logo
२०८१ मंसिर ९ आईतवार



किशोरी आमाको कथा

समाज |


किशोरी आमाको कथा


लक्ष्मी खतिवडा

अछामको बयलपाटा अस्पतालमा कुपोषण शाखाको ढोका अगाडि एक हुल महिला काखमा बच्चा च्यापेर उभिइरहेका थिए । सबै बच्चा दुब्ला र ख्याउटे । एउटा बच्चाकी आमा भने रुँदै थिइन् । अस्पतालमा ओहोरदोहोर गर्नेहरू उनलाई हेरिरहेका थिए । बच्चा र आमाको अवस्था उस्तै देखिन्थ्यो । आमा थिइन् १९ वर्षीया पार्वती आउजी । अछाम, साफेबगर–१०, धुङ्गुरकोटीसँग साना दुई बच्चा थिए । केटाकेटी उमेरमै आमा बन्दा उनले पाएको कष्ट अत्यासलाग्दो छ । बिहेपछि श्रीमान्ले सधैँ रक्सी पिएर कुटपिट गर्थेे । आर्थिक अभावले गर्दा गर्भवती अवस्थामा पनि ज्याला, मजदुरी गर्नुप¥यो । कुनै दिन पनि उनले पोषिलो खाना र आराम गर्ने समय पाइनन् । पोषणयुक्त खानाको अभावकै कारण दुवै बच्चा कुपोषित थिए । उच्च खालको कुपोषण भएकाले अस्पतालले थप उपचारका लागि बाहिर लैजाने सल्लाह दिएको छ तर उनीसँग त्यो सामथ्र्य छैन ।
कक्षा ७ पढ्दै गर्दा सडक विभागको काममा बाटो सफा गर्न आएका केटासँग उनको बिहे भयो । पार्वतीसँगै उभिएकी अमृता जयसवालको कथा पनि कम मार्मिक छैन । उनले भनिन्, “कमाएको सबै पैसा रक्सी पिएर सिद्धाउँछन् श्रीमान् । बच्चा बिरामी छ, वास्तै गर्दैनन् ।” २१ वर्षको कलिलो उमेरमै उनी तीनवटा बच्चाको आमा बनिन् । पर्याप्त पोषणयुक्त खानेकुराको अभावमा दुवै बच्चालाई गम्भीर कुपोषण देखिएको उनले बताइन् ।
अछामको बयलापाटा अस्पतालमा हामी गोरखापत्रकर्मीले पार्वतीजस्तै धेरै किशोरी आमासँग कुराकानी गर्ने मौका पायौँ । सानै उमेरमा आमा बनेका उनीहरूकोे स्वास्थ्य अवस्था सबैको उस्तै उस्तै थियो । पार्वती र अमृता जस्तै आमाहरू एकले अर्कालाई देखाउँदै सञ्चारकर्मीसमक्ष आफ्ना समस्या भन्न हतारिएका देखिन्थे । अस्पतालमा भेटिएका ती साना आमाहरूको
समस्याभन्दा अछाम, बाजुरा, बैतडी, डोटीलगायतका गाउँहरूमा देखिएको कलिला आमाहरू र उनीहरूका बालबालिकाको अवस्था झन् दयनीय थियो ।
अशिक्षा, गरिबी, अभाव, जनचेतनाको कमी, परिवारभित्रको कलह, मदिरा र छोराछोरीबीचको विभेद त्यहाँका गाउँहरूमा बालविवाहलाई प्रोत्साहन गर्ने मुख्य कारण थियो । यस्ता समस्याहरूले सानै उमेरमा हुने विवाह र विवाहपछिको किशोरीहरूको समग्र जीवन नै अन्योलमा परिरहेको देखिन्थ्यो । सुदूरपश्चिमका दुर्गम गाउँहरूमा घरको आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरूले मात्र बालविवाह गर्ने र विद्यालय शिक्षालाई निरन्तरता दिन सकेका थिएनन् । नयाँ नयाँ कुरा सिक्ने, रमाइलो अनुभव गर्ने विद्यार्थी जीवनकोे ऊर्जाशील समय पारिवारिक दुःख र अभाव झेल्दै बितिरहेको थियो । सानै उमेरमा उनीहरूले पाएको दःुखको अवस्था हामीले आँकलन गर्न नै सक्दैनौँ ।
बालविवाह नरोकिएसम्म त्यहाँका मानिसहरूको जीवनमा सुख र समृद्धिको अवस्था आउँदैन । केही वर्षअघि घरको आमाबाबाले भोग्दै आएको दुःखको त्यो समग्र जीवनचक्रमा फेरि साना
साना छोराछोरीहरू फसिरहेका छन् । विद्यालय शिक्षाको निरन्तरता बालविवाह रोक्ने महìवपूर्ण माध्यम हो तर विभिन्न कारण यहाँका बालबालिकाले विद्यालय शिक्षालाई नै निरन्तरता दिन सकेको देखिँदैन ।
बालविवाह गर्ने दक्षिण एसियाली देशहरूमध्ये बङ्गलादेश र भारत पछि नेपाल तेस्रो स्थानमा पर्दछ । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाइसकेको छ । पछिल्लो जनगणना अनुसार नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखिन्छ । त्यसमध्ये पनि एक लाख १५ हजार एक सय ५० बालिका छन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ ले नेपालमा २० वर्षदेखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्नुअघि नै हुने गरेको पनि उल्लेख गरेको छ । युनिसेफले प्रकाशित गरेको सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । यसैगरी १० प्रतिशत बालिका १५ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । नेपालको संविधानले बालविवाहलाई बाल अधिकार हननको विषयका रूपमा उल्लेख गरी दण्डनीय अपराधका रूपमा स्वीकार गरेको छ ।

यो लेख अछाम, बाजुरा र बैतडीका समाचारदाता शिवराज ढुंगाना, शेरबहादुर सार्की र गोकर्ण दयालको सहयोगमा स्थलगत अनुगमन गरी तयार पारिएको हो ।

 

मुना चैत २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?