logo
२०८१ मंसिर ८ शनिवार



सम्भव हुँदै सडक मानव व्यवस्थापन

खुला |
समाज |


सम्भव हुँदै सडक मानव व्यवस्थापन


चाँदनी हमाल

सोचलाई यथार्थमा बदल्न आम सरोकारसँगै सरकारको साथ र सहयोग पुग्यो भने जुनसुकै काम पनि सफल हुन्छ भन्ने एउटा उदाहरण पछिल्लो समय सडक मानव व्यवस्थापन कार्य बनेको छ । अहिले सडकमा अलपत्र, बिरामी परेका सहयोगापेक्षी मानवको संख्या बढ्दै गएको छ । साथै प्रहरीमा पर्ने मानव हराएको उजुरीमा समेत कमी आउन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य स्वयं सडक मानव व्यवस्थापनको संरक्षणमा सक्रिय हुनुले पनि सरकारी चासो सडकको चहराएको घाउसम्म पुगेको प्रष्ट पार्छ । तर यहाँसम्मको यात्रा सहज र सरल भने रहेन । सामाजिक अभियन्ता तथा चिन्तक डा. गोविन्द टण्डन झण्डै २५ वर्ष अघिको एउटा घटना स्मरण गर्नुहुन्छ । त्यो बेला राजा वीरेन्द्र वीरविक्रम शाहको राज थियो । पशुपतिको मन्दिर जाँदा आउँदा रानी ऐश्वर्यदेवी शाहको आँखा सडकमा बसेका महिला अनि साना बालबच्चामा पर्छन् । झुत्रोझाम्रो कपडा, दुर्गन्धित फोहोर शरीर, अनि माग्नका लागि सरकार... भनेर फैलाइएको हातहरू । त्यस्तै दृश्य उहाँले जिल्ला भ्रमणमा जाँदा त्यहाँका सडक र मन्दिरमा पनि देख्नुहुन्छ ।
अनि एकदिन एक धार्मिक कार्यक्रमका क्रममा टण्डनसँग सोध्नुहुन्छ, यसरी सडकमा मानिस किन बस्छन् ? कसरी उनीहरूलाई घरबारयुक्त बनाउन सकिन्छ ? त्यो दिन उहाँसँग दिने उचित जवाफ थिएनन् । तर म पहल गर्छु कसरी सडकमा आउने मानिसलाई घरमा राख्न सकिन्छ भनेर सोझो जवाफ दिनुभयो । पछि पशुपति क्षेत्रमै वृद्धाश्रम स्थापना गरेर व्यवस्थापनको पहल पनि भयो । तर सबैलाई त्यहाँ राख्न अनेक चुनौती आइपरे । स्रोत साधनको अभाव अनि विभिन्न झमेलाका कारण निश्चित बाहेकलाई सडकबाट उद्धार गर्नै सकिएन । अब के गर्ने भनेर सोच्दैगर्दा दरबार हत्याकाण्ड भयो । २०५८ साल जेठ १९ गते सोही घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका सबै सदस्यको निधन भयो । तर टण्डनलाई रानी ऐश्वर्यको तिखो प्रश्नले पछ्याउन भने छाडेन । कुरा राजतान्त्रिक कालखण्डको भए पनि मानवीयताको सवाल थियो । मानव भएर मानवले मानवसरह बाँच्न पाउनुपर्छ । अमानवीय तरिकाले सडकमा पशुतुल्य जीवन बिताउनु हुँदैन भन्ने तर्कनाले उहाँलाई सधैँ सताइरह्यो । त्यसको करिब नौ व र्षपछि २०६९सालमा मकवानपुरका केही य्ुवाहरूले सडक मानवका लागि सहयोग कार्यक्रम अघि सारेको उहाँले थाहा पाउनुभयो । एकदिने सहयोग कार्यक्रम अन्तर्गत सडक आश्रित मानवहरूलाई भोजन गराएर पिकनिक मनाइएको त्यो दिन नै पछि निरन्तर सहयोगापेक्षी सडक मानवलाई सडकबाट उठाएर खाना, नाना, छाना दिने अभियान सुरु भयो ।
स्थानीय युवा रामजी अधिकारीसहितका चारपाँचजना अन्य युवायुवती कसरी सडक मानवलाई आश्रय दिएर राख्न सकिन्छ भन्ने ध्याउन्नमा लागे । सोही समयमा टण्डनको भेट उहाँहरूसँग भयो । मनमा खिल झैँ गडेर बसेको त्यो आकांक्षा यही साझेदारीमा हुन्छ कि भन्ने अपेक्षा ताजा भएर टण्डनसामु आयो । त्यसैले आश्रमको संरक्षकत्व लिनुभयो । आवश्यक मार्गनिर्देश गर्दै युवाहरूलाई आत्मनिर्भर रूपमा अघि बढ्न सहयोगापेक्षी मानवका लागि मुठ्ठीदान उठाउन थालियो । देशैभरिका सडकमा उत्तिकै अलपत्र सहयोगापेक्षी सडक मानव