logo
२०८१ जेष्ठ २ बुधवार



चट्याङको पूर्वानुमान गर्नै कठिन

खुला |


चट्याङको पूर्वानुमान गर्नै कठिन



चाँदनी हमाल

काठमाडौँ, चैत ५ गते । सुर्खेतको लेकबँेसी नगरपालिका–२ र दैलेखको एक घरमा केही दिनअघि परेको चट्याङले घर, गोठ तथा पशु चौपाया जल्यो । त्यसको एक दिनअघि सुर्खेतकै सिम्तागाउँको गोठमा चट्याङ पर्दा ओत लागेका एक व्यक्ति घाइते भए । ताप्लेजुङ र सिन्धुलीमा चट्याङ पर्दा एक जना घाइते भए भने धनमाल जलेर नष्ट भयो ।
अहिले पूर्व–मनसुन सुरु भएसँगै मेघ गर्जन र चट्याङ पर्ने घटना बढ्दै गएको छ । अझै करिब एक साता बदलीकै अवस्था रहने हुँदा मेघ गर्जन र चट्याङ बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै छ । पूर्वमनसुनको प्रकृतिअनुसार मध्याह्नपछि बदलीसँगै वर्षा हुने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । कालो बादल देखिए पनि कडा खालको वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चट्याङबाट हुने क्षति धेरै
चट्याङकै कारण बर्सेनि जनधनको क्षति हुने गरेको छ । गत वर्षको वैशाख १ देखि चैत १ सम्म नेपालमा कुल २३२ वटा चट्याङका घटना भएका छन् जसमा ६७ जनाको मृत्यु र २८ जना घाइते भएका छन् ।
नेपालमा सबभन्दा बढी जनधनको क्षति गर्ने विपत्का घटनामा आगलागीको स्थान अगाडि छ भने दोस्रोमा चट्याङ पर्छ । चट्याङका कारण ६२ लाख २९ हजार पाँच सय रुपियाँ बराबरको धनमाल नष्ट भएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उच्च जोखिममा किसान
पूर्वमनसुनको समयमा विशेष गरी खेतबारीमा काम गर्ने किसान उच्च जोखिममा रहन्छन् । पूर्वमनसुनको समय पहाडमा वसन्ते मकै रोप्ने, विभिन्न भेगमा चैते धान रोप्ने, वर्षे तरकारीको नर्सरी बनाउने र रोप्नेसँगै गहुँ खेतीको समय हो । धमाधम बारी सम्याउने, फलफूलमा मलखाद हाल्ने र बिरुवा स्याहार्ने काममा किसान यति बेला खेतबारीमै व्यस्त हुन्छन् । किसानहरू खेतबारीमा रहेर काम गर्ने हुँदा चट्याङबाट जोगाउन मुस्किल रहेको कृषि मौसमविद् रामेश्वर रिमालले बताउनुभयो ।
पूर्वानुमान गर्न कठिन
चट्याङबाट हुने जनधनको क्षति कम गर्न जल तथा मौसम विज्ञान विभागले पूर्वानुमानको तयारी थाले पनि त्यो सम्भव हुन सकेको छैन । देशका विभिन्न स्थानमा पाँचवटा स्टेसनसहितको सञ्जालबाट तथ्याङ्क सङ्कलनको प्रयास भए पनि चट्याङ परेपछि हुने विद्युत् अवरोध, स्रोतसाधनको अभाव तथा मर्मतसम्भारको समस्याका कारण यस वर्ष पनि चट्याङ पूर्वानुमानको सम्भावना कम देखिएको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । तर पनि पूर्वानुमान सफल बनाउन प्रयास भने जारी छ ।
कृषि मौसमविद् रिमालले भन्नुभयो, “पूर्वानुमान हुन सकेको खण्डमा केही समयपछि चट्याङ पर्दै छ भनेर किसानलाई जानकारी दिन सकिन्थ्यो ।” पूर्वानुमान हुन नसकेको खण्डमा आकाशमा बदली देखिएपछि आफैँ जोगिएर घरमा वा सुरक्षित स्थानमा रहन किसानलाई उहाँले आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?