logo
२०८१ जेष्ठ १७ बिहीवार



कलिलो उमेरमै यौवनारम्भ

स्वास्थ्य |
खुला |
समाज |


कलिलो उमेरमै यौवनारम्भ


एउटा बीउ बिरुवा हुँदै ठूलो बोट बन्छ । उसले फल, फूल, शीतल छहारी प्रदान गर्छ । त्यसरी नै मानिसले आफ्नो जीवनचक्रमा पनि शिशुबाट वृद्ध हुँदासम्मको अनेक चरण पार गर्दछ । अझ सृष्टि सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने महिलाको जीवन महिनावारीको छुट्टै चक्रमा समेत चल्छ तर यो चक्र उमेरभन्दा अघि सुरु हुँदा वा उनीहरू छिटो जवान हुँदा महिलाको जीवनमा त्यसको सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी देखिएका छन् ।

पश्चिमा समाजमा एउटा बालक वा बालिका हुर्कंदै जाँदा १८ वर्ष उमेर पुगेपछि आफ्नै खुट्टामा उभिन घरपरिवारबाट स्वतन्त्र हुन्छन् । पूर्वीय सभ्यताको एक आधार नेपाली समाजको कुरा गर्दा पौराणिक शास्त्रमा सात वर्षकी गोमा ब्राह्मणीले ७० वर्षका शिव शर्मा ब्राह्मणसँग बिहे गरेर छोरा जन्माएको पनि कथा छ । सय वर्ष हाराहारीका अहिलेका नेपाली हजुरआमाहरू उतिबेला पहिलो महिनावारी हुँदा १५–१६ वर्षका हुन्थे । प्रायः उनीहरूको बिहे महिनावारी अघि भइसकेको हुन्थ्यो ।

अहिले नेपालको कानुनअनुसार छोरीको बिहे गर्ने उमेर २० वर्ष हो । शारीरिक र मानसिक रूपले धेरै हदसम्म परिपक्व हुने भएकैले नेपाल सरकारले यो उमेर तोकेको हुनुपर्छ । कानुनी उमेर २० वर्ष भए पनि छोरीहरू शारीरिक रूपमा भने छिट्टै परिपक्व हुन थालेका छन् । आधुनिक जीवनशैली, रहनसहन, खानपिन, प्रविधिको उच्च प्रयोग र जलवायु परिवर्तनको असर छोरीहरूको शारीरिक विकासमा परेको विभिन्न अध्ययनले बताउँछ ।
आमा पुस्ताकी शिक्षिका शान्ति शाक्य अहिले ५५ वर्षकी छन् । १३ वर्षमा महिनावारी हुँदा उनलाई केही थाहा थिएन । उनले सम्झिइन् “आमा, हजुरआमाले यस्तो कुरा भन्नुहुन्नथ्यो, लुकाउनुहुन्थ्यो । त्यसैले के गर्ने भन्ने गाह्रो हुन्थ्यो ।”

उनले अध्यापन गराइरहेका छात्रा भने १०–११ वर्षकै उमेरमा पहिलो महिनावारी भएका छन्् । पाँच कक्षामा अध्ययनरत सुनिका (नाम परिवर्तन)लाई महिनावारीमा के हुन्छ भन्ने थाहा थिएन । आफू बसिरहेको बेन्चमा पानीले भिजेजस्तो अनुभव उनलाई भयो । के भयो भनेर यसो तल हेर्दा फ्रकबाट रातो पदार्थ बगिरहेको देखिन् ।
“मिस मलाई के भयो हेर्नुस् न ।” डराई डराई उनले मिसलाई बोलाएको सम्झिइन् । मिसले उनी पहिलो महिनावारी भएको थाहा पाइन् । उनलाई एउटा प्याड लगाइदिइन् र भनिन्, “तिमी मिन्स भयौ । घर गएर आराम गर ।”

