चाँदनी हमाल
काठमाडौँ, मङ्सिर २० गते । व्यास ऋषिले लेख्नुभएको अठार पुराणको सार भनेको परोपकार पुण्य होे र अरूलाई दुःख दिनु पाप हो भनिएको छ । विश्वका अन्य धर्मशास्त्रले पनि अरूको कुभलो नगरी सेवा गरे स्वर्गमा बास पाइन्छ भन्ने मान्यता राखेको पाइन्छ । समाजमा परिवारको घेराभन्दा बाहिर निस्केर समाजसेवामा सहभागी भएको देखिन्छ । यिनै स्वयंसेवकको कामको पहिचान दिलाउँदै शनिबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदैछ ।
यही मान्यता अनुसार २०६९ सालदेखि सडकमा बस्ने मानवको सेवामा होमिनुभएकी रूपा केसी अहिले पनि निरन्तर दिन दुःखीका घाउ पुछ्न व्यस्त हुनुुहुन्छ । कक्षा १२ को अध्ययन पनि राम्ररी नसक्दै उहाँ मानव सेवा आश्रममार्फत सडकमा अलपत्र परेकाको उद्धार र सेवामा जुट्नुभयो । मलमुत्र एकै ठाउँ भएर बसेका मनोरोगीको स्याहार, सडकमै जन्मेका बालबालिका, सुत्केरी स्याहार, छोराछोरीले छाडेका वृद्धको स्याहार अनि बाध्यताले सडकमा पु¥याएको पीडा मेट्नु हर कोहीका लागि सहज हुँदैन । “अहिले थाहा भयो व्यक्तिगत स्वार्थभन्दा माथिको जीवन र स्वयंसेवा,” उहाँले भन्नुभयो ।
स्वयंसेवी सुमन बर्तौलाले स्वयंसेवा गर्नु सहज नभएको बताउँदै बाबु आमा, परिवार सबै छाडेर दिनरात सेवा गर्दा व्यक्तिगत जीवनलाई नै तिलाञ्जलि दिनुपर्ने बताउनुभयो । सिर्जना ओली लगायतले आफ्नो भर्भराउँदो जीवनको ऊर्जाशील समय आश्रममा आइपुग्ने बेवारिसे मानिसको सेवाका लागि खर्चनुभएको छ ।
कोरोना भाइरसको महामारीको समयमा काम गुमेर सडकमा अलपत्र परेका श्रमिक मजदुरलाई खाना जुटाउने युवा अंशु यादव, कमजोर आर्थिक अवस्थाका बालबालिकाको अध्यापनसँगै अन्य सेवामा संलग्न अजय अधिकारी बेवारिसे शव जलाउने सपना रोका मगर जस्ता युवा पनि पछिल्लो समय स्वयंसेवामा
तल्लीन हुनुहुन्छ ।
समाजसेवी डा. गोविन्द टण्डनका अनुसार शाब्दिक रूपमा स्वयंसेवक अङ्ग्रेजी शब्द भोलेन्टियरको नेपाली अनुवाद हो । झट्ट शब्द हेर्दा स्वयंसेवा भन्नाले आफ्नै सेवा गर्ने जस्तो स्वयंसेवकको अर्थ भने अझ व्यापक छ । उहाँले कुनै पारिश्रमिक, तलब वा रकम नलिई सेवा गर्नु नै स्वयंसेवा भएको बताउनुभयो । नेपालका विगतमा परोपकारी संस्थाबाट स्वयंसेवकले काम थालेका थिए तर पछिल्लो समय विभिन्न गैरसरकारी संस्थाले स्वयंसेवकले अरूका लागि सेवा गर्दा पनि केही रकम लिनुपर्छ भन्ने मान्यता अघि सारेका छन् । “सही अर्थमा स्वयंसेवा भन्नाले निःस्वार्थ सेवा हो,” उहाँले भन्नुभयो ।
परहितको काम नै स्वयंसेवा हो । उसले कुनै निश्चित समयभित्र काम गर्ने भन्ने हुन्न । उहाँले दिनरात र र वर्षैभरि नै सेवामा तल्लीन रहनुपर्ने हुन सक्ने बताउनुभयो । उहाँका अनुसार स्वयंसेवकमा सदाचारको गुण सबैभन्दा महìवपूर्ण मानिन्छ । त्यसपछि विषयगत ज्ञान, त्यागको गर्न सक्ने हुनुपर्छ, अरूका लागि सोच्न सक्ने आत्मियता, क्षमता, शिक्षाप्राप्त र तत्काल कुनै पनि कुराको निर्णय गर्न सक्ने व्यक्ति नै स्वयंसेवक बन्ने लायक हुन्छ ।
नेपालमा वि.सं. १९२७ देखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्योभन्दा अघि विभिन्न गुठीको माध्यमबाट समाज सेवा चल्थ्यो । जसमा समुदायका मानिसले सामूहिक हितका लागि सेवा दिने काम गर्थे । त्यो बेलाको पारम्परिक चलन अनुसार हालसम्म पनि भूकम्प, बाढी–पहिरो र अन्य प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहन्छ । त्यस्ता विपत्तिमा उद्धार र सेवा गर्न जानेले आफूभन्दा पनि परहितको स्वयंसेवाको भावना
राखेर जाने गर्छन् ।
मलाई चोट लाग्यो भने दुख्छ, त्यसैले उसलाई पनि दुखेको होला भन्ने भाव नहुने हो भने उसले स्वयंसेवा गर्न सक्दैन । उहाँले भन्नुभए जस्तै विश्वमा हुने सङ्घर्ष र युद्धका बेला भएका स्वयंसेवाले विश्व शान्ति प्रवद्र्धन गरेका कयौँ उदाहरण छन् । फलोरेन्स नाइटिङ्गेलले युद्धमा घाइते भएकालाई एउटा नर्सको रूपमा मात्र सेवा गर्नुभएको थिएन । उहाँले एउटा मानवीय संवेदनाका साथ रातभर बत्ती बोकेर पीडामा परेकाको घाउमा मलम लगाउनुभएको थियो ।