चाँदनी आचार्य
लम्की, पुस ३ गते । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमखेतका ४५ बर्षिया जौमती रोकया थला परे पछि उहाँको ६ महिनाको दुधेबालक सहित पाँच सन्तानको विचल्ली भएको छ । क्यान्सर पिडित रोकया ७ महिना देखि उपचारको अभावमा घरमै थला पर्नु भएको छ ।
आर्थिक अवस्था कमजोर रहेको उहाँको परिवारमा श्रीमानले भारतमा मजदुरी गरी परिवार पाल्दै आउनु भएको थियो । गत साउनमा रोजगारीकै क्रममा भारतमा उहाँको निधन भएपछि घरको आम्दानीको स्रोत पनि बन्द भएको छ ।
३ कट्ठा ऐलानी जग्गा र सानो खरको झुपडी बाहेक सम्पति नरहेको जौमतीका १३, १०, ६ बर्ष र ६ महिनाका तीन छोरा र एक छोरी रहेका छन् । आमा थला परेपछि घरको कामकाज देखि भाई बहिनी र आमाको रेखदेख समेत जेठा छोरा लोकराज रोकयाले गर्ने गरेका छन् ।
कक्षा ८ मा अध्ययनरत् लोकराजले आफूले जानी नजानी खाना पकाउने खुवाउने घरको सरसफाई गर्ने गरेको बताउनुभयो । पानीको समस्या समेत रहेको उक्त गाँउमा पानी ल्याउन १५ मिनेट टाढा पुग्नुपर्ने समस्या छ । पुसको जाडोमा खाली गुन्द्री माथि पातलो कम्बलले रात काट्ने रोकयाको परिवार यतिखेर निक्कै कष्टकर जीवन विताईरहेको छ ।
६ महिने बालकलाई जौमतीको देउरानी तुलीदेवी रोकयाले ४ दिनदेिख आफूले घरमा लगेको बताउनु भयो । दिदीले स्याहार्न नसकेपछि बच्चाले साह्रै दुःख पाएको देखेपछि आफूले घरमा पाउडर दूध खुवाएर पालेको बताउनुभयो । चिसो र आमाको दूध खान नपाएपछि बच्चा रातभर रुने गरेको समेत तुलीदेवीले बताउनुभयो ।
पिडित परिवारलाई ईकोड्स नेपाल र सुनौलो घोडाघोडी समाजको सहयोग
जौमतीको परिवारका वारेमा विभिन्न संचारमाध्यम र सामाजिक संजालबाट जानकारी पाएपछि घोडाघोडी नगरपालिकाबासी हाल भारतको बैंग्लोरमा रोजगारीका लागि गएका नेपाली दाजुभाईहरुद्धारा संचालित सुनौलो घोडाघोडी समाजको पहलमा संकलन भएको सहयोग रकम बुधवार जौमतीको परिवारमा हस्तान्तरण गरिएको छ ।
समाजका कोषाध्यक्ष जीबन रीजालले आठ हजार नगद वडा अध्यक्ष टेक बहादुर बुढाको रोहवरमा हस्तान्तरण गर्नुभयो । त्यसैगरी बातावरण संरक्षण तथा विकाशिल समाज (ईकोड्स नेपाल) ले काठमाडौंमा संकलन गरेको सहयोग रकमबाट न्यानो कपडा ज्याकेट,सुरवाल,मोजा,टोपी कम्बल गरि पाँचहजार बरावरको कपडा खरिद गरि परिवारलाई सहयोग गरेको छ ।