एघार वर्षको उमेरमै आफू शारीरिक रूपमा परिपक्व भएको उनलाई थाहा भएन । स्कुलमा केटा साथीहरूसँगै खेल्दाखेल्दै कसैले राम्रो वा नराम्रो उद्देश्यले छोएको पनि महसुस भएन । कक्षा छकी विमला गौतम (नाम परिवर्तन) गत वर्ष बन्दाबन्दीको समयमा १२ वर्षको उमेरमा पहिलो महिनावारी भइन् । त्यसपछि उनको दिनचर्यामा धेरै बन्देज लागेको छ । “अब ठूली भयौ, बाहिर धेरै कुद्नुहुन्न । अमिलो धेरै खानुहुन्न । बाहिरका मान्छेसँग घुलमिल गर्नुहुन्न । धेरै कुरा गर्न हुँदैन अनि नजिक बस्न पनि हुँदैन ।” हरेक दिनजस्तो उनले यस्तै खबरदारी आफ्नी आमाबाट पाउँछिन् ।
शरीरमा आएको परिवर्तनका कारण आफूलाई पनि पहिलेभन्दा ठूली भएको अनुभूति हुन्छ उनलाई । पहिले केटा साथीहरूसँग तँछाडमछाड गर्ने उनी अचेल टाढै बस्छिन् । उनकै सहकर्मी रमिता रम्तेल (नाम परिवर्तन) ११ वर्षको उमेरमा अतिरिक्त कक्षा लिँदै गर्दा महिनावारी भइन् । उनले सम्झिइन “ट्युसन पढ्दै थिएँ एकदम डर लाग्यो । मिसलाई भनेपछि प्याड दिनुभयो, दिदी बोलाइदिनुभयो अनि घर गएँ ।”

“ठूली भइसकिस जो पायो त्यसैसँग खेल्नु हुँदैन । केटाहरूसँग धेरै बोल्नुहुन्न” जस्ता धेरै नसिहत उनले पाउने गरेकी छन् । कहिलेकाहीँ उनलाई असाध्यै पेट दुख्दा कक्षा छुट्छ । स्कुलमा आएका बेला पढाइमा पनि ध्यान जान्न ।
कक्षा सातकी सजिना रञ्जित (नाम परिवर्तन)लाई पहिलो महिनावारीपछिको जीवन नौलो लागेको छ । उनी राम्रो र नराम्रो छुवाई छुट्याउन सक्ने भएकी छन् । उनले भनिन्, “कसैले ‘ब्याड टच’ गरेको थाहा पाउँदा कस्तो नराम्रो लाग्छ । नछो मलाई भन्छु ।”
कक्षा ६ मा पढ्दा स्कुलमै पहिलो पटक महिनावारी भएकी थिइन् उनी । कसैले केही नराम्रो भने वा छोएमा साथी र शिक्षिकालाई भन्छिन् ।

उमेर जस्तै उनीहरूको ज्यान सानै छ । तर शरीरका संवेदनशील अङ्ग युवतीजस्तै देखिन थालिसकेका छन् । उनीहरूलाई राम्रो र नराम्रो छुवाइका विषयमा सिविनलगायतको संस्थाका प्रतिनिधिले स्कुलमै आएर सिकाउने गरेको छ । विद्यालय र घरपरिवारका आफन्तबाट हुने यौन दुव्र्यवहार र शोषणका क्रियाकलापविरुद्धमा बलियोसँग प्रतिवाद गर्न सक्ने क्षमता र परिपक्वता भने उनीहरूमा विकास भएको छैन ।
शिक्षिका शाक्यका अनुसार छिट्टै महिनावारी भएकै कारण एकाध वर्ष अघिसम्म धेरै छात्रा चार–पाँच दिन विद्यालय आउन मन गर्दैन थिए । कतिपयले पढाइ छाड्दथे । छात्रा अनुपस्थिति रोक्न अहिले विद्यालयमा स्यानिटरी प्याड र औषधिको व्यवस्था गरिएको छ । तथापि सानैदेखि बालबालिका स्मार्ट फोनसँगै हुर्कने भएकाले धेरै कुरा थाहा पाइसकेका हुन्छन् ।

