logo
२०८१ श्रावण १२ शनिवार



सडक मजदुरलाई खाना

खुला |


सडक मजदुरलाई खाना


चाँदनी हमाल

काठमाडौँ, भदौ १४ गते । निषेधाज्ञाका कारण सुनसान छ राजधानी तर राजधानीको मुुटुमा रहेको रत्नपार्कमा भने साँझपख निकै चहलपहल हुन्छ । सडक मजदुर र बेसहारा बालबालिका कुुनै दाताले ल्याएर बाँड्ने खानाको खोजीमा वरपर भाँैतारिँदा यहाँ यस्तो चहलपहल बढ्ने गरेको हो । कोरोना सङ्कटका कारण सबैतिरको बन्दाबन्दीले ज्यालादारी गरेर जीविका चलाउने मजदुरको बिचल्ली भएको छ ।
उनीहरूको सबैको भनाइ र स्वर एकै छ, “भात आउँछ कि भनेर बसेका हौँ ।” यहाँ जम्मा भएका हरेकको आँखा मुख्य सडकतिरै यही आशमा डुलिरहेका थिए । हुर्कँदै गरेकी छोरीसँगै रहनुभएकी सरस्वती केसीले काखको शिशु छोरा सुम्सुमाउँदै दाताले दिएको खानाले भोक मेटाउने प्रयास
गरिरहेको बताउनुभयो ।
स्वयम्भूबाट आमाले ट्याक्सीमा भात ल्याउनुुहुन्छ भन्ने सुनेर श्रीमान् वन काइँला पनि उहाँकै साथ लागेर आउनुभयो । श्रीमान्ले रिक्सा चलाएर परिवारको गुजारा चलाउनु हुन्थ्यो तर विगतको तीन महिने बन्दाबन्दी र पछिल्लो निषेधाज्ञापछि रिक्सा चलाउन पाइएन, चलाउन पाएको समयमा पनि यात्रु पाइएन उहाँले दुखेसो पोख्नुुभयो । ‘आमाको भात’ नामक संस्था लगायतका दाताले यसरी बिचल्लीमा परेका परिवारलाई खाना खुवाउने गरेको त्यसकै आशामा आफूहरू साँझ भेला हुने गरेको उहाँले सुनाउनुुभयो ।
श्रीमान्लाई सघाउँदै कहिलेकाहीँ प्लास्टिक, बोतल बटुल्ने सरस्वतीले पनि कोरोना भाइरसका कारण त्यो काम पनि गुमाउनुभयो । दुई महिनाको कोठा भाडा तिरेको छैन । हरेक दिन घरबेटीले भाडा तिर्न दबाब दिन्छन् । नतिरे कोठामा ताल्चा लगाइदिन्छु भनेको उहाँले सुनाउनुभयो । भात खानकै लागि यसरी बाहिर हिँड्दा फर्केर नआउनुु, तिमीहरूले टोलमा कोरोना भाइरस ल्याउँछौ भनेर बारम्बार करकर गर्ने गरेको सुन्दा उहाँलाई निकै नमिठो लाग्छ ।
उहाँजस्तै सरिता नेपालीका साना छोराछोरी पनि आमा भात कहिले आउँछ भनेर सोधिरहेका थिए । “अब आउँछ, आमाले ल्याउनुहुन्छ, एकछिन पर्ख,” उहाँ छोराछोरीलाई चुप गराउन कोसिस गर्दै हुुनुुहुुन्थ्यो ।
काभ्रेबाट ज्याला मजदुरी गर्न काठमाडौँ झरेयता भूकम्पपछि अहिले विपत् भोग्नुपरेको उहाँले सुनाउनुुभयो । सिन्धुपाल्चोक नौबिसेका लामाकान्छा स्याङ्तानले यही काठमाडौँमा भारी बोकेर गुजारा गर्नुभएको दशक बित्यो तर कोरोना महामारीजस्तो अरू विपद्ले नअत्याएको उहाँ उल्लेख गर्नुहुन्छ । “आज भात पाइएन, चिउरा तरकारी पाइयो,” उहाँले भन्नुभयो ।
उहाँले काम नपाएपछि यसरी नै जसले खान दिन्छ उसैको बाटो कुरेर बस्नुपरेको दुखेसो पोख्नुभयो । साँझपख यसरी खाना कुर्ने झण्डै साढे पाँच सय जनाको भीड रत्नपार्कमा जम्मा भएको थियो ।
काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीका जवानहरू उनीहरूलाई मास्क लगाउँदै दूरी कायम गरेर बस्न सघाउँदै थिए । यसरी भीड गर्न नपाइने नियम र कानुन यतिबेला हरेक नागरिकलाई कडाइका साथ लागू गरिन्छ तर त्यसविपरीत पीडामा परेकालाई खान दिनकै लागि उनीहरूले सघाइरहेका थिए ।
‘आमाको भात’, हन्ड्रेड गु्रप, लायन्स क्लब डिस्ट्रिक ३२५, लगायत विभिन्न सङ्घ, संस्थाले पालैसँग यसरी सडक मजदुरलाई दिनको एक छाक खाना खुवाइरहेका छन् । लायन्स क्लबका इन्द्रबहादुर कार्कीले पाँचदेखि आठ सय जनाको हाराहारीलाई खाना खुवाउने गरेको जानकारी दिनुभयो । सकेसम्म दालभात, तरकारी नसके चिउरा तरकारी भए पनि एक छाक दिइने गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?