चाँदनी आचार्य
लम्की, पुष ९ गते । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिम टोलमा बिचल्लीमा परेका ६ महिनादेखि १३ बर्ष सम्मका चार बालबालिकालाई एसओएस बालग्राम धनगढीले जिम्मा लिएको छ ।
आवश्यक कागजात तयार गरी घोडाघोडी नगरपालिका ४ का वडा अध्यक्ष टेकबहादुर बुढाले बुधबार एसओएस बालग्राम धनगढीलाइ बालबालिका जिम्मा लगाउनुभएको हो ।
भारतमा मजदुरी गरी पालनपोेषण गर्दै आएका बाबु कमल रोकयाको गत साउनमा निधन भएको र क्यान्सर पीडित आमा जौमती रोकया सिकिस्त विरामी भए पछि खाना र न्यानो लुगाको अभावमा काखे बालक सहित अन्य बालबालिकाको बिचल्ली भएकोे थियो । घरमा रेखदेख गर्ने कोही नभएपछि ती बालबालिकालाई एसओएसले जिम्मामा लिएको हो । बालबालिकाको बिचल्लीबारे गोरखापत्र अनलाइनमा समाचार पढे पछि पुस ४ गते एसओसएस बालग्राम पीडितको घरमै पुगी अवस्था बुझेको थियो ।
बालग्राम धनगढीका योजना निर्देशक पदम हमालले घरमै पुगी बालबालिकाको अवस्था बुझ्दा आमा सिकिस्त विरामी, बालबालिका विद्यालय जान नपाएको, स्वास्थ्य खानपिनको अभावले कुपोषण समेत देखिएको साथै आफन्त छिमेकीसँग बुझ्दासमेत बालबालिकालाई साहाराको आवश्यक देखिएकोले एस.ओ.एसले लिने निर्णय गरेको बताउनुभयो ।
वडा अध्यक्ष बुढाले आमाकोइच्छा बमोजिम उहाँको रेखदेखका लागि हाललाई जेठो छोरा लोकराज रोकयालाई आमा बाचुन्जेल घरमै छोडेको र ४ महिना र ७ बर्षको छोरा ४ बर्षकी छोरीलाई एस.ओएस बालग्राम धनगढी आफै पुगेर जिम्मा लगाएको बताउनुभयो ।
वडा अध्यक्ष बुढाले सरकारले गर्न नसकेको काम गरेकोमा एसओएस बालग्रामलाई धन्यबाद दिदै उहाँले एस.ओ.एस.ले बाबु आमा गुमाएका गरिब साहारविहीन बालबालिकाको अभिभावक बनेर धेरै बालबालिकाको उद्धार गरेको प्रशंसा गर्नुभयो ।
यो पनि पढ्नुहोस्
बाबु मरे, आमा क्यान्सरले सिकिस्त, पाँच नाबालकको बिचल्ली
गोप अनलाइनको समाचारकाे प्रभाव: जौमतीको परिवारलाई बढे सहयोगी हात