हाल आधुनिक चिकित्सा विज्ञानले बालिकाको आठ वर्ष र बालकको नौ वर्ष अघिको उमेरलाई यौवनारम्भ हुने समय मानेको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विमला मल्ल यो प्रक्रिया प्राकृतिक भए पनि यसमा बाह्य तìवको असर परेको स्वीकार गर्छिन् । तर यसले महिलाको प्रजनन उमेर बढाएकाले खुसीको कुरा मान्नु पर्ने उनको मत छ । उनका अनुसार अहिले महिलाको प्रजनन उमेर पहिलेको भन्दा लामो भएको छ । १०–११ वर्षदेखि ५५ वर्षसम्मका महिला प्रजनन योग्य भएका छन् । पहिले यो अवधि १३–१४ वर्षदेखि ४९ वर्षको थियो ।
छोराको तुलनामा छोरी छिट्टै शारीरिक रूपमा परिपक्व भइदिँदा नेपाली समाजमा छोरीमाथि जोखिम बढ्दो छ । चिकित्सकीय भाषामा भन्नु पर्दा मस्तिष्कले गोनाडोट्रोपिन हर्मोन उत्पादन गरेपछि त्यो पिट्युटरी ग्रन्थीमा पुग्दछ । त्यसपछि महिलाको अण्डाशयमा एस्ट्रोजिन र पुरुषको अण्डकोषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन सुरु हुन्छ । यो सँगै छोरी र छोरामा यौवनारम्भ हुन थाल्छ ।

अबोध अवस्थामै शारीरिक परिपक्वताले छोरीहरू करणीलगायतका विविध अपराधको निशानामा पर्ने गरेको पाइएको छ । यी जोखिमबाट छोरीलाई टाढा राख्न घरबाटै पहिलो पहल हुनुपर्छ । आवश्यक परामर्श र रेखदेख नै कम उमेरमा यौवनारम्भ भएका छोरी जोगाउने मन्त्र हो भन्छिन् चिकित्सक मल्ल ।

शरीर र दिमागको सामञ्जस्यता छैन
पछिल्लो समय नेपालका बालिकामा देखिएको छिट्टै महिनावारी हुने प्रवृत्ति उमेर, शरीर र मानसिक अवस्थाको सामञ्जस्यता विपरीत रहेको बाल मनोविज्ञ डा. शान्ति निरौला दाबी गर्छिन् । निरौलाका अनुसार महिनावारी हुँदा बालिकामा आउने सोचाइ, उनलाई हुने अनुभूति र उनले देखाउने प्रतिक्रियामा तीन प्रकारका गतिविधि प्रमुख हुन्छन् ।
महिनावारीपछि बालिकामा पहिलेको भन्दा फरक सोचाइ विकास हुन्छ । नेपाली समाजमा महिनावारीलाई प्रकट नगर्ने र यो नराम्रो हो भन्ने धारणालाई उनीहरूले अँगालेका हुन्छन् । यससँगै आफू जवान भएको महसुस गर्छन् । बिहे गर्ने र घरपरिवार बसाउन सक्ने भइयो भन्ने खालको एक प्रकारको भावना उनीहरूमा उत्पन्न हुन सक्छ ।

सोही कारण महिनावारीपछि कसैले छुँदा रमाइलो लाग्ने, ऊसँग कुरा गर्न र बस्न मन लाग्ने भाव महिनावारीपछि महिलामा हर्मोनको बढोत्तरीले ल्याउँछ । तर उनी शारीरिक रूपमा परिपक्व बन्दै गए पनि उमेर र मानसिक अवस्था त्यसअनुसार परिपक्व भएको हुँदैन । त्यसले गर्दा मैले जे गरिरहेको छु त्यो यो ठीक वा होइन, यसले भविष्यमा के परिणाम दिन्छ भन्ने वयस्क मानिसको जस्तो सोचाइ उनीहरूमा पलाउन सकेको हुन्न ।

यौवनावस्थामा भएको अनुभूति भए पनि त्यसबाट उत्पन्न हुने कडा खालका सामाजिक समस्या सामना गर्ने क्षमता उनीहरूमा विकास भएको देखिँदैन । अमेरिकाको शिकागो विश्वविद्यालयका मनोवैज्ञानिक केट केनन पनि छिटो महिनावारी हुनु भनेको मानसिक रूपमा परिपक्व हुने होइन भन्छन् ।
उनले छिटो महिनावारी हुनुका जोखिमको विषयमा सन् २०१६ मा एक अध्ययनका क्रममा पोसिलो आहारा छिटो महिनावारी हुनुको एक कारक रहेको औँल्याएका थिए तर अर्कोतर्फ बढ्दो सामाजिक तनाव, फास्टफुड, मोटोपनाजस्ता विषयले पनि बालिका छिट्टै महिनावारीतिर उन्मुख भएको भन्न सकिन्छ । छिटो यौवनारम्भ गराउन सक्ने विभिन्न रसायनयुक्त खाद्यान्न उपयोगका कारण पनि बालिकामा छिटो महिनावारी हुने प्रवृत्ति बढेको अध्ययनले बताएको छ ।


