मी साँझपख मात्र चौकीमा फिर्ता हुने गरेको बताउनुभयो । हाल जिल्लामा छ जना स्थानीय र सीमा सुरक्षा चौकीका सुरक्षाकर्मी मात्र रहँदै आउनुभएको छ । तीनदेखि चार महिनासम्म पुग्ने रासन पानी, दाउराको बन्दोबस्ती गरिएका कारण व्यवस्थापनमा भने कुनै कठिनाइ छैन ।