logo
२०८१ जेष्ठ ५ शनिवार



प्रशोधन गरे पानीमा आत्मनिर्भर

खुला |


प्रशोधन गरे पानीमा आत्मनिर्भर


शिवा तामाङ

काठमाडौँ,  चैत १० गते । डल्लु आवास क्षेत्र निवासी नरेन्द्र डङ्गोलले फोहोर पानी प्रशोधन र आकाशेपानी सङ्कलन प्रविधि अपनाएर पानीका लागि आफैँ आत्मनिर्भर बन्नुभएको १० वर्ष भइसकेको छ ।
‘‘पानीको लाइन त लिएको छु तर धारामा पानी आउँदैन । यस क्षेत्रमा बस्नेहरू सबैले ट्याङ्करकै पानी किनेर चलाउने हो तर मेरो परिवार र मेरो घरमा खोलेको मन्टेस्वरी स्कुलमा समेत आकाशे पानी र घरमा प्रयोग भएको पानीलाई प्रशोधन गरेर र इनारमा जम्मा पारिएको पानीबाट आत्मनिर्भर छु,’’ उहाँले भन्नुभयो ।
सहरबासीले पानीको चरम समस्या भोगिरहँदा उहाँ भने पानीका लागि आत्मनिर्भर हुने उपाय अपनाएर ढुक्क हुुनुहुन्छ । उहाँको नेतृत्वमा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, धुलिखेल अस्पताल, नमो बुद्ध रिसोर्ट, विशुद्धि मथुरा पाटी फूलबारी योगालय, पोखराको पार्क भिलेज वाटर फल्स होटलमा पनि फोहोर पानी प्रशोधन गरी पानीको समस्या कम गर्न योगदान दिनुभएको छ ।
फोहोर पानी के गर्ने ?
हाम्रो घरेलु क्रियाकलाप जस्तै भाँडा माझ्ने, लुगा धुने, नुहाउने आदि काम गर्न प्रयोग भएका पानीलाई फोहोर पानीका रूपमा बुझिन्छ । त्यसलाई पुनः प्रशोधन गरी प्रयोग गर्न सकिन्छ । अस्पतालको फोहोर पानीलाई प्रशोधन गरी किटाणुमुक्त पारेर सिँचाइका लागि प्रयोग गर्न सकिन्छ ।

प्रशोधन गर्ने ट्याङ्की
करिब चार जनाको परिवारका लागि पाँच वर्ग मि (५० फिट) जग्गाको आवश्यकता पर्छ । त्यसमा निर्माण गरिएको एनारोबेल बफ्ले रियाक्टर (एबीआर) र रिड बेड (होरिजेन्टल अर भर्टिकल) ट्याङ्कीमा प्राविधिकको सल्लाहअनुसार खोलाको बालुवा, गिट्टी, इँटा, सिमेन्टको प्रयोग गरिन्छ । ‘‘त्यसमा फोहोरलाई खाने एक प्रकारको जीवाणु जन्मने गरी ट्याङ्कीको निर्माण गरिन्छ । फोहोर पानी सङ्कलन गरिने ट्याङ्कीमा सोही जीवाणुले पानीलाई सफा बनाउने हो,’’ निभा रेनका निर्देशक नरेन्द्र डङ्गोलले बताउनुभयो । ट्याङ्कीको साइजको आधारमा लगानी हुन्छ । सामान्य चार जनाको परिवारका लागि ६० हजार रुपियाँ लाग्छ । झण्डै २५, ३० वर्षलाई टिक्छ र समय तथा आवश्यकता अनुसार
मर्मतसम्भार गर्नुपर्छ ।

पानी प्रशोधनको एक रूप
सार्वजनिक वा निजी शौचालय बायोग्याँस प्लान्ट जडान गर्नुलाई फोहोर पानी प्रशोधनकै रूपमा लिइन्छ । बायोग्याँस प्लान्ट जडान गरेपछि शौचालयमा प्रयोग गरिएका पानी ढलमा पठाउनुपर्दैन र तरल पदार्थ वाष्पीकरण हुन्छ भने ठोस पदार्थ (दिसा) कम्पोस्ट मलका रूपमा परिणत हुने गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
ललितपुर नगरपालिकास्थित मङ्गलबजारको सार्वजनिक शौचालय, वीर अस्पतालको विपरीत दिसातर्फ रत्नपार्कको सार्वजनिक शौचालय बायोग्याँस प्लान्ट जडान गरिएको छ । हाल स्वयम्भू बुद्धपार्कमा निर्माणाधीन सार्वजनिक शौचालयमा बायोग्यास प्लान्ट जडानको काम भइरहेको डङ्गोलले बताउनुुभयो । पानी बचाउने सन्दर्भमा जनचेतना जगाउने उद्देश्यले मार्च २२ तारिखका दिन ‘विश्व पानी दिवस’ मनाइएको छ । यस वर्षको नारा ‘पानी र मौसम परिवर्तन’ तय गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?