यो अध्ययनसँग मिल्दो धारणा नेपालका पोषणविज्ञ डा. उमा कोइरालाको पनि छ । अहिले बजारमा पाइने माछामासु होस् वा तरकारी तथा खाद्यान्न सबैमा छिटो हुर्काउने र फलाउने खालका औषधि प्रयोग गरिएको हुन्छ ।
मासुका लागि प्रयोग गरिने कुखुरा, खसी, बोका आदिलाई छिटो वयस्क बनाउने औषधि व्यापक प्रयोग गरेर हुर्काइएको हुन्छ । तीबाट तयार गरिएको मासुका साथमा स्वास्थ्य प्रतिकूल रसायनसमेत मानिसको शरीरमा पुग्दछन् । त्यस्तै तरकारी, फलफूल र अन्य खाद्यान्नमा पनि हाइब्रिड प्रविधि जोडतोडका साथ अपनाइएको छ । तीनमा हालिएका रसायन बालिकाको शरीर छिटो बढाउन र शारीरिक रूपमा हुने प्राकृतिक प्रक्रियालाई पनि छिटो गराउन सहायक बनेको छ ।
नेपाली बालिकामा २०–३० वर्षअघि १५ देखि १६ वर्षमा हुने पहिलो महिनावारी अब नौ–दस वर्षको आसपासमा सरेको कोइरालाको भनाइ छ ।

अपराधको निशानामा साना छोरी
नेपाल प्रहरीको काठमाडौँस्थित महिला सेलका प्रमुख अनु लामा पछिल्लो समय सानै उमेरका किशोरीमाथि बढी जबरजस्ती करणीका घटना भएको स्वीकार गर्छिन् । उनका अनुसार छिट्टै महिनावारी हुनुले बालिकामा गर्भवती हुन सक्ने शारीरिक क्षमता विकास भएकै कारण उनीहरूमाथि झन् जोखिम बढेको छ । उनले १५ वर्षसम्मका बालिकामाथि जबरजस्ती करणी र गर्भवतीसम्म भएको घटनासँग सम्बन्धित मुद्दा हप्तामा कम्तीमा एउटा महिला सेलमा आउने गरेको छ ।

अहिले पनि एउटी १५ वर्षकी बालिका नौ महिनाको गर्भवती भएको मुद्दा सेलमा चलिरहेको जानकारी उनले दिइन् । सानै उमेरमा महिनावारी भएकाले पनि आमालाई समेत छोरीले गर्भ बोकेको थाहा नभएको घटना हो यो । पहिले पेट धेरै देखिएकै थिएन । बढ्ने उमेरका केटाकेटी मोटाएर होला भनेर ख्याल गरेनन् । लामाले भनिन्, “जाडोमा ज्याकेट लाउँदा झन् देखिने कुरै भएन । समस्या बढ्न थालेपछि बल्ल नौ महिनाको गर्भ रहेको थाहा भयो ।”

नेपालको कानुनअनुसार १८ वर्षको उमेरभित्र किशोरी वा बालबालिकाको मञ्जुरी भए पनि, नभए पनि उनीसँग हुने यौन सम्बन्ध गैरकानुनी मानिन्छ । कच्चा उमेर तर शारीरिक रूपले यौनसम्बन्ध राख्नका लागि योग्य बनेका बालिकालाई पुरुषले फकाउन सजिलो भएको बताउँछिन् लामा ।

कम उमेरका बालिका बढी पीडित
जबरजस्ती करणी, यौन दुव्र्यवहार जस्ता हिंसामा साना उमेरका बालिका अचेल बढी प्रताडित हुन थालेका छन् । मनोविद् नरेन्द्रसिंह ठगुन्नाका अनुसार विभिन्न कारणले साना बालिका त्यस्तो हिंसामा पर्छन् । एक त उनले हुँदा प्रतिवाद गर्न सक्दैन, अर्को बालिकासम्म पहुँच पु¥याउन त्यस्ता पुरुषलाई सजिलो हुन्छ । आफ्नै घर, समाज जता पनि बालिकालाई फुल्याउन सहज हुने गर्छ । सामान्य माया र फकाइले बालिका त्यस्ता अपराधीको चङ्गुलमा फस्छन् ।
कतिपय घटनामा एउटा चकलेट, बिस्कुट वा चाउचाउको मोहमा परेर बालिका जबरजस्ती करणीमा परेको प्रहरीको अनुसन्धानले पनि देखाउँछ ।