रहेकाले एकै स्थानबाट सम्भव भएन । त्यसैले स्थानीय सहयोगी मन भएकालाई एकीकृत गर्दै सुरुमा आफैँ र सहयोगीले दिएका रकमले भाडामा घर लिएर आश्रमका अन्य शाखा खोल्ल्न थालियो । नेपालको संविधानले दिएको मानव अधिकारयुक्त सम्मानपूर्वक बाँच्न पाउने हक, सामाजिक न्यायको हक, महिलाको हक, ज्येष्ठ नागरिकको हक, बालबालिकाको हक सहितका अनेक मौलिकको संरक्षण गर्न सरकारले कानुन बनाउने अभियानसँगै कोही भोको रहन नपरुन भन्ने नारासहित नीति तथा कार्यक्रम ल्यायो । जसले आश्रमलाई सरकारसम्म पहुँच पुर्याउन सहज भयो ।
सरकारले पनि कसरी सबै नेपाली नागरिक सहित भोग, रोग र असुरक्षामा परेमा मानवको उद्धार र मानवरूपी जीवन दिन सकिन्छ भन्ने गृहकार्य गरिरहेको थियो । त्यही डोरी समाउँदै स्थानीय, प्रदेश र संघीय सरकारका कल्याणकारी कार्यक्रमसँग आश्रम जोडिन थालेको अनुभव अध्यक्ष रामजी अधिकारीको छ । स्थानीय, प्रदेश र संघीय सरकारले पनि हातमा हात मिलाएपछि यसैवर्षको पुस ७ गतेदेखि माघ १५ गतेसम्म देशव्यापी एकमहिने सडक मानव उद्धार अभियान सम्पन्न भयो । अरुबेला आश्रमका स्थानीय अभियन्ताले आफैँ सक्रिय रहेर उद्धार गथ्र्यो । तर यसपटक सरकारको हातेमालोसँगै सबै निकायको साथ आश्रमका अभियन्ताहरूले पाए । जसका कारण देशभरबाट ७५८ जनाको उद्धार सफल बन्यो । आश्रममा यसअघि रहेका र बीचमा पारिवारिक पुनर्मिलन भएका बाहेक २२ वटा आश्रमका शाखामा हाल एक हजार पाँचसय २५ जना भन्दा बढी आश्रममा आश्रय लिइरहेका छन् ।
प्रधानमन्त्री ओलीकै भनाइमा नेपालसहित विदेशमा पनि प्रवचनका लागि, उपदेश दिनका लागि उपस्थित भगवानका दूतहरू थुप्रै भेटिन्छन् । तर लट्टा परेको कपाल काटिदिएर नुहाइदिने, घाउमा मलम लगाइदिने, बन्धनबाट साङ्ला काटेर मुक्त गरिदिने, रोगबाट उपचार गरेर निको पारिदिने, खोरमा थुनिएको ठाउँबाट आश्रममा लगेर सम्मानपूर्ण र स्नेहयुक्त जीवन दिने त्यस्ता देवदूतहरू कमै भेटिन्छन् । तर सरकारलाई समेत साथ दिन सक्रिय रहेका आश्रमका अभियन्ताको सोचले देशलाई साँच्चै समृद्ध र सुखी बनाउन सकिने विश्वास बढेको छ । यस राष्ट्रिय आकांक्षा अनुसार कोही पनि नेपाली कुनै पनि हिसाबले दुःखी हुनुहुँदैन र दुःखका सबै कारण समाप्त पार्नुपर्ने हुन्छ ।
नेपाल मुलुक एउटा मानवतावादको सभ्यता, इतिहास र पुष्ठभूमि भएको मुलुक हो । त्यसैले पनि वसुधैव कुटुम्बकम् अर्थात् विश्व नै आफन्त ठानेर बिना भेदभाव सडकमा रहेका सहयोगापेक्षी मानवको रक्षामा नेपाल सरकार अग्रसर छ । दुईजना बंगलादेशी नागरिकलाई उद्धारसँगै उपचारपछि सरकारको तर्फबाट बंगलादेश सरकारमार्फत उनीहरूको पारिवारिक पुनर्मिलन गराउनु पनि एक महत्वपूर्ण उदाहरण हो । सडक मानवको उद्धार र भरणपोषणमात्र हैन अब हरेक मानवलाई अर्को मानवप्रति उत्तरदायी बनाउने र समाजलाई दुःखमुक्त समाज बनाउन जनजागरण अभियान आश्रम मार्फत नै सञ्चालन गर्न सरकारले तयारी गरेको छ । अर्को वर्ष २०७८ सालभित्र सिंगो नेपाललाई नै सहयोगापेक्षी सडकमानव रहित देश बनाउने अभियान जारी छ । जसका लागि विभिन्न जिल्ला, नगर र प्रदेश सडक मानवरहित क्षेत्र घोषणा गर्ने कार्य चलिरहेको छ । यसरी ‘एक थुकी सुकी, हजार थुकी समुद्र’ भन्ने कथन सडक मानव व्यवस्थापनले चरितार्थ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?