logo
२०८१ जेष्ठ ३ बिहीवार



कम आउन थाले बसाइँ सर्ने चरा

खुला |


कम आउन थाले बसाइँ सर्ने चरा


चाँदनी हमाल

काठमाडौँ, माघ ३ गते । चीनबाट बसाइ सरी आएको नादुन चरा आफ्नो जोडीसँग टौदहमा रमाउँदै थियो । हरियो टाउके हाँसको जोडी साथ छुट्लाझैँ गरेरसँगै तैरिँदै थिए । हाँसझैँ देखिने मरुल चरा पनि दहको वारपार तैरिँदै थियो । खडखडे र बिजुला गैरीको अर्को सानो हुल छुट्टै मस्ती गर्दै थियो । केही बकुल्ला माछाको खोजीमा पानीभित्र चुच्चो डुबाउँदै निकाल्न अभ्यस्त देखिन्थे ।
यिनै चराको उपस्थिति बुझ्न पुग्नुभएका चराविद् डा. हेमसागर बरालसहितका चराप्रेमी समेत चराको रोमाञ्चक जलक्रीडा देखेर केही बेर मख्ख परे । काठमाडौँको टौदह रङ्गीचङ्गी जलपक्षीको सानो स्वर्ग मानिन्छ । “अचेल पहिलेको जस्तो जलपक्षी यहाँ भेट्न छाडेको छ,” चराविद् बरालले सुनाउनुभयो, “साना साना भुण्ड मात्र भेट्यौँ ।”
बरालका अनुसार दस वर्षअघिसम्म यहाँ जलपक्षीको ठूलाठूला हुल भेटिन्थे । जसमा एउटै हाँसको सङ्ख्या तीन चार सयको सङ्ख्यामा देखिन्थे । “लामो खुट्टा भएको वेडर चरा निकै कम देखियो, सुडसुडियाको ठूलो बथान देखिएन,” उहाँले थप्नुभयो, “चार प्रजातिका त हाँस नै घटेको देखियो ।” सुडसुडिया उत्तरबाट सीमा नाघेर टौदहमा विचरण गर्न आउने जलपक्षी हो ।’’
पहिले २० प्रजातिका हाराहारीका जलपक्षीसहितका चरा यस क्षेत्रमा भेटिन्थे । यसपाला मुस्किलले नौ प्रजातिको अनुहार देख्न पाइएको उहाँले सुनाउनुभयो ।
टौदहसँगै देशभरका सिमसार क्षेत्रमा अहिले जलपक्षी गणना चलिरहेको छ । यही मेसोमा बराल टौदह पुग्नुभएको थियो । टौदहमा निर्माण भएको सुन्दरताले त्यहाँ घुम्न पुग्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । तर विचरण गर्ने जलपक्षी सहितका अन्य पक्षीको बासस्थानमा असर परेको छ । क्रङ्किटका भ¥याङसहित ठाउँ ठाउँमा बनेका पिकनिक स्थलमा जम्मा हुने मानिसका हुलले चराको हुल विस्थापित गर्दै लगेको बराल बताउनुहुन्छ ।
छेउमै बन्दै गरेको सुख्खा बन्दरगाहले चराको आधा बासस्थान नष्ट पारिसकेको छ । बन्दरगाह सञ्चालनमा आएपछि यहाँ बढ्ने गतिविधिले चरा देखिनै छाड्ने हो कि भन्ने चिन्ता चराविद्ले गर्न थालेका छन् । बाग्मतीमा बढ्दै गएको प्रदूषण, वन बुट्यानको बिनाससँगै मानव अतिक्रमणले टौदहबाट चरा हराउँदैछन् । यस क्षेत्रमा बिजुला गैरी, नादुन, हरियो टाउके, खडखडे, मरुल, सानो वकुल्ला, आशकोटे बकुल्ला, वस्तु बकुल्ला र जलेवा यसपाला भेटिएका छन् ।

देखिनै छाडे कृष्णकण्ठ गरुड
कालो घुमाउरो लामो घाँटी हुने चरा कृष्णकण्ठ गरुड कोसीमा देखिनै छाडेको छ । पानीको आसपास रमाउने यो चरा छ फिटसम्म अग्लो अति सुन्दर चरा हो । सन् २००५ सम्म कोसीमा बच्चा कोरल्ने कृष्णकण्ठ यसपालाको जलपक्षी गणनाका समयमा पनि नदेखिएको बरालले बताउनुभयो । “पहिले पहिले यहाँको रैथाने थियो तर अब सङ्कटापन्न बन्यो कृष्णकण्ठ गरुड,” उहाँले भन्नुभयो, “कोसी ब्यारेज बनेपछि त्यसको सबैभन्दा बढी असर चराको ठूलो स्वर्ग कोसी टप्पु आरक्ष क्षेत्रमा प¥यो ।” यसपालाको जलपक्षी गणनाको क्रममा त्यहाँ पनि चराका गतिविधि घट्दै गएको देखिएको उहाँ औँल्याउनुहुन्छ ।
विराटनगर विमानस्थल नजिकै रहेको बर्जु ताल चराको राम्रो बासस्थान हो । यहाँ स्थानीयवासीले पिकनिक खाने, मेला भर्ने थलो बनाएपछि चराको बासस्थान बिगँ्रदै गएको छ । दुई हप्ताअघिमा त्यहाँ चरा मार्ने विषादी ठाउँठाउँमा छरेर राखिएको चराप्रेमीहरूले फेला पारे । “झिँगा मार्ने जस्ता औषधि खानेकुरामा मिसाएर छरिएका देखिए,” बराल बताउनुहुन्छ, “यसले चराको चोरी शिकारी त्यो क्षेत्रमा बढेको अनुमान गर्न सकिन्छ ।” विकास र संरक्षणमा तालमेल नहुँदा चराको बासस्थान नष्ट हुँदै गएको चराविद् बताउँछन् ।

कतै सकिए कतै जारी गणना
सुर्खेतको घोडाघोडी, बर्दिया र पूर्वी चितवनमा पनि जलपक्षी गणना सकिएको छ । पश्चिम चितवन र नवलपरासी क्षेत्रमा गणना चलिरहेको छ । पोखरामा पनि जलपक्षी गणना भइरहेको छ । अघिल्लो गणना अनुसार नेपालमा ८८८ प्रजातिका चरा छन् । सिमसारमा आश्रित चरा दुई सय प्रजातिका छन् । वर्षा र हिउँदमा बसाइ सरी आउने चरा दुई सय प्रजाति छन् । कुल प्रजातिमध्ये १६८ प्रजातिका चरा सङ्कटापन्न छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?