कतिपय त्यस्ता अपराधमा संलग्न हुने व्यक्ति मानसिक रोग वा यौन आसक्तिको विकृतिबाट लिप्त हुन्छन् । उनीहरूको मुख्य लक्ष्य नै साना बालिकामाथि आफ्नो आशक्ति पोख्नु हुन्छ । त्यसैले आफन्त पुरुषले बारम्बार कुनै बालिकासँग खेल्ने, खानेकुरा दिने वा चलाउने गरेको देखेमा शङ्का गर्नु अनिवार्य हुन्छ ।
प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गत रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले गरेको त्रिवर्षीय विश्लेषणअनुसार कुल अपराधको ४० प्रतिशत लैङ्गिक हिंसा हुने गरेको छ । २०७४ देखि २०७७ सालसम्मका विविध अपराधको विश्लेषणअनुसार जबरजस्ती करणी र उद्योग, बालविवाह, बहुविवाह, गर्भपतन, बालयौन दुरुपयोग, घरेलु हिंसा, अप्राकृतिक मैथुनजस्ता बालबालिका सम्बद्ध अपराधमा परेका छन् ।

यी घटनामा १२.२ प्रतिशत बालिका पीडित छन् भने वयस्क महिला ८२.३ प्रतिशत छन् ।
मानव अधिकार वर्ष पुस्तक २०१९ का अनुसार सन् २०१८ मा आठ सय १८ बालिका जबरजस्ती करणी र करणीको उद्योगको सिकार हुँदा उनीहरूको मानव अधिकार हनन भएको थियो । त्यस्तै दुई सय २६ जना बालिका यौन दुव्र्यवहारको सिकार भएका थिए ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय व्यवस्था
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्न बनेको संयुक्त राष्ट्रसङ्घको सिड कमिटीकी सदस्य वन्दना राणा महिनावारीको विषयमा आवाज नै उठाउन नपरोस् भन्ने भाव बोक्छिन् । उनका अनुसार भएका कानुन, नीति, निर्देशिका आदिको कार्यान्वयन परिवर्तनसँगै मानिसको मानसिकता परिवर्तन हुनु जरुरी छ ।
जसरी बालिका छिट्टै महिनावारी हुन थालेका छन् त्यसले उनीहरूमा सानै उमेरमा मानसिक पिरलो, शारीरिक पीडा, आत्मविश्वासमा कमी जस्ता समस्या बढाएको छ ।


स्कुले उमेरमै हुने महिनावारीले महिनाको चार दिनका हिसाबले पनि वर्षको कम्तीमा ४८ दिन बालिकाका लागि समय कठोर बन्ने गरेको छ । ती दिनमा स्कुलको पढाइ, सामाजिक सम्बन्ध आदिबाट उनीहरू टाढिन पुग्छन् । कमिटीले महिनावारीलाई परम्परागत संस्कारबाट हुने जोखिमका रूपमा प्रस्ट्याएकाले पनि त्यति महìव नदिएको हो कि भन्ने धारणा अभियन्ता राधा पौडेलको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले एक महिनावारीसम्बन्धी अन्तरक्रियाका क्रममा नेपाल सरकारले महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय नभएको विद्यालयलाई स्थापनाका लागि स्वीकृति नदिने नीति तय गरेको जानकारी दिएका छन् । सबै विद्यालयमा महिनावारीका समय छात्रालाई अत्यावश्यक रहेको स्यानिटरी प्याड र शौचालयमा पानी नहुँदा कक्षा छुट्ने गरेको यथार्थ उनी स्वीकार्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल महिनावारीका सम्बन्धमा कुरा गर्दै महिनावारी सामान्य हो भन्ने ज्ञान बालिकालाई दिइनुपर्ने धारणा राख्छन् । होइन भने सानै उमेरमा हुने महिनावारीले शारीरिक पीडा त हुन्छ नै त्यसले दिने भयका कारण करिब दस दिन उनीहरूमा मानसिक पीडासमेत दिने उनको ठम्याइँ छ ।  

युवामञ्च, माघ २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?