logo
२०८१ जेष्ठ २ बुधवार



घरमै बसी बसी राहदानी प्रक्रिया

खुला |


घरमै बसी बसी राहदानी प्रक्रिया


चाँदनी हमाल

काठमाडौँ, माघ २३ गते । सेवाग्राहीले अब घरमै बसी बसी राहदानी प्रक्रिया अगाडि बढाउन सकिने भएको छ । राहदानी विभागले लाग्ने शुल्क अनलाइनबाटै तिर्न पाउने सेवा सुरु गरेपछि सर्वसाधारणले घरमै बसेर राहदानी पाउने भएका हुन् ।
यसअघि बैङ्कमा लाइन बसेर राहदानीबापतको शुल्क तिर्नुपर्ने प्रावधान थियो । राहदानी फाराम भने अनलाइनमै भर्ने सुविधा रहे पनि लाग्ने शुल्क तिर्न भने बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो । शुल्क तिरेको बैङ्क भौचरसहित फाराम भरेपछि मात्र राहदानी बन्थ्यो ।
राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भन्नुभयो, “अब पैसा तिर्न पनि लाइन बस्न नपर्ने भएको छ । घरमै बसी बसी राहदानीका लागि आवेदन दिन र शुल्क तिर्न पाइन्छ ।” राहदानी विभागको वेबसाइट नेपाल पासपोर्ट डट जीओभी डट एनपी खोल्नासाथै दायाँपट्टि हरियो रङमा अनलाइन पेमेन्ट लेखिएको छ । त्यहाँ अनलाइनबाटै कसरी शुल्क तिर्ने भन्ने जानकारीसहितको विकल्प दिइएको छ ।
विभागले राजस्व व्यवस्थापन सूचना प्रणालीको अनलाइन सफ्टवेयरको सञ्जाल प्रयोग गरी विभागले अनलाइन पेमेन्ट सेवा सुरु गरेको हो । देशभरका राजस्व सङ्कलनका लागि प्रयोग हुँदै आएको यो सफ्टवेयर विभागको अनलाइन आवेदन सेवासँग जोडेर एकीकृत सेवा सुरु गरिएको खड्काले बताउनुभयो ।
अनलाइन पेमेन्ट सेवा सुरु भएपछि विभागको कार्यभार कम हुँदै सहज भएको महानिर्देशक खड्काले बताउनुभयो । यसरी अनलाइन शुल्क तिर्दा आफ्नो खाता भएको बैङ्कको आईपीएस कनेक्टको स्वीकृति लिनु अनिवार्य हुने उहाँले जानकारी दिनुभयो । “यो ई सेवाजस्तो जहाँबाट पनि तिर्न पाउने सुविधा हैन तर बैङ्कको आईपीएस भएपछि जहाँबाट पनि पैसा तिर्न पाउने सुविधा हो”, उहाँले थप्नुभयो ।
सेवाग्राहीले भने थप १० रुपियाँ बेहोर्नुपर्ने भएको छ । अनलाइनबाटै लाग्ने शुल्क तिर्दा जुनसुकै बैङ्कमा खाता भए पनि त्यहाँको आईपीएस कनेक्ट लिन स्वीकृति लिनुपर्छ । त्यसका लागि जति शुल्क तिर्नुपर्ने हो त्यसमा थप १० रुपियाँ बैङ्कले लिने गर्छ ।
यसअघि सेवाग्राहीले अनलाइन फाराम भर्दा अन्य सेवाग्राहीलाई थप एक सय रुपियाँ तिर्दै आएका थिए । अनलाइन पेमेन्टको सुविधा आएपछि भने सेवाग्राहीले बाहिर अनलाइन सेवा लिँदा थप १० रुपियाँ तिर्नुपर्ने हुन्छ । योसँगै राहदानी विभागलाई सामान्य राहदानीबापत बुझाउनुपर्ने पाँच हजार र दु्रतमा १०, १२ र १५ हजार शुल्क बैङ्कमार्फत सीधै अनलाइन पेमेन्ट गर्न पाउने छन् । त्यो रकम सेवाग्राहीको खाताबाट बैङ्कले कटाउने गर्छ ।
आफैँ भरेको खण्डमा भने फारामको एक सय रुपियाँसमेत तिर्नुपर्ने छैन । धेरैले अनलाइन पेमेन्टको असुविधाका कारण पनि फाराम भर्ने बाहिरी सुविधा लिँदै आएका थिए ।
सबै काम घरबाटै हुने भएपछि इन्टरनेटको सुविधामा पहुँच भएका सर्वसाधारणमा खुसी छाएको छ । सामान्य राहदानी बनाउँदा एक हप्तामा राहदानी प्राप्त गर्न सकिन्छ । दु्रततर्फ भने १० हजार रुपियाँ तिरेमा फाराम भरेको तेस्रो दिनमा, १२ हजार रुपियाँ तिरेमा दोस्रो दिनमा र १५ हजार रुपियाँ तिरेमा सोही दिन राहदानी प्राप्त गर्न सकिन्छ ।
अनलाइन पेमेन्टको सेवाले टाढाका जिल्लालाई समेत सहज भएको छ । अनलाइन पेमेन्ट नहुँदा जिल्ला प्रशासन कार्यालयमा र बैङ्कको लामो प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त भएका छन् । अनलाइन प्रणालीको सेवामा कुनै गल्ती भएमा वा सेवाग्राहीको आवेदनमा गल्ती भएको खण्डमा समेत अनलाइन वा एसएमएसमार्फत त्यो सच्याउने व्यवस्था गरिएको खड्काले बत(ाउनुभयो ।
खड्काले भन्नुभयो, “सेवा सहज गराउने प्रयास गरिएको हो । एकीकृत सेवाले विभाग र सेवाग्राही दुवैले लाभ लिने छन् ।”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?