logo
२०८१ श्रावण ११ शुक्रवार



जनावरलाई कोरोनाबाट जोगाउन सतर्कता

खुला |


जनावरलाई कोरोनाबाट जोगाउन सतर्कता


चाँदनी हमाल

काठमाडौँ, वैशाख ७ गते । संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित एक पोथी बाघमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएपछि कोरोना मानिसमा मात्र नभई जनावरमा सरेको पुष्टि भएको छ । चार वर्षे मलायन पोथी बाघमा कोरोनाको सङ्क्रमण भेटिएको थियो ।
चीनको वुहानबाट देखिएको कोरोना भाइरस चमेरो, समुद्री माछा वा सालकबाट मानिसमा सरेको अनुमान छ । यसरी जनावर हुँदै मानिस र फेरि जनावरमा सङ्क्रमण हुँदा भाइरसको स्वरूप र क्षमतामा कस्तो परिवर्तन हुनसक्छ भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।
मानिसबाट बाघमा सरेको कोरोना सङ्क्रमणको तत्कालीन असर र भविष्यमा त्यसको प्रभाव कस्तो रहन्छ अध्ययन भइरहेको छ । यसरी जनावरमा सरेको खबरले नेपालका वन्यजन्तु संरक्षणकर्मीमा चिन्ता छाएको छ ।
यो खबरसँगै नेपालको एक मात्र सदर चिडियाखाना जाउलाखेलमा रहेका पशुपन्छीको हेरचाहमा थप सतर्कता अपनाउन थालिएको छ । “अमेरिकाको बाघमा मानिसबाट सरेको भनिएकाले हामीले थप सावधानी अपनाउनुपर्ने भएको छ,” चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले भन्नुभयो ।
उहाँका अनुसार त्यसरी जनावरमा सर्दा फेरि अन्य जनावरमा सर्छ कि सर्दैन भन्ने बारेमा अन्यौल छ । चिडियाखाना यही चैत ७ गतेदेखि सार्वजनिक अवलोकनका लागि बन्द छ ।
भेटेरिनरी चिकित्सक लगायत अन्य कर्मचारी आलोपालो हेरचाहमा खटिरहेको जानकारी पोखरेलले दिनुभयो । त्यहाँका पशुपन्छीमा भाइरसजन्य कुनै पनि खालको लक्षण देखिएको छैन । “हामी पनि हुल बाँधेर गएका छैनौँ, पालैसँग अवस्था बुझेर फर्कन्छौँ,” पोखरेलले भन्नुभयो । चिडियाखानाका सबै पशुपन्छी सुरक्षित रहेको उहाँले बताउनुभयो । जाउलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजारभन्दा बढी सङ्ख्याका पशुपन्छी छन् ।
नेपालको संरक्षित वनभित्र रहेका वन्यजन्तु कोरोना सङ्क्रमणबाट सुरक्षित रहेको वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठले बताउनुभयो । “अमेरिकामा देखिएको सङ्क्रमण चिडियाखानाको हो, घरपालुवा बिरालोमा पनि देखिएको छ,” उहाँले भन्नुभयो ।
कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पुष्टि भइनसकेकाले डराउनु नपर्ने उहाँले बताउनुभयो । तर पनि वन्यजन्तुको सुरक्षाका लागि केही सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको संरक्षण क्षेत्रका वन्यजन्तुसँग मानवको सोझै सम्पर्क नभएकाले कोरोनाको सङ्क्रमण नपुग्ने उहाँको दाबी छ ।
“कोरोना भाइरस नयाँ होइन तर समय क्रममा यसले आफ्नो जिनेटिक स्वरूप परिवर्तन गरेर आफ्नो क्षमता बढाएको पक्कै हो,” चिकित्सक श्रेष्ठले थप्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?